पश्चिम-रुकुमको सोतीमा भएको छ जना हत्याकाण्डबारे भेरीका मेयर सीपी घर्तीको बयान (भिडियाे)

सीपी घर्ती मगर

मेयर, भेरी नगरपालिका

रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको सोतीमा अत्यासलाग्दो दुर्भाग्यपूर्ण जुन घटना घट्यो– जेठ १० गते । त्यो मानव सभ्यताकै अत्यन्त कलंकित घटना हो । हत्या भएका छ जनामध्ये दुई जना गैरदलित र चार जना दलित समुदायकै होनहार युवा छन्– १८–२१ वर्षका । मारिएकामध्ये पाँच जना जाजरकाेटको भेरी नगरपालिकाका बासिन्दा हुन् भने एक जना पश्चिम रुकुमको चौरजहारी नगरपालिका- १ सोतीका । राष्ट्रले सही दिशा दिनसक्दा भोलि देशलाई योगदान दिनसक्ने उमेर समूहका युवा गुमाएका छौँ ।

घटना कसरी हुनसक्यो भन्ने कुरा जति हामीलाई थाहा छ, त्यति अरुलाई थाहा नहुन सक्छ । घटनाको विजारोपण भनेको अन्तर्जातीय प्रेम सम्बन्ध नै हो । २० वर्षभन्दा कम उमेरकी गैरदलित किशोरी दलित युवकसँग प्रेम सम्बन्धमा बाँधिएको भन्ने आएको छ । माइती पक्ष (केटी) चाहिँ गैरदलित र घर (केटा) पक्ष दलित पक्षको हो । प्रष्ट पार्नुपर्छ– त्यहाँ उमेरको कुरा आएन ।

प्रेमी नवराज बिक (मृतक युवक) सुष्मा मल्लको घर पुगेको छ । उनी अहिले बाल सुधार गृहमा छिन् । उनलाई अदालतले दोषी ठहर गरी पुर्पक्षका लागि त्यो चरणमा पुर्‍याएको हो । दलित युवकले गैरदलित युवतीलाई प्रेम गरेको कुरा माइती पक्षले स्वीकारेन । केटी पनि दुई–तीन पटक युवककै घरमा गएर सुतेकी छिन् । युवक नवराज बिकका बाउ–आमाले पनि केटीलाई भनेको रहेछ– ‘नानी तिम्रो घर त सोती रहेछ । तिमीहरु मल्ल ठकुरी खान्दानको, हामी दलित परिवारको । वर्गका हिसाबले पनि हामी मजदुरी गरेर खाने वर्गको । तिमी यसरी हामीकहाँ गाएर बस्न मिल्दैन ।’

केटीले भनेकी रहिछन्, ‘हामी त प्रेममा बाँधिएको मान्छे । म आफैँ पनि हिजोको दिनमा एउटा समाजवादी चरित्रको आन्दोलन ‘जनयुद्ध’ लडेर आएको खान्दानको मान्छे हो । यस्ता कुराको पर्वाह हुँदैन ।’

पहिलोपटक पक्रेर प्रहरी हिरासतमा

नवराज बिक (मृतक) सोती पनि गएको रहेछ– केटीको घरमा । पहिलो पटक घरमा जाँदा उसलाई पनि पुलिस बोलाएर पक्राउ गरी इलाका प्रहरी कार्यालय, चौरजहारीमा बुझाएको रहेछ ।

त्यसमा पनि समाजले दलित परिवारलाई गरेको अपशब्द प्रयोग गरी उसलाई प्रहरीमा बुझाएको रहेछ । ऊ एक दिन चौरजहारी हिरासतमा बसेर फर्केको रहेछ ।

फर्केर गएपछि पनि उनीहरुको कुराकानी हुँदै गयो । त्यसपछि पनि केटीले मेरो घरमा आउनू भनिरहेको छ । उसलाई केटीले नै केही साथीहरु लिएर आउनूपर्छ भनेर बोलाएको रहेछ ।

केटाले भनेछ, ‘म पहिलोपटक आउँदा त्यसरी कुटपिट, दुव्र्यवहार गरी प्रहरीको जिम्मा लगाइएको छ– त्यो पनि म दलित भएको कारणले । पछिल्लो पटक फेरि आउँदा त्यस्तै दुर्भाग्यपूर्ण घटना घट्न सक्छ त्यहाँ । बरु म एक्लै आउँछु । भेटौँ ।’

केटीले साथीहरु लिएर आउनू भनेर बोलाएकी छिन् । केटीसँग म्यासेन्जरबाट कुरा भएको छ । यो प्रहरी अनुसन्धानबाट प्रष्ट भइसकेको छ ।

