‘सपनामा आएर मदन भण्डारीले विद्यालाई भन्नुभो– सबै घटना अमर लामालाई थाहा छ’

‘सपनामा आएर मदन भण्डारीले विद्यालाई भन्नुभो– सबै घटना अमर लामालाई थाहा छ’

‘मदन खुरु–खुरु आउनुभो, हाम्रोबीच कुराकानी भयो  । उहाँ भन्नुहुँदो रे’छ– यो सबै घटना के हो भन्ने अमर लामालाई थाहा छ,’ पाँच वर्षअघि २०७२ जेठ २ गते वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना पति जननेता मदन भण्डारीलाई सपनामा देखेको एक प्रसंग पंक्तिकारलाई सुनाउनुभएको थियो। 

मलाई उक्त सपना सुनाउँदा उहाँ निकै भावविभोर हुनुभएको थियो। राष्ट्रपति विद्या भण्डारीले आजीवन बिर्सन सक्नुहुनेछैन त्यो सपना। 

उक्त सपना दासढुंगा दुर्घटनाको केही समयमात्र बितेको बेलाको हो। छोरीहरु उषाकिरण र निशाकुसुम दुबै स–साना थिए। नक्सालस्थित डेरामा एक दिन राति धर्मपत्नी विद्या भण्डारी (वर्तमान राष्ट्रपति) सुत्नुमात्र भएको थियो। उहाँ मस्त निदाउनुभएको पनि थिएन। यो झझल्को मात्र पनि होइन। पतिको देहावसानपछिको गजबै भोगाइ छ राष्ट्रपति भण्डारीको। 

सपनामा देखेका कुरालाई सत्य मान्ने आधार छैन। यसको कानूनी हैसियत पनि हुँदैन। उहाँले त्यसै दिन परिवारका सदस्यलाई आफूले देखेको सपना सुनाउनुभयो, सकियो। तत्कालीन एमाले उपाध्यक्ष विद्या भण्डारीले संसदीय दलको कार्यालयमा पंक्तिकारसँग उक्त सपना २१ वर्षपछि पनि बाँड्नुभएको थियो। त्यसको पनि पाँच वर्ष बितिसकेको छ। 

२०५० साल जेठ ३ गते तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको गाडीका ड्राइभर हुन्– अमर लामा। जीप त्रिशुलीमा खस्दा दुवै नेता बेपत्ता भएका थिए तर सकुशल थिए– लामा।

रहस्यमय दुर्घटनाका अन्तिम जानकार लामाको दुर्घटनापछि विद्यासँग कहिल्यै भेट पनि भएन। ११ साउन २०६० मा अमरको पनि हत्या भयो। उनलाई माओवादीले हत्या गरेको बताइँदै आएको छ। अमरको हत्याले दासढुंगा दुर्घटना अब सदाका लागि रहस्यकै गर्भमा रहने भएको छ। 

पंक्तिकारसँगको साक्षात्कारमा वर्तमान राष्ट्रपति भण्डारीले यो भन्नुभएको थियो, ‘ड्राइभरको हत्या रहस्य खुल्ने डरले भएको हो भन्ने लाग्छ। तथ्यहरू र घटना क्रमले रहस्यमय दुर्घटना सुनियोजित षड्यन्त्र थियो भन्ने देखाउँछ।’ 

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश त्रिलोकप्रताप राणाको अध्यक्षतामा बनेको आयोगले आफूसँग एक–दुई पटक भेट गरेर कुराकानी गरेको राष्ट्रपति भण्डारीलाई सम्झना छ। ‘त्यत्रो ठूलो नेताको सुरक्षामा जे सावधानी अपनाउनुपथ्र्यो, त्यो हुन नसकेको आयोगको सुझावमा उल्लेख थियो’, भण्डारीले उक्त भेटमा भन्नुभएको थियो।

एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधनको २७ वर्ष पुग्दा रहस्यमय घटनाको यथार्थ खुल्ने संभावना क्षीण भएको छ। लगभग अन्त्य नै भएको भन्दा पनि हुन्छ। 

