शनिबार १८९ जना नयाँ संक्रमित थपिए, १३ जना डिस्चार्ज

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा हालसम्मकै बढी कोरोना संक्रमित देखिएका छन्। शनिबार दिउँसोसम्म नेपालमा १८९ थप व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिएका हुन्। संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन्। 

कपिलवस्तुका ७७, धनुषका ७, झापा १, ललितपुकार १ जना, महोत्तरीका ४ जना र रौतहट ६ जनामा कोरोना पोजेटिभ देखिएको छ। यस्तै सर्लाहीका १७, सिरहाका ११ जना जनामा पनि पोजटिभ देखिएको छ। रुपन्देहीमा भएको परीक्षणमा ३६ जनाको पोेजेटिभ देखिएको छ। जसमा कपिलवस्तुका मात्रै २९ जना रहेका छन्।

विपि कोइराला राष्ट्रिय स्वास्थ्य जिज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङमा १३ र कपिलवस्तुका ३ जनामा पोजेटिभ देखिएको छ।

वीरगञ्जमा भएको परीक्षणमा बाराका १ र पर्साका २ जना जनामा पोजेटिभ देखिएको छ। यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १४ जनामा पोजेटिभ देखिएको छ।

विराटनगराको कोसी अस्पतालमा भएको परीक्षणमा संखुवासभाका २ जनाको पोजेटिभ देखिएको छ।

यसैगरी प्रदेश नम्बर १ मा १ सय ३०, प्रदेश नम्बर २ मा ४ सय ४२, बागमती प्रदेशमा १५ र गण्डकी प्रदेशमा १७ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन्।

यस्तै प्रदेश नम्बर ५ मा ४ सय ९६, कर्णाली प्रदेशमा ६१ र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी १ हजार १ सय ७६ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको प्रवक्त डा. देवकोटाले बताए। 

शनिबार एकै दिन हालसम्मकै सबैभन्दा बढी संक्रमण पुष्टि भएको हो। शुक्रवार एकै दिन १७० जनामा नयाँ संक्रमण पुष्टि भएको थियो।

बिहीवार १५६ जना र बुधवार ११४ जनामा नयाँ संक्रमण पुष्टि भएको थियो। यससँगै कुल संक्रमितको संख्या १४ सय १ पुगेको छ।

संखुवासभामा पहिलो पटक कोरोना संक्रमित फेला

संखुवासभामा पहिलो पटक कोरोना संक्रमित फेला परेका छन्। भारतबाट आएका खाँदबारी ७ का २३ वर्षीय र पाँचखपन–१ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय संखुवासभाका प्रवत्ता रोषण श्रेष्ठले जानकारी दिए।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा दुवैमा कोरोना देखिएको उनले बताए। 

खाँदबारी ९ तुम्लिङटारका क्वारेन्टाइनमा राखिएका ७ जना मध्ये दुई जना पुरुषमा कोरोना पुष्टि भएपछि एम्बुलेन्समार्फत आइसोलेसनमा लाने तयारी गरिएको छ। 

सुनौली नाकाबाट उद्धार गरेर ल्याइएको ७ जनाको स्वाब परिक्षणका लागि बुधबार धरान पठाइएको थियो। उनीहरुलाई १३ गते संखुवासभा ल्याइएको थियो। 

 १३ जना डिस्चार्ज 

नेपालमा शनिबार एकैपटक १३ कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन्।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंको बुढानिलकण्ठ र टोखाका २ संक्रमित निको भएर घर फर्किएका छन्। उनीहरु टेकु अस्पतालको आइसोलेशनमा उपचाररत थिए। 

यस्तै बलम्बुस्थित कोभिड युनिफइाड अस्पतालबाट भक्तपुर र ललितपुरका एकएक तथा काठमाडौंका ९ जना डिस्चार्ज भएका हुन्। त्यस्तै काठमाडौंको चन्द्रागिरी नगरपालिका १० की सात वर्षीया बालिकासमेत डिस्चार्ज भएकी छिन्।

यता महानगरीय प्रहरी प्रभाग कालीमाटीका दुई प्रहरीमध्ये प्रहरी नायब निरीक्षक र प्रहरी जवान पनि डिस्चार्ज भएको अस्पतालका निर्देशक डीआईजी हरिचन्द्र अधिकारीले बिएल नेपाली सेवालाई जानकारी दिए।

अब सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा दुईजना संक्रमित उपचाररत छन्।

यससँगै कोरोना भाइरसबाट निको भएर घर फर्किने संख्या २१९ पुगेको छ।  

अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन्।

प्रकाशित मिति: : 2020-05-30 16:27:29

प्रतिकृया दिनुहोस्