अहिले घटनाबारे अदालतमा थुनछेकको बहस भएर पनि आदेश भइसकेको छ । २३ जना पुर्पक्षमा जेल चलान भएका छन् । दुई जनालाई सुधारगृहमा पठाएको छ । न्यायपालिकाको भाषामा त्यो पनि जेल चलान नै हो । अर्को, एक जना भीमबहादुर बुढालाई पनि पुर्पक्षका लागि जेल चलान गरेको भन्ने सुनिएको छ ।

यस्तो थियो घटना

प्रेमी नवराज बिकको साथमा उनीसमेत १८ जना गएका थिए, जसमध्ये छ जना मारिए । (मारिनेमा नवराज विक, टीकाराम बिक, गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जु बिक, गोविन्द शाही र गणेश बुढा छन् । टीकाराम सुनार रुकुम–पश्चिमको चौरजहारी नगरपालिका-१ , सोतीकै हुन् भने बाँकी पाँच जना जाजरकोटको भेरी नगरपालिकाका बासिन्दा हुन् ।) 

बाँचेका १२ जनालाई उद्दार गरिसकेपछि हामी घटनाबारे सत्यको नजिक पुग्ने प्रयास गर्‍यौँ । छ जना त मरिसके । उनीहरुका छ वटा लाश फरक–फरक १० दिनसम्ममा फेला पार्‍यौँ ।

जीवितै आएका युवासँग कुरा गर्दा उनीहरु ‘बेहुली उठाएर ल्याउने’ भन्दा पनि भेटघाट गर्ने, घुमेर आउने हिसाबले गएका छन् । केटीले नै म्यासेन्जरबाट भनेको छ– तपाईं ८–१० जना साथीहरुसहित आउनुस्, एक्लै नआउनुस् । त्यो म्यासेन्जरबाट कुरा भएको हामीले पनि देख्याँै । संभवतः पहिलो पटक दुव्र्यवहार भइसकेको हुनाले त्यसो भएको हो । त्यो कुरा अनुसन्धान अधिकृतहरुलाई पनि पास गरेका छौँ ।

नवराज बिक भलिबलको राम्रो खेलाडी थिए । राष्ट्रपति रनिङ शिल्ड लगायत विभिन्न प्रतियोगितामा २०–२२ वटा मेडल जितिसकेका मान्छे हुन् । उनी जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ को स्थायी बासिन्दा हुन् ।

उनले आफ्नो व्याचका केही युवा लिएर गएका रहेछन् । बाँचेर फर्केकाहरुले भनेअनुसार, उनीहरु बिना हातहतियार गएका थिए, सुसज्जित थिएनन् । लडाइँ–झगडा गर्ने तयारी थिएन ।  धल्ला भन्ने पुल छ त्यहाँ । त्यसले भेरी नगरपालिकाको वडा नम्बर ४ सँग चौरजहारी नगरपालिकाको भूभागलाई जोड्छ । त्यो पुल हुँदै नवराज बिकको प्रेमिकाको घर हुँदै गएर  प्रेमिकाको घर हुँदै जाने, काफल पनि खाने र अर्को एरियाको झोलुङ्गेपुल हुँदै फर्कने गरी गएको देखिन्छ । केटी उठाउने, केटीको घर पक्षसँग भिडन्त गर्ने भन्ने हिसाबले गएको देखिँदैन ।

भिडियाे हेर्नुस्

नवराजमाथि केटीका आफन्तले पहिला पनि दुव्र्यवहार गरेको हुनाले ऊ आफूलाई लायक देखाउन साथीहरुसहित गएको देखिन्छ । ‘म पनि केटीको लागि लायक मान्छे हुँ, किन मलाई दुव्र्यहार गर्ने ? अहिलेको जमानामा पनि हामी केही गरेर खान सक्ने मेहनती, इमान्दार, कर्मठ छु । मैले पनि केही गर्नसक्छु’ भन्ने मनोवैज्ञानिक अनुभूति दिलाउन गएको हो । लडाइँ गर्न गएको भए त उनीहरुबाट हातहतियार बरामद हुनुपथ्र्यो । ‘ड्रेसअप’ बाट पनि थाहा हुनुपथ्र्यो । मारिनेमा ४०–४५ किलो तौल भएका ससाना केटा पनि छन् ।