भण्डारीका त्यसबेलाका स–साना छोरीहरू हुर्केका छन्। जेठी छोरी उषाकिरणले भारतको जवहारलाल नेहरू विश्व विद्यालयबाट स्नातकोत्तर गरेकी छन्। कान्छी निशाकुशुम पनि पनि डाक्टर भएकी छन्। दुवैको विवाह पनि भइसकेको छ। यो परिवारलाई अहिले भौतिक दुःख र असन्तोष त देखिँदैन। अभाव खड्केको छ– केबल मदनको। 

पत्नी विद्या पनि सांसद्, मन्त्री, एमाले उपाध्यक्ष हुँदै राष्ट्रपति हुनुभएको छ। तर, वियोगको पीडाले परिवारलाई पछ्याउन छाडेको छैन। ‘जेठ आएपछि मात्र मिडियाले उहाँसँगको कुरा सोध्दा छोरीहरू दुःखित् हुन्छन्, बोल्न पनि रुचाउँदैनन्’, विद्याले भन्नुभएको थियो। 

पिताको निधन हुँदा दुवै छोरी अबोध थिए। जेठी छोरी उषा आमाको आँखाबाट आँशु खस्दा सँगै रुन जान्ने भएकी थिइन्। कान्छी निशालाई त त्यो पनि थाहा थिएन। पिताका आँखाका नानी दुवै छोरी पछिसम्म पिता कहिले आउनुहुन्छ भनेर आमालाई सोध्ने अवस्थामा थिए। 

राष्ट्रपति विद्या भण्डारीको पति मदनसँग अन्तिम भेट ०५० साल जेठ २ गते भएको थियो। उहाँको ‘गृहिणी जीवन’ को त्यो अन्तिम दिन थियो। 

विद्यार्थी कालमा अनेरास्ववियू हुँदै पार्टीकी पूर्णकालीन कार्यकर्ता विद्या ०४६ सालपछि घरगृहस्थी र छोरी हुर्काउन गृहणीको भूमिकामा फर्कनुभएको थियो। ०५० साल जेठ ३ मा चट्याङ परेजस्तै गरी उहाँको जीवनमा भएको बज्रपातले विद्यालाई फेरि अनपेक्षित रुपमा राजनीतिमा मात्र फर्काएन, दुई दशकलामो जोखिमपूर्ण राजनीतिक यात्राले सफलता शिखरमै पुर्‍याएको छ।

२७ वर्षअघि जेठ २ गते बिहान पति मदनलाई नक्सालस्थित डेराबाट पोखराका लागि अन्तिम पटक बिदा गर्नुभएको थियो– विद्या भण्डारीले। उहाँले पंक्तिकारसँग उक्त बिहानको व्यस्तता यसरी सम्झनुभएको थियो, ‘उहाँको पोखरा जाने कार्यक्रम थियो। बिहानको खाना पकाएर खुवाएँ। लत्ता–कपडा र ब्याग तयार पारी बिदा गरेकी थिएँ।’ 

२१ वर्षपछिको जेठ २ मा भेट्दा विद्या त्योभन्दा व्यस्त हुनुहुन्थ्यो। संसदीय दलको कार्यालयमा कुराकानी गरिरहँदा पनि बाहिरपट्टिको कोठामा सुरु हुने बैठकको हतारोले उनलाई पेलेको थियो। राष्ट्रपति हुनुभएपछि त झन् भेट्नु नै दूर्लभ भएको छ। 

मदन भण्डारीलाई विद्या (ाण्डे) ले पहिलोचोटी ०३७ सालतिर गृहजिल्ला भोजपुरमा भेट्नुभएको थियो। त्यसबेला उहाँ जिल्ला सदरमुकाममा आईए पढ्नुहुन्थ्यो। नेकपा (माले) को गठन भइसकेको थियो। 

