अखिल नेपाल फुटबल संघ (एन्फा)ले टासी घलेलाई पुन: मानार्थ अध्यक्षमा फिर्ता बोलाउने निर्णय गरेको छ।
मंगलवार बसेको आपतकालीन कार्यसमितिको बैठक संघको विधानको धारा २० बमोजिम बाँकी कार्यकालको अवधिका लागि मानार्थ अध्यक्ष पदमा टासी घलेलाई नियुक्त गर्ने निर्णय गरेको हो।
घलेको मानार्थ अध्यक्षको पद यसअघि २०७५ साल माघ ३ गते एन्फाले फिर्ता लिएको थियो। टेप प्रकरण चर्चामा आएसँगै एन्फाले घलेको मानार्थ अध्यक्षको पद फिर्ता लिएको थियो।
मंगलबार उनै घलेलाई एन्फाले मानार्थ अध्यक्षको पदमा फेरि फर्काएको हो।
त्यस्तै, मंगलबारको बैठकले कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ विषयमा छानबिनका लागि वीरबहादुर खड्काको संयोजकत्वमा समिति बनाएको छ।
यसअघि संयोजक रहेका रत्नकुमार श्रेष्ठले कोभिड–१९ को महामारी र व्यक्तिगत स्वास्थ्यका कारण राजीनामा दिएका कारण उनको राजीनामा स्वीकृत गर्नेसमेत निर्णय गरेको छ।