इटालियन सिरी ए अन्तर्गत भएको खेलमा दोस्रो स्थानको लाजियो एटलान्टासँग पराजित भएको छ।
खेलको पहिलो हाफमा नै २–० को अग्रता लिएको लाजियोले दोस्रो हाफमा सम्हालिन नसक्दा हारको सामना गर्नुपरेको हो।
पाहुना टोली लाजियोले खेलको पाँचौ मिनेटमा नै अग्रता लिएको थियो। लाजियोका म्यानुएल लाजारीले क्रस गरेको बल एटलान्टाका मार्टिन डे रुनलाई लाग्दै आफ्नै पोस्टमा छिरेको थियो।
११ औं मिनेटमा लाजियोले अग्रता दोब्बर पार्यो। लुइस अल्बर्टोको पासमा सर्गे मिलिन्कोभिच साभिचले गरेको प्रहारले जालि चुम्यो।
खेलको ३८ औं मिनेटमा हान्स हातेबोरको क्रसमा रोबिन गोसेन्सको हेडर गोल गरे।
दोस्रो हाफको ६६ औं मिनेटमा एटलान्टाले खेल बराबरीमा ल्यायो। डे रुनको पासमा रुस्लान मालिनोभ्स्कीले गोल गरे।
८० औं मिनेटमा घरेलु टोलीले अग्रता लियो। कप्तान आल्हान्द्रो गोमेजको पासमा जोसे लुइस पालोमिनोले गोल गर्दै लाजियोलाई पराजित गरे।
हारसँगै लाजियोले शीर्षस्थानको युभेन्ट्ससँग अन्तर घटाउने अवसर गुमाएको छ। लाजियोको २७ खेलमा ६२ अंक रहेको छ।
समान खेलमा युभेन्ट्सले ६६ अंक जोडेको छ। एटलान्टा जितसँगै २७ खेलमा ५४ अंकसहित चौथो स्थानमा रहेको छ।