राजा वीरेन्द्रले भारतीय दूतलाई भनेका थिए– देश बेचेर मलाई राजा भइरहनु छैन : नवराज सुवेदी

२९ वर्षको राजनीतिक करिअरमा मैले राजा महेन्द्र र वीरेन्द्र दुबैसँग काम गर्ने अवसर पाए। आज  १९ जेठ, राजा वीरेन्द्रको सपरिवार हत्या भएको दिन। म उहाँलाई सच्चा देशभक्त र राष्ट्रभक्त राजाको रूपमा स्मरण गर्छु। 

आज लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयलाई लिएर भारतले जुन किसिमको दाबी गरिरहेको छ र दुबै देशको सदियौंदेखिको सम्बन्धमा तिक्तता आएकाे छ, यो अवस्थामा म राजा वीरेन्द्रलाई झनै बढी स्मरण गरिरहेको छु। 

उहाँ जीवित भइदिएको भए नेपाल–भारत सम्बन्ध यो अवस्थामा आइपुग्ने थिएन। नेपालमा राजसंस्था मासेर दिल्लीमा १२ बुँदे गर्दै सत्तामा पुगेका अहिलेका राजनीतिक दल र नेताहरूको यो हविगत हुनु नै थियो। यो त 'ट्रेलर' मात्र हो, अझै थुप्रै खेल हेर्न बाँकी छ। 

राष्ट्रियताको कुरा गर्दा म २०४५ सालको एउटा घटना सम्झन्छु। नेपालमा प्रजातन्त्रका लागि आन्दोलन भइरहेको थियो। विदेशी– खासमा भारतको इशारामा राजसंस्थालाई बदनाम गर्ने र राजारानीलाई सडकबाट तथानाम गालीगलौज गर्ने काम भइरहेको थियो। 

यत्तिकैमा भारत सरकारका एक जना प्रतिनिधि बी सिंह नेपाल आएका थिए। उनी भारत सरकारको सन्देश सुनाउन नेपाल आएका रहेछन्। राजा वीरेन्द्रले उनको प्रस्ताव ठाडै अस्वीकार गरे। म त्यति बेला राष्ट्रिय पञ्चायतको अध्यक्ष थिए। त्यसैले राजासँग नियमित भेट गर्नुपर्थ्याे।  

राजा वीरेन्द्रको एउटा स्वभाव थियो- आफ्नf पिता राजा महेन्द्रभन्दा विल्कुल फरक। राजा महेन्द्र कुनै विषयमा निर्णय गर्दा आफूसँग नजिक रहेका ४–५ जना विशेष व्यक्तिसँग सल्लाह लिन्थे। सबैको कुरा मिहीन ढंगले बुझ्ने प्रयास गर्थे र अन्त्यमा निर्णय आफै गर्थे। 

तर, यस विषयमा वीरेन्द्र ठ्याक्क उल्टो थिए। उनी सबैलाई सल्लाहका लागि बोलाउँथे। सबैसँग उनीहरूको राय बुझ्थे। बैठकमा बहुमतबाट भएको निर्णयलाई लागू गराउँथे। यस मानेमा राजा वीरेन्द्रमा निकै प्रजातान्त्रिक चरित्र थियो। 

भारत सरकारका प्रतिनिधि बी सिंह त्यस दिन राजासँग ५–६ बुँदाको सम्झौता-पत्र बोकेर भेट्न गएका रहेछन्। त्यसमा गृह, परराष्ट्र र सुरक्षालगायत थुप्रै कुरा भारतलाई जिम्मा लगाउनुपर्ने, त्यसबापत भारतले राजसंस्था, पञ्चायती व्यवस्था टिकाइदिने भन्ने रहेछ। 

म राजालाई भेट्न बेलुका जाँदा उहाँबाट हुकुम भयो, ‘हेर, आज ५–६ बुँदा लिएर आएको थियो। मैले ‘नो’ भनिदिए। यो मानेको भए त म भुटानभन्दा पनि तलतिर हुन्थेँ। देशै बेचेर मलाई किन राजा चाहियो? किन पञ्चायत चाहियो? त्यसैले मैले मानिनँ।’ 

राजा वीरेन्द्र निकै विकासप्रेमी हुनुहुन्थ्याे। चौबीसै घण्टा मुलुकको विकास र गरीबको उत्थान कसरी गर्ने भन्ने सोच हुन्थ्यो। विकास क्षेत्रको अवधारणा ल्याएर होस् वा क्षेत्रीय भ्रमण गरेर, उहाँको ध्यान नै देश विकाश कसरी गर्ने भन्नेमा टिकेको हुन्थ्यो।

