निगालोले धानेको जीवन-२: जिन्दगी चलाउन्या बाटो (भिडियाे)

मुगु डायरी-१४

पञ्चरामा साहनीका गोडमा मिल्टिरी जुत्ता छन्। मिल्टिरी मतलब आर्मी कलरका जुत्ता। बजारको सबैभन्दा सस्तो मूल्यको जुत्ता। गरिवहरूको खुट्टाको सबैभन्दा प्यारो साथी। साथी मात्र के भन्नु नङ मासु।

मिलेट्री रंङमा बनाइएका जुत्ताको नाम ‘मिलेट्री’ को गलत उच्चारण गर्दा गर्दा अपभ्रस भएर मिल्टिरी भयो होला। पछि पसले र जनजिब्रो सबैले मिल्टिरी नै उच्चारण गर्न थाले होलान्, सायद।

गरिबको मुक्तिको लागि लडेका माओवादीले आफू उनीहरू जस्तै देखिन मिल्टिरी जुत्ता लगाउन थाले। यसो गर्दा जीवनस्तर गरिबहरू बारबारकै जस्तो देखिन्थ्यो। जनमत बटुल्न सहज हुन्थ्यो। गरिबहरूले पनि माओवादीलाई पत्याउने भए। अभिनयको अनुपम नमुना पनि यही हो।

माओवादीले मिल्टिरी जुत्ता लाउने गरेको थाहा पाएपछि सेनाले जनतालाई मिल्टरी जुत्ता लाउन प्रतिबन्द लगायो। गरिबहरूको हैसियत मिल्टिरी जुत्ताभन्दा माथि कहिले उठेन। त्यसपछि उनीहरू नाकखुट्टै (खाली खुट्टा) हिँड्न थाले।

पञ्चराम साहनीको पुस्तामा हुने खानेले दोचा (हिमालमा बस्नेले घरमै बनाएको एक प्रकारको छालाको जुत्ता) लाउँथे। नहुने नाकखुट्टै हिँड्थे। यसरी बानी परेका खुट्टामा साना तिना काँडा पनि बिज्न मान्दैनथे। ढाँड, ढुंगा पचाएका खुट्टालाई मिल्टिरी जुत्ताले भने बिगारेर कोमल बनाएका थिए। त्यसरी त मिल्टिरी जुत्ता नङ बनेर टाँसिएका हुन, गरिबहरूका मासुमा।

नङ उखेलिएपछिको खुट्टाको हालत कस्तो भयो होला? त्यो पञ्चरामको पुस्ताले राम्ररी भोगेको छ। तर आफू र आफ्नो जस्तै जीवन भोगिरहेकाको मुक्ति हुन्छ भने मासुबाट नङ उक्किएको पीडा केही समय भोग्नलाई कुनै गाह्रो भएन। ‘मान्छे लगाएको बाली पाकुन्जेल भोक सहन्छ,’ भन्छन्।

मुक्तिको लागि गरिने युद्व जस्तो निर्मम बाटो कहाँ अभिनय होला र, भनि गरिएको विश्वासले हावा खायो। त्यसैले त माओवादी आन्दोलनको आदर्श पञ्चरामको पुस्तालाई भद्दा मजाक लाग्छ। आहुतीको उपन्यास स्खलन जस्तै। अभिनय कति निर्मम हुने रहेछ भन्ने कुरा बल्ल बुझेका छन्। हुन त अभिनयले नै कसैप्रतिको विश्वास शून्यबाट एक सय असी डिग्रीमा पुर्‍याइदिन्छ। एक सय असीबाट शून्यमा पनि।

मुक्तिको हजार माइल लामो यात्रामा हिँडेका उनीहरू त आफूले विजय प्राप्त गर्‍यौं नै भन्छन्। जनताको मुक्ति भयो या भएन थाहा छैन तर उनीहरू आफू मुक्ति पाइ सहर फिरेका छन्। जसको हैसियत मिल्टिरी जुत्ताभन्दा हजारौं गुणा माथि पुगिसकेको छ। तर पञ्चरामहरुका नङ मासु मिल्टिरी नै छन्। जसरी नङ जतिफेर उखेलेर फाल्दा पनि फेरि मासुसँग टाँसिन आइपुग्छ, उसरी नै टाँसिन आएका छन्, मिल्टिरी।