बिचरा निहत्था युवा छन् । कोही त ४०–४५ केजीको स–साना बच्चा छन् ।

के घटना घट्यो भनेर जान्ने बाँचेका १२ जना भाइहरु हुन् । उनीहरुले भनेअनुसार, उनीहरु गए । जानासाथ दलितलाई प्रयोग गर्ने अपशब्द प्रयोग गर्ने, ‘यो फेरि आयो.... यो ?! यसलाई अझै पुगेन ?’ भन्ने हिसाबले एक्कसी प्रेमिकाकी आमा प्रकाशी मल्ल बर्बराइन् । त्यसपछि उनले वडा अध्यक्ष लगायत त्यहाँका अगुवाहरुलाई सम्पर्क गर्छिन् । चारैतिरबाट डेढ–दुई सय मान्छे जम्मा भए ।

नवराजसहित मारिएका छ जनालाई सुरुमै ‘आइसोलेट’ गरियो । १८ जनाको समूहबाट छ जनालाई अलग गराइयो । बाँचेका  १२ जनाले उनीहरुलाई तथानाम गाली गरेकोदेखि छुट्याएकोसम्म मात्र देख्न पाए । त्यसपछि कुटपिट गर्दै एकातिर लगिहाले ।

म आफैँ त्यहाँ गएर वस्तुस्थिति अध्ययन गरेको छु । त्यहाँ जम्मा चार प्रकृतिको घटना घटेको छ । मारिएका छ जनालाई सुरुमै छुट्याइयो । बाँकी १२ जनालाई लखेटियो  । भाग्ने क्रममा तीमध्ये पाँच जना नदीमा हाम्फालेर नदीको बीचसम्म गए– उनीहरु । नदीको एक भँगालो तरेर बीचको टापुमा गएर बसे । त्यहीँ गएर ढुङ्गा हान्दै पिट्दै वारि नै ल्याए– चौरजहारी–१ सोतीमै । भेरी नदी पार गर्न पाएनन् । फेरि पिट्दै–पिट्दै वारि नै ल्याए ।

दुई जनालाई चाहिँ वारि सोतीको सडकमै पिट्दै राखिएको थियो । उनीहरु प्राणको भीख माग्दै बसे । उनीहरुका हात–पाखुरामा खुर्पाको पछाडिपट्टिबाट हानिएको छ ।

अर्का पाँच जना चाहिँ नदीको दुवै भँगालो पार गरेर जाजरकोटको कालेगाउँको बगरमा पुगे । पारि पुग्दा पनि उनीहरुलाई वारि आएर फेरि पारि– चौरजहारी नगरपालिका वडा नम्बर १ को सोती गाउँमै लगियो ।

पहिले नै मारेर पालैपालो खोलामा फालियो

मारिएका छ जनाबारे विभिन्न किसिमका अभिव्यक्ति आएका छन् । मेरो ब्रम्हले भन्छ– ती छ जनालाई नै खोलावारि नै मारिएको छ । जाजरकोटमा प्रहरीले तदारुकता देखायो तर पश्चिम रुकुमको प्रहरीले पनि त्यहाँ एउटा गल्ती गरेको छ– एरिया सिल गर्नुपर्नेमा गरेन । त्यो पश्चिम रुकुमको क्षेत्रमा पर्छ ।

नवराज बिकको लाश जेठ १० गते राति नै फेला परेको छ । अरु पाँच जनाको लाश फेला पार्न सकिएन । उनको लाश लिन नगरपालिकाको ट्रयाक्टर र गाडीहरु पनि पठाएको छु मैले ।  रातभरि गरेर लाश भोलिपल्ट बिहानै जिल्ला अस्पतालमा ल्याएको छु । घटना भएपछि रुकुम प्रहरी त्यो एरिया सिल गर्ने, बेपत्ताको खोजी गर्ने काममा निकै असफल रह्यो । प्रभावित रह्यो या उसको क्षमताले भ्याएन ? यो सधैँ खडा भइराख्ने प्रश्न हो ।

मलाई अहिले पनि लाग्छ– यदि प्रहरीले सिल गरेको भए छ जनामध्ये पनि कोही बाँच्थे कि ? शंका छ । ती मान्छेलाई नराम्रोसँग पिटे । पाखामै थला पारेर सुताए । सुरुमा नवराजलाई मारेर नदीमा फाल्दिए । बाँकी रहेका पाँच जनालाई पालैपालो गरेर मारे । फरक–फरक समयमा नदीमा बगाए । नत्र एउटै एरियाबाट बगाएको लाश फरक–फरक ‘रेञ्ज’ मा कसरी फेला पर्छ त ?