राजा वीरेन्द्रको कार्यकालमा दुईवटा प्रमुख राजनीतिक उथलपुथल भयो। पहिलो २०३६ र दोस्रो २०४६ साल। उहाँ प्रजातन्त्रप्रेमी हुनुहुन्थ्यो भन्ने कुराको द्याेतक यो पनि हो- २०३६ सालमा जनमत संग्रहको घोषणा गर्नुपर्ने अवस्था बनिसकेको थिएन। यद्यपि विधार्थी आन्दोलन भइरहेको थियो। तर, जनमतसंग्रह घोषणा गरिहाल्नुपर्ने नै अवस्था बनेको थिएन। तर, वीरेन्द्रले कसैसँग सल्लाह नगरीआफ्नो स्वविवेकले जनमतसंग्रहको घोषणा गरे। 

जनमतसंग्रह सम्पन्न भएपछि एक दिन म राजा वीरेन्द्रलाई भेट्न गएको थिए। राजा वीरेन्द्रले गजबको कुरा गरिबक्स्याे, ‘हेर नवराज, जनमतसंग्रह गर्ने निर्णयमा पुगेपछि मैले यसको जानकारी बडामहारानी (ऐश्वर्या) लाई पनि दिइनँ। मैले कोहीसँग पनि सल्लाह लिइनँ। मेरो आफ्नै निर्णय हो।’

राजा वीरेन्द्रको यो निर्णयका कारण दरबारमा कत्रो ठूलो ‘भुइँचालो’ गएको थियो। भाइहरू रिसाए। दरबारीया सबै रिसाए। 

२०४६ सालको आन्दोलन हुँदा आन्दोलनकारीलाई पनि विश्वास थिएन- यति सहज र छिटो राजा वीरेन्द्रले बहुदलीय व्यवस्था दिन्छन् भन्ने। आन्दोलनको सुरुमा राजा वीरेन्द्र पोखरामा थिए। काठमाडौं फर्किएलगत्तै सम्झौंता गरेको भए, बहुदलवादी नेताहरू बहुदलीय व्यवस्थामा जति कुरा दरबारले दियो, त्यो भन्दा पनि कममा मान्न तयार थिए। 

अहिले म विचार गर्छु- राजालाई नै बहुदल आओस् भन्ने थियो। उनले कुनै कुरामा नअल्झिकन् एक रातमै बहुदल घोषणा गरे। आफैँ बहुदल चाहने राजालाई संविधान बनाउने बेला राम्रोसँग बिफ्रिङ भएन। यसले गर्दा २०४७ सालको संविधान बनाउने बेला दरबारमा केही असन्तुष्टि देखियो। 

यो कुरा थाहा पाएपछि मैले नै सूर्यबहादुर थापा (पूर्वप्रधानमन्त्री) सँग कुरा गरेँ र राजा वीरेन्द्रसँग भेटघाट गर्ने चाजोपाचो मिलाएँ। सूर्यबहादुरजीले संविधानको दफाहरूको व्याख्या गरेपछि राजाबाट हुकुम भयो, ‘त्यसो भए भोलि विश्वनाथ उपाध्याय (२०४७ सालको संविधान सुझाव आयोगका अध्यक्ष) लाई भेट्न पठाइदेऊ।’

नभन्दै, भोलिपल्ट विश्वनाथजी पनि राजालाई बिफ्रिङ गर्न पुगे। यसपछि राजपरिषद् राख्ने निर्णय भएको थियो। दरबारको असन्तुष्टि के–के कुरामा थियो, त्यो सबै मलाई थाहा भएन। तर, ‘कम्युनिकेशन ग्याप’ चै ठूलो थियो। दरबारको असन्तुष्टिका कारण बहुदलवादी नेताहरू पनि आत्तिइसकेका थिए। तर, त्यो शान्तिपूर्ण ढंगले टर्‍यो। 

२०४६ सालपछि पनि बेलाबखत, दरबार हत्याकाण्डभन्दा २–३ वर्षअघि वीरेन्द्रले ‘कू’ गर्छन् भन्ने हल्ला चलेको थियो। ती सबै वाहियात गफ हुन्। हो, केही विदेशी नियोग तथा दरबारीयाहरूले ‘देश भद्रगोल भइसक्यो। राजाले शासनसत्ता हातमा लिनुपर्‍यो’ भनेर नउकासेका होइनन्। 