उनको तल्लो आङमा नाइलनको मैलो सुरुवाल छ। तर उनका कुरा सफा छन्। त्यो भन्दा बढी सफा मन छ। उनको पेसा प्रतिको माया र लगाव झरनाको पानी झैं पवित्र र कञ्चन छ।

माथिल्लो आँङमा सबैभन्दा भित्र घरबुनको कमिज छ। बाहिर कफि कलरको आधुनिक ज्याकेट हुक्स छ। त्यसको बाहिर स्टकोट छ। शीरमा ढाका टोपी छ।

कपाल सेती फुलेर पँहेली फुल्न आँटेको छ। अनुहार ढाक्ने गरी उम्रेका दारी जुँगा चारकोसे झाडीझैं बाख्ला छन्। पुरै पाकेका छन्, बुढिएका रूख झैं। जिउ भरिलो छ। अनुहार उज्यालो छ। जीवनप्रतिको नैरास्यताले नै होला, अनुहारका रेसाहरुमा प्रसस्त चमक देखिदैन।

उनी भावनामा बग्न जानेका छैनन्। अलि घोत्लिँदा उनको भावनाको गहिराई बुझ्न बेर लाग्दैन।

पञ्चराम ७० वर्षका भए। मुगुको औसत आयुभन्दा दोब्बर बढी उमेर खाएका उनमा राज्यको लगानी भनेको वृद्ध भत्ता मात्रै हो। बाँकी जे गर्‍यो, निगालोले नै गर्‍यो। सहानी बाडाका हरेक व्यक्तिको निगालोसँग जीवनको विशिष्ट साइनो छ। उनीहरुमा लगभग सबैले डोको बुन्न जानेका छन्। ती बाहेक कोही थुन, कोही छाब्री, कोही सुपा बुन्छन्। जुन उनीहरुका विशिष्टिकृत सीप हुन्, आफ्नै पुर्खाबाट सिकेका। पञ्चराम स्याँकु बुन्छन्। गाउँमा स्याँकु बुन्ने भनेर उनलाई नै चिनिन्छ।

स्याँकु पानी पर्दा, अत्याधिक गर्मी हुँदा, खेत रोप्दा, गोडमेल गर्दा काम लाग्छ। स्याँकुले छाताको काम गर्छ। तर छाता भन्दा स्याँकु कयौं गुणा राम्रो हुन्छ। महिलाहरू खेतमा रोप्ने, गोड्नेबेला छाता ओडेर काम गर्न सक्दैनन्। त्यसको बनोट पनि त्यस्तो हुन्न। तर स्याँकु ओड्यो भने मजाले काम गर्न सकिन्छ। स्याँकु ओडेर काम गर्ने उनीहरूलाई चिसो पनि हुन्न।

‘पुँइसा (रूपियाँ) हुन्या मान्ठ छाता ओड्डाछुन्,’ पञ्चरामले भने, ‘कट्ठ, हामी पुँइसा नहुन्या मान्ठ यही स्याँकु ओड्डाछौं।’ छाताले उच्च वर्गीय सहरिया पहिचान बनाएको छ। छाताले बजार लिदा स्याँकुप्रति हिन भावनाको विकास भएको छ। उनी त्यसरी नै प्रस्तुत भइरहरेका थिए।

उनले स्याँकु ओड्नुलाई निम्न वर्गको हुनु माने। उनी आफैंले स्याँकु कति किम्ति र स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने कुरा बताए पनि यो सबै वर्गको लागि उक्तिकै महत्वपूर्ण छ भनेर निर्धक्क भन्न सकेनन्। ‘गरिबहरुको माल त हो’ भनि हेला गरिदिने स्थापित मान्यताले पनि हिन भावनाको विकास गराएको छ।

विभिन्न चरण पार गरेर थालेको स्याँकु व्यवसायको विस्तार मुगु जिल्लामा मात्र होइन अन्य जिल्ला पनि हुन्थ्यो। स्याँकुको लागि सिंजा सबैभन्दा ठूलो बजार थियो भने फाट्टफुट्ट जुम्लासम्म पनि बिक्री गर्ने गरेको पञ्चरामको विगतबाट बुझ्न सकिन्छ। ‘सिंजा व्यापार जाने चलन त पुरै हरिगो (हरायो)। अब जति स्याँकु बुन्दाछौं सब यतै बिक्री हुन्छ। पहिला जस्तो उती बुन्दा पुनि बुन्दैनौं। टाढा हँड्न (हिड्न) पुनि सकिदैन,’ उनले भने।