पहिलो लाश फेला परेपछि भेरी नगरपालिकाबासी र पीडितका आफन्तजन शोकाकुल रहे । यो अवस्थामा कतिपयको ध्यान त्यतातिर जाँदैन नि त ! ‘एरिया सिल’ प्रहरीले गर्नुपर्ने हो । मारिएकामध्ये  पाँच जना भेरी नगरपालिकाका हुन् । एक जना चौरजहारी नगरपालिका वडा नम्बर १ कै हुन– टीकाराम सुनार । उनीहरु आफन्त नै छन् । यो मारेर फालिएकै हो ।

जातीय अपराधहो कि अपराध’ ?

घटनाको विषयवस्तु जातीय विभेद हो । समाज निर्माण गर्ने सन्दर्भमा मिडियाले यो कुरा प्रकाशमा ल्याइदिनुपर्छ । हामी राजनीति गर्नेहरु समाजलाई राम्रो परिणाम दिन लागेका छाँै । कति राजनीतिकर्मी त आए, जागीर खाने जसरी समय बिताएर गए । हामी सामाजिक–सांस्कृतिक विभेदविरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा आइसक्यौँ । संविधानसभाबाट संविधान लेखिसक्यौँ ।

कानूनी हिसाबले संविधानको धारा २४ र धारा ४० हेर्दा सबै खालको विभेदको अत्य भइसक्यो । वर्गबिहीन समाजवादउन्मुख राज्यसत्ताको लागि लडाइँ भएको आधार इलाका नै हाम्रो भूभाग हो । त्यो भूभागमा पनि जातीय विभेदको अवशेष ज्यूँका त्यूँ छ ।

जातीय विभेदभन्दा पनि मानवताविरुद्धको ठूलो अपराध हो त्यो । दिनदहाडै छ–छ जना मान्छे कत्लेआम गरेको छ नि त ! मारेर फरक–फरक समयमा नदीमा फालिएको छ । भेरी नगरपालिकाले यो कुरालाई गम्भीर रुपमा लिएको छ ।

साँच्चिकै ‘राम राज्य’ बनाउने हामीले हो । दोषीलाई कारवाही गर्ने सन्दर्भमा निर्दोषहरु फस्ने काम कदापि हुनुहुँदैन । प्रतिशोधको भावना राखिने छैन भन्ने आवाज मैले उठाइरहेको छु ।

अहिले पुर्पक्षका लागि जेल चलान भइसक्दा पनि म भन्छु– कोही निर्दोष परेका छन् भने निर्दोष फस्नुहुँदैन । न्यायपालिकाले धेरै कुरा अघि बढाइसक्यो । यस्ता घटनामा प्रतिशोध साध्नु हुँदैन । त्यसो भयो भने भोलि समाजको स्वरुप अर्कातिर जान्छ । संविधान र कानूनबामोजिम अपराधीले सजाय पाउनुपर्छ । निर्दोष फस्नु हुँदैन ।

जातिभेदविरुद्ध विशेष अभियान

संविधानले व्याख्या गरेको छ– जातीय विभेदमुक्त समाज । हामी पनि आमूल परिवर्तन भन्छौँ नि ! हाम्रो सोच र समाज यही हो । हामीले यहीभित्र रहेर खेल्ने हो । एकैपटक जादूजस्तो त हुँदो रहेनछ । कतिपय कुरा त पुस्तौँपुस्ता पनि लाग्छ ।

भेरी नगरपालिकाले जादूगरी परिवर्तन दिन नसके पनि संविधानका धाराहरु धारा २४, धारा ४०, त्यसका उपधाराहरु अरु अनुुसूची कार्यान्वयन गर्न हामी गाउँ–गाउँ जान्छौँ । कहिलेकाहीँ त हामीले ढंग नपुर्‍याउँदा, शैली नमिलाउँदा त्यसले उल्टो दिशातिर लैजान्छ । हामी मान्छेलाई मनाउँदै जान्छौँ । अनुरोध गर्छौँ, ‘जनताका प्रतिनिधिले बनाएको संविधानलाई हजुरहरुले नै नमान्नु हुँदैन । सबैको रगत रातो छ । अनि किन यस्तो गर्नु ?’  त्यही ढंगले सूचकहरु तयार पारेका छौँ । मेरो बाँकी कार्यकालभरिमा म एउटा तरंग दिएर जान्छु । अब मसँग डेढ–दुई वर्ष मात्र बाँकी छ ।

(जाजरकोट सदरमुकाम भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती मगरसँग माधव ढुङ्गेलले गरेको संवादमा आधारित ।)

 

 

 

 

 

प्रकाशित मिति: : 2020-07-15 10:24:00

प्रतिकृया दिनुहोस्