थ्री स्टारका पूर्वप्रशिक्षक हुमागाईंले वेष्ट ह्याममा प्रशिक्षण कोर्स गर्ने

थ्री स्टारका पूर्वप्रशिक्षक प्रदीप हुमागाईंले इङ्ग्ल्यान्डको चर्चित क्लब वेष्ट ह्याम युनाइटेडको अन्तर्राष्ट्रिय एकेडेमी डिप्लोमामा स्थान पाएका छन् ।

अमेरिकाको किस्टोन एथ्लेटिकका प्रशिक्षक रहेका हुमागाईंले फेब्रुवरी ८ देखि १४ सम्म लण्डनमा हुने प्रशिक्षण कोर्समा उपस्थिति जनाउने छन् । हुमागाईं अहिले संलग्न क्लब किस्टोन एथ्लेटिकले प्रेस विज्ञप्ति जारी गर्दै प्रदिपलाई बधाई समेत दिएको छ ।

‘प्रदिप हुमागाईं छनोट भएकामा हामी गौरवान्वित भएको छौं । वेष्ट ह्यामको ‘अफिलियट’ भएकाले हरेक वर्ष हामीले उच्चस्तरिय केहि प्रशिक्षकलाई मात्र यस प्रतिष्ठित कोर्समा सहभागी हुन पठाउँछौं । हुमागाईंको उत्कृष्ट प्रशिक्षण क्षमता र फुटबलमा राम्रो अनुभवका कारण हामीले उनको नाम दिएका हौं,’ किस्टोन एथ्लेटिकले जनाएको हो ।

हुमागाईंले फेब्रुवरी ९ मा ‘ओरियन्टेसन’ कार्यक्रममा सहभागी हुने छन् भने १०, ११ र १२ तारिखमा उमेर समुहको खेलहरुको निरीक्षण गर्ने छन् ।

इङ्ग्लिस प्रिमियर लिग खेलमा वेष्ट ह्याम फेब्रुवरी १० मा वाटफोर्डसँग भिड्दा हुमागाईंले सो खेल स्टेडियममै अवलोकन गर्ने छन् र खेलपछि विश्लेषण कार्यक्रममा सहभागि हुने छन् ।

१४ र १५ तारिखमा उनले मुल्याङ्कन सेसनमा सहभागी भई वेष्ट ह्यामका एकेडेमी प्रबन्धक टेरी वेस्ट्ली र अन्तर्राष्ट्रिय एकेडेमी प्रशिक्षण निर्देशक पल हेफेरसँग काम गर्ने छन् । हुमागाईं १५ तारिखमा अमेरिका फर्किने छन् ।
 

प्रकाशित मिति: : 2020-06-18 19:27:15

प्रतिकृया दिनुहोस्