इंग्ल्याण्ड तथा म्यानचेस्टर सिटीका खेलाडी रहीम स्टर्लिङ्गले फुटबलमा कायम रहेको रंगभेदविरुद्ध लडाईँमा प्रगति हाँसिल गर्नका लागि धेरै अश्वेत प्रशिक्षकहरु चाहिने बताएका छन्।
अमेरिकाको मिनियापोलसमा गएको मे २५ मा निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको प्रहरी बरबरताका कारण निधन भएपछि अमेरिकासहित विश्वका विभिन्न देशमा रंगभेद विरोधी प्रदर्शन भइरहेको बेला उनको उक्त अभिव्यक्ति आएको हो। उनले यसका लागि अश्वेत खेलाडीहरु प्रशिक्षक बन्नु पर्ने बताएका छन्।
‘तपाईँहरुको आवाज सुन्ने बनाउनका लागि प्रदर्शन उत्कृष्ट सुरुवात विन्दु हो। समाजमा परिवर्तन खाँचो छ भन्ने सबैले बुझेर गर्नु पर्ने कामहरुलाई प्राथमिकतामा राख्न प्रदर्शनले सहयोग गर्छ। तर प्रदर्शन मात्रैले परिवर्तन भने आउँदैन,’उनले भनेका छन्।
२५ वर्षका स्टर्लिङ्गले त्यसका लागि सबै पक्षले धेरै काम गर्न बाँकी रहेको भन्दै उनले फुटबलमा रहेको विभेद अन्त्य गर्नका लागि अहिले खेलाडी रहेका अश्वेतहरु प्रशिक्षक बन्नु पर्नेमा जोड दिए।