युभेन्ट्सको शानदार जित

इटालियन सिरी ए अन्तर्गत साविक विजेता युभेन्ट्सले शनादार जित हात पारेको छ। शुक्रबार रातिको भएको खेलमा लेच्चेलाई ४–० ले पराजित गरेको हो।

 युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला, गोन्जालो हिगुआइन र म्याथिस डि लिग्टले गोल गरे।

खेलको ३१ औं मिनेटमा फाबियो लुचिओनिले रातो कार्ड पाएपछि पाहुना टोली लेच्चे १० खेलाडीमा सिमित भयो। लुचिओनिले गोलतर्फ अगाडी बढिरहेका रोड्रीगो बेन्टान्कुरलाई लडाएपछि रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए।

 ५३ औं मिनेटमा युभेन्ट्सका डिबालाले गोल गरे। रोनाल्डोको पासलाई  डिबालाले टप कर्नरमा फिनिस गरेका थिए।

खेलको ६१ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे। पेनाल्टी क्षेत्रभित्र रोनाल्डोलाई लेच्चेका डिफेन्डरले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। 

८३ औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका हिगुआइनले गोल गरे। त्यसको दुई मिनेट नबित्दै डग्लस कोस्टाको पासमा डि लिग्टले हेडर  मार्फत गोल गरे।

जितसँगै युभेन्ट्सले लिगको शीर्षस्थानमा ७ अंकको अग्रता बनाएको छ। युभेन्ट्सको २८ खेलमा ६९ अंक छ। एक खेल कम खेलेको लाजियोको ६२ अंक रहेको छ। 

लेच्चे भने २८ खेलमा २५ अंकसहित १८ औं स्थानमा रहेर रेलिगेसन टार्न संघर्षरत छ।

प्रकाशित मिति: : 2020-06-27 05:35:32

प्रतिकृया दिनुहोस्