भारतले टिकटकसहित ५९ एप बन्द गरेकोमा चीनको आपत्ति

बिएल संवाददाता

नयाँ दिल्ली

लोकप्रिय एप टिकटकमाथि भारत सरकारले प्रतिबन्ध लगाएकोमा चीनले कडा आपत्ति जनाएको छ। 

नयाँ दिल्ली स्थित चिनियाँ दूतावासका प्रवक्ता जि रोङले बिहीबार एक विज्ञप्ति जारी गर्दै बुधबार भारतले टिकटक र विच्याट लगायत ५९ वटा चिनियाँ मोबाइल एपमा लगाइएकाे प्रतिबन्धले दुई देशबीचको व्यापार सम्बन्धमा नकारात्मक असर पर्ने बताएका छन्। 

उनको विज्ञप्तिमा भारतको यो कदमलाई विभेदकारी र विश्व व्यापार संगठनको मान्यताको विरुद्ध पनि भनिएको छ।

टिकटक चीनको बाइट–डान्स कम्पनीले निर्माण गरेको हो। प्रधानमन्त्री नरेन्द्र मोदीको भारत सरकारले ५९ वटा चिनियाँ मोबाइल एपमाथि एकैसाथ प्रतिबन्ध लगाएको थियो जसमा टिकटक पनि समावेश छ।

एक अनुमान अनुसार भारतमा टिकटकका करिब एक करोड २० लाख प्रयोगकर्ता छन्। टिकटकका चीन बाहेक सबैभन्दा बढी ग्राहक भारतमा रहेका छन्।

भारतीय सूचना प्रविधि मन्त्रालयले चिनियाँ एपका कारण भारतको सार्वभौमिकता र अखण्डता, भारतको सुरक्षा, राज्यहरुको सुरक्षा एवं सार्वजनिक जीवनमा चुनौती उत्पन्न भएको जनाएको छ। 

चीन र भारतीय फौजबीच लद्दाखमा गत जुन १५ मा भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि दुबै देशबीच तनाबको स्थिति छ। यस क्षेत्रमा अहिले अतिरिक्त सुरक्षाफौज, लडाकू बिमान र अन्य उपकरण तैनाथ गर्नेक्रम जारी छ। 

अहिले भारत र चीनबीचको सम्बन्ध बिग्रिएको मानिन्छ। विज्ञप्तिमा भारतले ती एपले भारतीय सुरक्षाामै खतरा भएको भन्ने आरोपको पनि खण्डन गरिएको छ।

साथै विज्ञप्तिमा भारतको यस कदमले ठूलो संख्यामा भारतीयको रोजगारी पनि गुम्ने बताइएको छ। यी एपहरु भारतीय उपभोक्तामाझ पनि निकै लोकप्रिय भएका भन्दै उपभोक्ताको रोजाइ र उपभोगको अधिकारलाई पनि यसले कुण्ठित गर्ने चीनको भनाई छ। चीनले एपलाई प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिई दुई देशबीचको व्यापार सम्बन्धलाई सुमधुर बनाउन पनि आग्रह गरिएको छ।

यसैबीच, भारतमा चिनियाँ सामानको बिक्री तथा चीनबाट सामान आयातमा समस्या उत्पन्न हुन थालेको छ। गत साता, नयाँदिल्लीको एउटा प्रमुख होटल संघले आफ्ना सदस्य होटलहरुले चिनियाँ पर्यटकलाई आश्रय नदिने तथा चीन निर्मित सामान पनि प्रयोग नगर्ने घोषणा गरेको थियो।

भारतमा चिनियाँ इलेक्ट्रोनिक्स वस्तुका उत्पादनहरुको पनि बाक्लो उपस्थिति रहेको छ। चिनियाँ मोबाइलहरु साओमी र ओप्पोले भारतको झण्डै ६५ प्रतिशत हिस्सा ओगटेको अनुमान छ। 
 

प्रकाशित मिति: : 2020-06-30 19:37:33

प्रतिकृया दिनुहोस्