मलखाद र बीउबीजनको अभाव हटाउन पहल

रासस

नेपालगञ्ज

खेतीको मौसम शुरु हुनै लाग्दासमेत मलखाद तथा बीउविजनको सहज उपलव्धता नभएपछि संवाद समूह, बाँकेले सरोकार भएकासँग आवश्यक सहजीकरण शुरु गरेको छ। 

कोभिड—१९ को बढ्दो सङक्रमण र लगातारको बन्दाबन्दीका कारण उत्पन्न कृषि समस्या र उत्पादनमा पर्न सक्ने प्रभावलाई दृष्टिगत गरी सो समूहले बाँकेस्थित कृषिसँग सम्बद्ध निकाय र जिम्मेवार अधिकारीको ध्यानाकषर्णसहित उचित पहलकदमीको प्रक्रिया शुरु गरेको हो।
 
समूहको संयोजनमा आज भएकोे अन्तरक्रियात्मक संवादमा मलखाद, कृषि सामग्री र बीउबिजनको तत्काल व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त भएको छ।

 बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङको उपस्थितिमा सहकारीमा आबद्ध कृषक अगुवादेखि मलखाद बिक्रेता कम्पनीसम्मको सहभागितामा भएको कार्यक्रममा मलखादको मौज्दात सकिएकाले तत्काल व्यवस्थापन गर्न नसकिए धानखेतीलगायतको उत्पादन घट्ने अनुमान गरिएको छ।
 
कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रमेश पौडेलले मलखादमा दिइने सरकारी अनुदान कमीका कारण यसको अभाव हुँदै गएको बताए। उनका अनुसार आर्थिक वर्ष ०७६/७७ का लागि तीन हजार मेट्रिक टन युरिया र  एक हजार ६०० मेट्रिक टन डिएपी मल विक्री गर्नुपर्ने लक्ष्य अनुसार तीन हजार ५७७ मेट्रिक टन युरिया र  एक हजार ४८४ मेट्रिक टन डिएपी मल बिक्री भइसकेको छ।

प्रमुख पौडेलले अझै (वर्षाका लागि) दुई हजार ५०० मेट्रिक टन युरिया र ८०० मेट्रिक टन डिएपी मल आवश्यक रहेको बताए। लकडाउनका कारण १२ हजार ५०० मेट्रिक टन डिएपी मल कोलकातामा अलपत्र रहेकाले तत्कालका लागि युरिया मलकै आवश्यकता रहेको उनको भनाइ थियो।
 
कम्पनीको प्रदेश कार्यालय भैरहवाबाट दुई सय टन युरिया र डिएपी मल ल्याउने पहल भइरहेको उनले जानकारी दिए। उनका अनुसार बाँकेमा वार्षिक छ हजार मेट्रिक टन युरिया र तीन हजार डिएपी मल आवश्यक पर्छ।
  
संवादमा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले अब स्थानीय सरकारमार्फत नै कृषि समस्याको सम्बोधन गर्ने पद्धतिको विकास गर्नुपर्नेमा जोड दिए।

प्रजिअ कुरुवाङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख भरतराज खनियाँ र  संवाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईँले लकडाउनको बहानामा कृषकलाई दुःख दिनुहुँदैन भन्दै कृषि उत्पादनको सहज वातावरण बनाइनुपर्नेमा जोड दिएका थिए।
 
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी दीर्घंराज उपाध्याय, केएल दुगड ग्रुपका प्रबन्धक प्रदीपकुमार छाछेड, पानी संघ बाँकेका अध्यक्ष विनय श्रेष्ठ, नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष फणाधर भण्डारी, मासु व्यवसायी संघका अध्यक्ष दीपेन्द्रराज श्रेष्ठ, चेम्बर अफ कमर्शका अध्यक्ष सतिशकुमार अग्रवाल, रानीतलाउ तरकारी बजार समितिका अध्यक्ष मोतीसरा थापालगायतले मलखाद अभाव हटाउने विषयमा बोलेका थिए।  

प्रकाशित मिति: : 2020-06-05 20:54:14

प्रतिकृया दिनुहोस्