जर्मन बुन्डेसलिगा फुटबलकाे यस सिजन वार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की लगातार तेस्रो वर्ष सर्वाधिक गोलकर्ता बनेका छन्।
लिगको अन्तिम खेलमा शनिबार वोल्फ्सबर्गविरुद्ध एक गोल गर्दै आफ्नो गोल संख्या ३४ पुर्याएका उनी सर्वाधिक गोलकर्ता चुनिएका हुन्।
च्याम्पियन टिम वार्यनका फरवार्ड लेवान्डोस्कीले यस सिजन ३४ खेलमा ३४ गोल गरेका थिए। यस्तै उनले ४ गोल सृजना गर्नका लागि पास मिलाइदिएका थिए।
पोल्याण्डका ३१ वर्षे फरवार्ड लेवान्डोस्कीले यस सिजन वार्यनलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।
लेवान्डोस्की यस सिजन प्लेयर अफ दि सिजन समेत चुनिएका थिए। यस्तै उनले पाँचौ पटक सर्वाधिक गोलकर्ताको अवार्ड जिते।
यस सिजन वार्यनले बोरुसिया डर्टमण्डलाई १३ अंकले पछि पार्दै लगातार आठौं पटक उपाधि जितेको हो। उपाधि जित्ने क्रममा वार्यनले यस सिजन ३४ खेलबाट ८२ अंक जोड्यो।
यस्तै वार्यनले समग्रमा ३० औं पटक लिगको उपाधि आफ्नो बनाउन सफल भयो।