निगालोको काम कुनै एक सिजनामा मात्र नभई बाह्रै मास हुन्छ। बर्खामा स्याँकु, हिउँदमा डोका, असोज, कात्तिकमा थुन, छाब्री बुनिन्छ। ‘यइथै त हो हामीले जिन्दगी चलाउन्या बाटो। चलाउन्या क्या भुन्नु घिसाड्न्या बाटो,’ पञ्चरामको दुखेसो, ‘जग्गा जमिन सबै सुख्खा छ। नापानापा भयाको जति रोडमै पड्यो। रोड आयो, जग्गा गयो। अहिलेसम्म क्षतिपूर्ति दिया नाई। देला भुन्या आश पुनि नाई।’

वर्षभरी ठिक्क यति स्याँकु बुनिन्छन् भन्ने हुन्न। पहिला एक वर्षमा ४०–५० सम्म बुनिन्थे, अहिले २०–२५ सम्म बुनिन्छन्। बजार घटेको छ। निगाला पाइए पनि भोजपत्र पाईँदैन। एक पटक ल्याएका निगालाले तीन, चार स्याँकु बनाउन पुग्छन्।

‘निगाला भइकन मात्तै हुनैन। स्याँकुका भित्तपट्टि भुजपात (भोजपत्र) हाल्नु पड्डोछ। भुजपात ल्याउन सित्ति दुःख हुन्नन्,’ उनले भने, ‘जलजला, बागजाल्या जान्छौं। दुई तीन दिन ताँइ (त्यहीँ) बास बस्ताछौं। जुम्लाको सिमाना तिर हो। ठुलठूला भीर छन्, ताँइ लोट्यापै (लडेपछि) त जोवान बाइगो।’

निकुञ्ज यरिया भएको हुनाले आजभोलि निगालो पनि सुलभ छैन।

०००

पिनामा धान रोप्ने खेत छैनन्। बोया (छरेका) धान हुन्छन्। सबैको जमिन हुँदैन। भात खानलाई चिनो, कागुनोबाहेक अरू हुँदैन। पौष्टिक आहारमा चिनो, कागुनोको महत्व अलग भए पनि भात धानकै मझेदार हुन्छ। त्यसमाथि सुत्केरी महिलाहरुले बढी रुचाउँछन्। 

‘आइमाई छकली (सुत्केरी) हुन्या भया स्याँकु बेइन (बेच्न) सिंजा, जुम्ला पुगि राता चामल ल्याइ आउँदा छियौं,’ उनले भने, ‘राता चामल असाध्यै पोसिला। यता नपाइन्या। छकली आइमाइकन चाँइदा। त्यै बिय सिंजा जान्छियौं। त्यसै चामल नपाइने। केही मालताल त चाहियो सट्टापट्टा गन्न, चामल कुमाउन (कमाउन)। त्यसै कोइ नदिन्या। हाम्मा हातको सीप यही स्याँकु छियो। यहि लिइकन जान्छियौं।’

त्यतिबेला वस्तु विनिमय प्रणाली व्याप्त थियो। हुन त गाउँघरमा अहिले पनि उही चलन छ। चामलसँग साँट्नलाई स्याँकु उपयुक्त हुने। सिंजा स्याँकुको राम्रो बजार। साहनीका हात स्याँकु बुन्ने राम्रो सीप। यसरी विनिमय चलिरहेको थियो, जुम्ला सिंजादेखि मुगु साहनी बाडासम्मको।

रोपाइँको बेला होइनभइ पानी पर्छ। त्यस्तो बेला स्याँकु नभइ हुँदैन। स्याँकु नभए महिलाहरु रोप्दा रोप्दै भिज्छन्। चिसो साह्रै भएपछि बिरामी हुने सम्भावना बढी हुन्छ। बिरामी भइहाले रोपाइँ बाँझो हुने सम्भनवना रहन्छ। त्यसैले पनि रोपाइँमा स्याँकु अनिवार्य हुन्छ।

