साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा लेगानेसविरुद्ध जित हासिल गरेको छ।
मंगलबार राती घरेलु मैदानमा भएको खेलमा २-० को जितसँगै बार्सिलोनाले लिग तालिकाको शीर्षस्थानमा ५ अंकको अग्रता लिएको छ।
खेलको ४१ औं मिनेटमा बार्सिलोनाले अन्सु फातीको गोलमा अग्रता लिएको थियो। जुनिअर फिर्पोको पासलाई पेनाल्टी क्षेत्रको ठिक भित्र रहेका फातीले पहिलो टचमा नियन्त्रण गर्दै दोस्रो टचमा उत्कृष्ट फिनिस गरेका थिए।
दोस्रो हाफको ६४ औं मिनेटमा एन्टोइन ग्रिजमनले नेल्सन सेमेडोको क्रसमा गोल गरेपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै गोललाई मान्यता दिएनन्।
त्यसको ४ मिनेटपछि नै बार्सिलोनाले अग्रता दोब्बर पार्यो। लेगानेसका डिफेन्डरले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले दिएको पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गरेका थिए।
यस जितसँगै बार्सिलोनाले २९ खेलमा ६४ अंक बनाएको छ। दोस्रो स्थानको रियल म्याड्रिडले २८ खेलमा ५९ अंक बनाएको छ।
रियलले बिहीबार भ्यालेन्सियाको सामना गर्नेछ। लेगानेस भने २९ खेलमा २३ अंक जोड्दै अंक तालिकाको पुछारमा नै रहेको छ।