लेवान्डोस्कीको कीर्तिमानसँगै च्याम्पियन बायर्नको जित

जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार भएको खेलमा लिग लिडर वायर्नले फ्राइबर्गमाथि ३-१ गोल अन्तरको सहज जित निकालेको छ।

शनिबार घरेलु मैदान आलियान्ज रंगशालामा भएकाे खेलमा रोबर्ट लेवान्डोस्कीको दोहोरो गोल र जोसुवा किममिचको एक गोलको सहायतामा वायर्नले सहज जित निकालेको हो। उता फ्राइबर्गका लागि लुकास हुलरले सान्त्वना गोल फर्काए।

खेलमा ४ वटै गोल पहिलो हाफमै लागेको थियो।

खेलको १५ औं मिनेटमा वायर्नले जोशुआ किमिचको गोलमा अग्रता लिएको थियो। लेवान्डोस्कीको पासमा किमिचले गोल गरेका थिए। 

२४ औं मिनेटमा वायर्नले अग्रता दोब्बर पार्यो। लिओन गोरेट्जकाको प्रहारलाई गोलरक्षक एलेक्जेन्डर सोलोले बचाएपनि रिबाउन्डमा लेवान्डोस्कीले हेडरमार्फत गोल गरे।

३३ औं मिनेटमा फ्राइबर्गले गोल गर्दै खेलमा फर्कने संकेत देखायो। लुकास होलारले गाेल गरे। तर त्यसको ४ मिनेट नबित्दै वायर्नले २ गोलको अग्रता पुन: कायम गर्‍याे। रोबर्ट लेवान्डोस्कीले लुकास हर्नान्डेजको पासलाई सदुपयोग गर्दै खेलमा व्यक्तिगत दोस्रो गोल गरेका थिए।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा वायर्नले सहज जित आत्मसात गर्यो। यसक्रममा फरवार्ड लेवान्डोस्कीले जर्मनीको शीर्ष डिभिजन लिग, जर्मन बुन्डेसलिगामा नयाँ कीर्तिमान कायम गरे।

लेवान्डोस्कीले जारी सिजन आफ्नो गोलसंख्या ३३ गोल पुर्याए। यससँगै उनी जर्मन फुटबलको शीर्ष श्रेणी लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने विदेशी खेलाडी पनि बने। उनी लिगमा सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा रहेका छन्। समग्रमा उनले यो सिजन ४१ खेलमा ४७ गोल गरेका छन्। उनलाई आरबी लाइप्जिगका टिमो वेर्नर २६ ले पछ्याइरहेका छन्।

अंकतालिकाको शीर्ष स्थानमा रहेको वायर्नले बुन्डेसलिगा उपाधि यसअघिको खेल पछि नै सुरक्षित गरिसकेको छ। फ्राइबर्ग भने ४५ अंकसहित तालिकाको आठौं स्थानमा छ।
 

प्रकाशित मिति: : 2020-06-21 05:45:28

प्रतिकृया दिनुहोस्