ठाउँठाउँमा बजारको विस्तार भइनसकेको र प्लास्टिकको उपलब्धता नहुने वा उपलब्ध भए पनि प्लाष्टिक प्रयोग गर्दा चिसो हुने हुनाले पनि स्याँकु निर्विकल्प थियो।

०००

स्याँकु व्यापारका थुप्रै किस्साहरु छन्। त्यसमध्ये एउटा पञ्चरामले हामीलाई यसरी सुनाए।

‘एक स्याँकु दिया पै तीन, चार पाथिसम्म चामल दिँदा छिया। एकफेर सिंजा व्यापार गएका बेला एक मान्ठले सयाँकुको नाली (दुई पाथि) भन्दा बढी चामल दिँदैन भुन्यो। ‘स्याँकुको सट्टा बरू कालो काम्मो किनुला, यो क्या चाटला मेरो,’ भुनी अडिकन बस्यो।

ताँइ (त्यहीँ) बस्याको अक्को (अर्को) मान्ठले सम्झायो। ‘हेर तेरी जोइ (श्रीमती) कन कोलो काम्मो आडाएर काम गन्न पठाइस् भुन्या मेघ आयो भुन्या बाहा (बेलुका) रुझेर आली (आउँछ)। स्याँकु किन्दा खेरी तेरी जोइ पकपकानी, ओभानी भइकन आली।’

तादि (त्यो बेला) भोटेहरू काला काम्मा (भेडाको उनबाट बनेको समान) बिक्री गन्न ल्याउँदा छिया। काला काम्माका मोल पुनि तीन चार पाथि चामलै छियो। त्यो मस्तै काममा चाँइदो। त्यैखा (त्यसका) अगाडि स्याँकु खासै काम लाग्न्या माल भएन।

त्यो अक्को मान्ठले उसकी जोइको जीउका कुडा गरिकन सम्झाएको हुनाले पत्यायो। अनी तीन पाथि चामल दिएर स्याँकु किन्यो।

कालो काम्मोको सट्टा स्याँकु ओडी खेत जानु सजालो हुन्छ। चिसो लाग्दैन। यही कुडा सबैले बझ्दै गयापछि स्याँकु बढी बिक्न्या भाया।’

०००

आफूलाई चाहिने खाद्यान्नको जोहो गर्न स्याँकुले राम्रै काम गरेको थियो। अन्न पात घर भित्र्याउने माध्यम त्यही थियो। पछि स्याँकु बेचेर पैसा आउन थाल्यो। पैसा आए पनि चामल सजिलै किन्न सकिदैन थियो। चामलको बजार थिएन। चामलको लागि खाद्य संस्थान बाहेक अर्को विकल्प पनि थिएन। त्यहाँ गाउँलेहरुको पहुँच हुँदैन थियो। लाइन लाग्नु पथ्र्यो तर चामल पाइने ठेगान हुँदैन्थ्यो।

‘ती दुःख आज सम्झिया पुनि सास हुलिया (रोकिएर गाह्रो) जस्तो हुन्छ,’ पञ्चरामले पहुँचवालाहरुको नियत सम्झिए, ‘नेता समात्या (आफ्नो बनाएपछि) पै सजिलो हुन्छियो। चाकडी गन्नु पड्न्या। सोजा आँखाले नहेद्दा। होद्दैयौ... त्यस्ता दिन त सत्तुरका पुनि नआउन् भुन्नाछु, मो त।’

पिनाका मान्छे बजारका नेतालाई खुब हार गुहार गर्थे। उनीहरुले गर्दिए भने चामल हात लाग्थ्यो। भुटेको रक्सी खान सिपालु बजारिया नेताको दयाको पात्र बनिहाल्नु उति सजिलो थिए। तर नेताको नजरमा परेर चामल ल्याइ आउने मान्छेले गाउँमा ठूलो सान राख्थ्यो। नेता नहुने निमुखाहरु त्यसै घर आउँथे।

खाद्य संस्थानले पनि मुगाली गरिबहरुलाई सुविस्ता भएन। त्यसैले पञ्चरामहरूको लामो सुस्केराकै बतास हिमाली पाखामा सिरसिर चलिरहन्छ। चिसो लागिरहन्छ मनमा पनि, वातावरणमा पनि।

  यो पनि हेर्नुहोस्  

प्रकाशित मिति: Jul 10, 2020 17:24:20

प्रतिक्रिया दिनुहोस

सबै