ला लिगाका अध्यक्ष खाबियर तेबासले स्पेनका शीर्ष लिगका बाँकी खेलहरु आउँदो जुन १२ देखि सुरु हुन सक्ने बताएका छन् ।
तेबासले मुभिस्टारसँग कुरा गर्दै ला लिगा १२ जुनबाट सुरु हुनेमा आफु आशावादी भएको बताएका हुन् । काेराेना भाइरस (कोभिड– १९) महामारीका कारण ला लिगा गत मार्च यता स्थगित छ ।
कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउन गरिएका परीक्षणपछि खेलको क्रममा खेलाडी संक्रमणको जोखिममा पर्ने सम्भावना शून्य प्रायः हुने भएकाले खेल सुरु हुने अपेक्षा रहेको उनले बताएका हुन् ।
‘म चाहन्छु जुन १२ बाट सुरु होस्, तर त्यसलाई विभिन्न पक्षले प्रभावित पार्न सक्ने छ. संक्रमण बढेमा त्यो मिती उचित हुन सक्दैन,’ तेबासले भने । उनले ला लिगा र दोस्रो डिभिजनको लिग एकै समयमा हुने समेत बताए ।
बार्सिलोनासहितका क्लबका खेलाडीले व्यक्तिगत प्रशिक्षण सुरु गरिसकेका छन् । आइतबारमात्रै स्पानिस ला लिगका ५ खेलाडीलाई कोरोनाको संक्रमण देखिएको ला लिगाले पुष्टि गरेको छ । तर खेलाडीको नाम सार्वजनिक गरिएको छैन र उनीहरुलाई आइसोलेशनमा राखिएको जनाइएको छ ।
उनीहरुको नियमित परीक्षण गरिने र रिपोर्ट नेगेटिभ आएपछि मात्रै प्रशिक्षणमा समावेश गर्न सक्ने जनाइएको छ ।
ला लिगा अध्यक्ष तेबासले खेलका क्रममा सबैभन्दा कम जोखिम हुनेसमेत बताएका छन् । उनले ला लिगाका २५ देखि ३० खेलाडी कोभिड–१९ पोजिटिभ भेटिन सक्ने बताएका छन् ।
ला लिगाको ११ चरणको खेल बाँकी रहँदा बार्सिलोना रियल मड्रिडलाई २ अंकले पछि पार्दै अंकतालिकाको शीर्ष स्थानमा छ ।