बार्सिलोनाले बन्द रंगशालामा भएको खेलमा सुरक्षा घेरा तोडेर लियोनल मेसीसँग सेल्फी लिन खोज्नेविरुद्ध कानूनी कारवाहीका लागि प्रक्रिया थाल्ने बताएको छ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सावधानी स्वरुप बन्द रंगशालामा भएको खेलमा भएको यस्तो गतिविधि कुनै पनि हिसाबले स्वीकार्य नहुने बार्सिलोनाले उल्लेख गरेको छ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको मालोर्कासँगको खेलको क्रममा एक व्यक्ति सुरक्षा घेरा तोडेर मैदानमा छिरेका थिए।
मेसी नाम लेखिएको अर्जेन्टिनाको जर्सी लगाएका एक फ्यान दोस्रो हाफको सुरुमा मैदानमा पसेका हुन्। सो खेलमा बार्सिलोना ४–० ले विजयी भयो।
ती फ्यानले मेस्सी भन्दा केही मिटर पर रहेर तस्बिर लिन सफल भए। त्यसपछि उनलाई सुरक्षा गार्डले बाहिर निकाले।
ला लिगाले यसलाई अपाराधिक गतिविधिका रुपमा लिने जनाएको छ।
हाल लालिगामा बार्सिलोनाले शीर्षस्थानमा छ। बार्सिलोनाले २८ खेलबाट ६१ अंक जोडेको छ। उपाधि दाबेदार क्लब रियल मड्रिड उसलाई पछ्याइरहेकाे छ। मड्रिड २ अंकले पछि रहेको छ।