तर, राजा वीरेन्द्र बहुदलीय व्यवस्थामा यति आस्थावान हुनुहुन्थ्याे । एकपल्ट मसँग भन्नुभएको थियाे, ‘हेर, अब हामी बहुदलमा गइसक्यौं। म संवैधानिक राजा भइसकेँ। म संवैधानिक राजाको दायराभन्दा एक इञ्च पनि बाहिर जादिनँ।’

राजा वीरेन्द्रको अर्को सबैभन्दा ठूलो विशेषता अन्तर्राष्ट्रिय राजनीतिको ज्ञान हो। उनी मृदुभाषी त थिए नै, कसैलाई पनि एकछिन कुरा गरेपछि आफ्नो बृहत् ज्ञानले बशमा पार्ने क्षमता थियो। 

एकपल्ट एउटा रोचक घटना भएको छ। राजा वीरेन्द्र महिनौँदेखि सुर्खेतको भ्रमणमा हुनुहुन्थ्याे। म पनि सँगै थिएँ। २०४४ सालमा काठमाडौंमा जर्मनीको उपसभामुखको अध्यक्षतामा १०–११ जनाको एउटा दल नेपाल आउने भयाे।

मलाई काठमाडौंबाट राष्ट्रिय पञ्चायतका सचिव श्यामकृष्ण भट्टराईले फोन गरेर अवगत गराए। मैले भनेँ, ‘ठिकै छ। उहाँहरूलाई स्वागत गर्नुस् । काठमाडौं उपत्यकाको भ्रमण गराएर यता पठाइदिनुस्।’ उनले त्यसै गरे।

काठमाडौं, भक्तपुर र पाटनको भ्रमण गराएपछि तेस्रो दिन सुर्खेत जाने भने छन्। उनीहरूलाई अचम्म लागेछ– सुर्खेत? किन जाने? कहाँ हो? भन्न थालेछन्। श्यामकृष्णले प्लेनबाट जानुपर्छ र त्यहाँ राजासँग भेट छ भनेका मात्र के थिए, उनीहरूले ब्यारेकमा बस्ने राजा भेट्न किन जाने? भनेर उल्टै प्रश्न गरेछन्।

उनले यसकाे जानकारी मलाई गराए । मैले नै उनलाई फकाएर पठाउनू न भने। उनले पनि हिमाल देखिन्छ भन्दै फकाएर सुर्खेत पठाए। सुर्खेतमा मैले नै उनीहरूलाई एयरपोर्टबाट ‘पिकअप’ गरे। 

एयरपोर्टबाट राजा बस्ने क्याम्पको गेटमा पुर्‍याएकाे मात्र के थिए, उपसभामुखले सोधिहाल्यो– यही हो राजा बस्ने ब्यारेक? 

म हासेँ मात्र। टेन्टमा राजा थिए। उनीहरू १५ मिनेटका लागि राजालाई भेट्ने भनेर टेन्टमा छिरेका थिए। तर, अढाई घण्टा भइसक्यो, निस्किँदैनन् त ! भ्रमण दलमा भएका प्रत्येक व्यक्तिले राजा वीरेन्द्रसँग कुरा गरेछन्। 

उनीहरू टेन्टबाट निस्किएपछि उल्टै मलाई भन्न थाले–‘कहाँको ब्यारेक। हामीले त चिनेकै रहेनछाैं। यस्तो मान्छे, बाफरे बाफ ! यो त देशको विकासको निम्ति महिनौँ दिनसम्म टेन्टमा बसेको रहेछ। उनको आइडिया हेर्दा– उनलाई अन्तर्राष्ट्रिय मामिलामा होस् वा सार्क क्षेत्रको विषयमा, यति धेरै ज्ञान भएको मान्छे त हामीले भेटेकै थिएनौं।’

राजा वीरेन्द्रको विषयमा यो त एउटा उदाहरण मात्र हो। जो विदेशी भेट्न गयो, मख्ख परेर फर्किन्थ्यो। यस्तो राजालाई गुमाउँदा अहिले देशले ठूलाे घाटा व्यहाेरिरहेकाे छ। अस्वाभाविक निधन भएका उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु ! 

(सुवेदीसँग बिएल नेपाली सेवाका लागि नवीन अर्यालले लिएकाे अन्तर्वार्तामा आधारित )

प्रकाशित मिति: Jun 02, 2020 01:09:49

प्रतिक्रिया दिनुहोस