मदनसँग विद्याको विवाहको प्रस्ताव चाहिँ त्यसबेला नेकपा मालेका संगठक अशोक राई (हाल संघीय समाजवादी पार्टीका अध्यक्ष) ले विवाहको प्रस्ताव राखिदिनुभएको थियो। मदनसँग पहिलो भेट भएको करिब दुई वर्षपछि बिराटनगरमा ०३९ साउन २४ गते पार्टीकै पहलमा उहाँहरुबीच विवाह भएको थियो। 

मदन उपाध्याय ब्राम्हण परिवारका हुनुहुन्थ्यो। धार्मिक शाकाहारी परिवार थियो उहाँको। श्रीवैष्णव धर्मावलम्बी ठूल्दाजु मनोजकुमार ठूलै महात्मा (स्वामिजी) हुनुहुन्थ्यो। मातापिता पनि श्रीवैष्णव धर्म मान्नुहुन्थ्यो। 

तर, विद्या क्षेत्री परिवारकी छोरी। मदन भण्डारी पनि पहिले शाकाहारी भएको विद्याले बताउनुभएको थियो। बिहेपछि विद्या पनि मोरङ इटहरास्थित घर जानुभएको थियो तर विजातीय भए पनि घरमा पनि कुनै समस्या परेको थिएन  । 

पाँच दाजुभाइ र पाँच दिदी–बहिनीमध्ये मदन माइला छोरा हुनुहुन्थ्यो। मदन र काइँली बहिनी बितेपछि अब आठ जना जीवित छन्। 

जेठा दाजु मनोज महात्मा भएर देवघाट बस्नुहुन्छ। साइँला भाइ मोहन उर्लाबारीमा र काइँला प्रेम शिक्षण पेशामा छन्। कान्छा भाइ कैलाशकुमार चाहिँ डाक्टर छन्। विद्या राष्ट्रपति हुनुअघि कान्छी छोरी निशासहित कान्छा देवरको मध्य बानेश्वरस्थित निवासमै बस्नुहुन्थ्यो।  

मदनको निधनपछि रिक्त काठमाडौं–१ बाट ०५० साल माघ २५ गते भएको उपचुनावमा उम्मेद्वार भएपछि पुनः राजनीतिमा सक्रिय हुनुभएको थियो– राष्ट्रपति विद्यादेवी भण्डारी। ०४८ सालको चुनावमा पति मदन भण्डारीले पराजित गरेका तत्कालीन कांग्रेस सभापति शन्तनेता कृष्णप्रसाद भट्टराईलाई पुनः विद्यासँग पराजित हुनुभएको थियो। 

पार्टीले ‘शोकलाई शक्तिमा बदलौं’ भन्ने नारा दिएर आफूलाई राजनीतिमा उतारेकाले अघि बढ्न सफल भएको बताउँदै तत्कालीन एमाले उपाध्यक्ष विद्या भण्डारीले भन्नुभएको थियो, ‘उहाँ (मदन भण्डारी) को अभावमा उहाँजस्तै योगदान गर्न नसके पनि केही गर्छु भन्ने लागेर चुनाव लड्न स्वीकारेँ। पहिले पार्टीमा काम गरेकाले आफ्नो इच्छाशक्ति पनि थियो। जनता र कार्यकर्ताको समर्थन र साहनुभूतिले गर्दा म सफल हुँदै आएको छु।’

अहिले मदन जीवित भएको भए के हुन्थ्यो होला भन्ने काल्पनिक प्रश्नमा उहाँले पाँच वर्षअघिको भेटमा राष्ट्रपति भण्डारीले भन्नुभएको थियो, ‘एमाले फुट्दैनथ्यो होला। माओवादी आन्दोलन झाँगिदैनथ्यो, १६–१७ हजार मान्छे मारिँदैनथे होला। मधेशी–पहाडी असहिष्णुता बढ्न पाउँदैनथ्यो होला।’ 

२७औ स्मृति दिवशमा जननेता मदन भण्डारी र जीवराज आश्रितप्रति हार्दिक श्रद्धञ्जलि ! 

प्रकाशित मिति: May 16, 2020 10:01:19

प्रतिक्रिया दिनुहोस