विश्वकप छनोट खेल अक्टोबर र नोभेम्बरमा गर्न एएफसीले गर्‍याे प्रस्ताव

बिएल संवाददाता

काठमाडाै‌ं

एसियाली फुटबल  फेडेरेसन (एएफसी)ले फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट अन्तर्गत बाँकी रहेका खेलको लागि नयाँ मिति प्रस्ताव गरेको छ।

यसअघि मार्च र जुनमा हुने तय भएका खेलहरु कोरोना भाइरस महामारीले गर्दा स्थगित भएपछि एएफसीले फिफासँग परामर्श गर्दै  नयाँ मिति प्रस्ताव गरेको हाे। यसै वर्ष नोभेम्बरसम्म विश्वकप र एसियन कपको संयुक्त छनोटको दोस्रो चरण सकाउने गरी यस्तो निर्णय गरिएको एएफसीले जनाएको छ।

एएफसीले अक्टोबर र नोभेम्बरमा छनोट खेलहरु गर्ने प्रस्ताव गरेको छ। जसअनुसार म्याचडे ७ र ८ को खेलहरु अक्टोबर ८ र १३ मा हुनेछन् भने म्याचडे ९ र १० का खेलहरु नोभेम्बर १२ र १७ मा हुनेछ।

छनोट अन्तर्गत समूह बी मा रहेको नेपालले घरेलु मैदानमा तीन खेल बाँकी छ। गत चैतमा अष्ट्रेलिया र चाइनिज ताईपेईविरुद्ध नेपालले घरेलु मैदानमा खेल्ने तय भएको खेल स्थगित भएको थियो। यी दुई राष्ट्रसँगै नेपालले जोर्डनसँग पनि घरेलु मैदानमा खेल्नेछ।

यसैगरी एसियन कपको अन्तिम चरणको छनोट र प्लेअफ खेलहरु २०२१ मार्चमा सकाउने तयारी छ।

प्रकाशित मिति: : 2020-06-05 22:27:48

प्रतिकृया दिनुहोस्