स्पेनिस ला लिगामा रियल मड्रिडले भ्यालेन्सियालाई पराजित गरेको छ। बिहीबार रातीको खेल घरेलु मैदानमा भ्यालेन्सियालाई ३-० ले पराजित गरेको हो।
रियलको जितमा करीम बेन्जेमाले दुई तथा मार्को एसेन्सियोले एक गोल गरे। रियलको सबै गोल दोस्रो हाफमा नै सम्भव भएको थियो।
दोस्रो हाफको ६१ औं मिनेटमा रियलले करीम बेन्जेमाको गोलमा सुरुवाती अग्रता लियो। लुका मोड्रीचको पासलाई हाजार्डले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट बेन्जेमातर्फ दिएपछि उत्कृष्ट फिनिस गर्दै रियललाई अगाडी बढाए।
खेलको ७४ औं मिनेटमा रियलका लागि मार्को एसेन्सियोले दोस्रो गोल गरे। वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेको एक मिनेट नबित्दै उनले गोल गरेका थिए।
८७ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको सहज जित सुनिश्चित गरे। यस जितसँगै रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दुरी २ अंकमा झारेको छ। रियलको २९ खेलमा ६२ अंक छ।
बार्सिलोनाले समान खेलमा ६४ अंक जोडेको छ। भ्यालेन्सिया भने २९ खेलमा ४३ अंकसहित आठौं स्थानमा यथावत छ।