सिटीका साने वायर्नमा अनुबन्धित

जर्मन क्लब वायर्न म्युनिखले जर्मनीका विंगर लोरी सानेलाई अनुबन्ध गरेको छ। 

इंग्लिस क्लब म्यानचेस्टर सिटीकासमेत विंगर रहेका साने सिजनको अन्त्यसँगै वायर्नमा अनुबन्धित हुने छन्।

वायर्नले सिटीसँग ५५ मिलियन पाउन्डको सम्झौता गरेको हो। सम्झौतासँगै साने २०२५ सम्म वायर्नमा रहने छन्।

सानेले वायर्नको अफिसियलसँग रहेर क्लबको जर्सी सार्वजनिक गरेको र सम्झौता पत्रमा हस्ताक्षर गर्दै गरेको तस्वीर सार्वजनिक गरेको छ।

सिटीमा अनुबन्धित भएसँगै सानेले वायर्नको अफिसियल वेवसाइटमा वायर्न ठुलो क्लब र क्लबको पनि ठुलो योजना रहेका कारण नयाँ क्लबमा नयाँ चुनौतीको सामना गर्न तयार रहेको बताएका छन्।

‘वायर्न एक ठुलो क्लब हो। जसको ठुला लक्ष्य छन्। ती लक्ष्यहरु मलाई उपयुक्त लाग्यो,’ वायर्नमा अनुबन्ध भएपछि सानेले भने, ‘म नयाँ चुनौतीको प्रतिक्षामा छु।’

उनले आफ्नो लक्ष ट्रफी जित्नु रहेको भन्दै विशेष गरी च्याम्पियन्स लिग मुख्य प्राथमिकतामा रहने बताए। 

‘मलाई थाहा छ। हान्सी फ्लिक जर्मनीको यु–२१ टोलीको प्रशिक्षक रहँदा मैले उनलाई राम्ररी चिन्दछु। हाम्रो सम्वन्ध निकै राम्रो रहेको छ। त्यसैले पनि म वायर्न आएको हु। म यहाँबाट धेरै भन्दा धेरै ट्रफी जित्न चहान्छु,’ सानेले भने, ‘विशेष गरी च्याम्पियन्स लिग मुख्य प्राथमिकतामा रहनेछ’, उनले भने। 

यस्तै सानेले सिटी र सिटीका फ्यानलाई धन्यवाद ज्ञापन गरेका छन्। ‘सबैलाई विशेष धन्यवाद। सिटीमा चार वर्ष बिताउदाको क्षण निकै रोमाञ्चक र सफलतामा रह्यो। हामीले केही कीर्तिमानहरु पनि बनायौं र सँगै विभिन्न ७ उपाधि जित्न सफल भयौं।’

सानेले सिटीको सम्झौता नविकरण प्रस्ताव अस्विकार गरेपछि उनको भविष्य अन्यत्र रहेको प्रष्ट भएको थियो। २४ वर्षे साने जर्मन क्लब साल्केबाट ३७ मिलियन पाउन्डमा सन् २०१६ मा सिटी आएका थिए। 

उनकै उच्च प्रदर्शनमा सिटीले पछिल्लो दुई सिजन प्रिमियर लिग उपाधि जितेको थियो। सानेले  सिटीका लागि २ प्रिमियर लिग, २/२ लिग कप र कम्युनिटी शिल्डको उपाधि जित्दा एक एफए कप जितेका छन्। 

सानेले सिटीका लागि १ सय ३५ खेलमा ३९ गोल र ४५ गोलका लागि पास उपलब्ध गराएका थिए। 

तर यस सिजन भने चोटका कारण उनले प्रिमियर लिगमा खेल्न पाएनन्। उनले कोरोनापछि पुनरागमन गर्दै पूर्ण फिटनेसमा फर्कने तयारी गर्दैछन्।

प्रकाशित मिति: : 2020-07-04 05:34:31

प्रतिकृया दिनुहोस्