मोहनशमशेरले भने–विपीलाई एकपल्ट सम्झाइदिनू

मेरी माताजी नलिनीदेवी विपीका माइला बुबा नारायणप्रसादकी कान्छी छोरी हुनुहुन्थ्यो। त्यसैले हाम्रो सम्बन्ध पारिवारिक थियो। तर, हाम्रो परिवार राणाजीको महलमा काम गर्ने। त्यही भएर २००७ सालअघि दूरी केही बढ्न पुग्यो। यसै क्रममा हाम्रो घरमा विराटनगरकी ठूलीआमा जनककुमारीका छोरा तीर्थप्रसाद अधिकारी बस्न आउनुभयो। 

एक दिन बेलुकीपख तीर्थप्रसादले विपीले लेखेको सानो कागज पिताजी राममणिलाई देखाउनुभयो। त्यसमा लेखिएको थियो, ‘एकपटक भेट्न आऊ।’ पत्र देखाउँदै तीर्थ दाइले पिताजीलाई सोध्नुभयो, ‘के गरौं? जाऊँ कि नजाऊँ?’

त्यो समय विपीको नाममा एक प्रकारको गोप्य वारेन्ट थियो, काठमाडौंमा। त्यस्तो अवस्थामा पनि पिताजीले तीर्थलाई भेट्ने स्वीकृति दिनुभयो। केही दिनपछि विपी पक्राउ पर्नुभयो। जेलमै अक्षय तृतीयाको दिन पारेर विपीले भोक हडताल थाल्नुभएछ। दुई–चार दिन त्यसै बित्यो। तर, त्यो खबर भारतका प्रशासककहाँ पुर्‍याइएपछि माथिबाट दबाब पर्न थालेछ।

एक दिन पिताजीलाई मोहनशमशेर (तत्कालीन राणा प्रधानमन्त्री) को दरबारबाट बोलावट आयो। त्यतिबेला पिताजीलाई मोहनले ‘सर्दारी’ दर्जा त दिएका थिए तर दीक्षित परिवारबाट अधिक महत्व नरेन्द्रमणिले पाउनुभएको थियो। 

पिताजीलाई विपीको विषयमा कुरा गर्न बोलाइएको रहेछ। त्यतिबेला मोहनशमशेर आफ्ना दुई छोरा शारदा र विजयसँगै बसेका थिए। पिताजीलाई देख्ने बित्तिकै भनेछन्, ‘ए राममणि! तिम्री बाहुनी कोइरालाकी छोरी होइनन्? हेर, विपीले नचाहिँदो हठ गरेर केही दिनदेखि केही पनि खाएका छैनन्। बाहुनको छोरा, मर्लान् भन्ने पिर परेको छ। एकपटक तिमीले तिनलाई सम्झाउनू, दुलहीलाई पठाइदेऊ।’

मोहनशमशेरको कुरा सुनेपछि पिताजीले तुरून्त बिन्ती चढाउनुभएछ, ‘सरकार! हामी सरकारको सेवामा लागेका, विपीहरू सरकारविरूद्ध संघर्ष गर्ने। हाम्रो नाता–सम्बन्ध भए तापनि मेरी पत्नीले गरेर केही हुँदैन जस्तो लाग्छ।’ 

त्यसपछि उहाँ उम्किनुभयो। २००७ साल अगाडि विपीलाई भारतको ठूलो दबाबले जेलमुक्त गर्नुपर्‍यो। उसको उद्देश्य थियो, विश्वको बदलिँदो राजनीतिक वातावरण र स्वतन्त्र भारतको कार्यपद्धतिबारे राणा सरकारलाई विस्तुत जानकारी गराउने। 

आफूले दिएको सल्लाह मोहनशमशेरले नमान्ने लक्षण देखेपछि, एकातिरबाट जनतालाई राणा शासनविरूद्ध उभिन मद्दत गर्ने, अर्कोतिरबाट राजदरबारभित्र हात बढाएर राणालाई आफ्नो अनुकूलको बनाउने रणनीति भारतबाट चालिन लाग्यो।

राजा त्रिभुवनको भारतीय दूतावास प्रवासपछि भारतीय पदाधिकारीको केही गह्रँगो व्यवहारबाट नेपाली कांग्रेसलाई नेपालको सार्वभौमसत्ता दिल्ली दरबारमा नबुझिँदो रुपले झुकेको महसुस भएको विपीको आत्मवृत्तान्तमा उल्लेख छ। 

त्यसो त त्रिभुवन पनि राणा शासनसँग भित्रभित्रै चिढिएको अवस्था थियो। राजदरबारलाई ‘प्रजातन्त्र’भन्दा पनि आफू राणाशाहीको बन्धनबाट मुक्त हुने चाहना तीब्र थियो। भारतले यो कुरा पत्ता लगाएपछि शाह परिवारलाई आफ्नो संरक्षणमा ल्याउने र त्यसको निमित्त जनतालाई विद्रोह गर्ने अवसरलाई प्रश्रय दिने रणनीति अवलम्बन गर्यो। 

२००७ साल अगाडिको क्रान्ति, विशेष क्रान्ति नभई भारत सरकारको एक योजना थियो। त्यसैमा नेपाली जनता, नेपाली कांग्रेस रुमलिन पुगे। 

आफ्नो मध्यस्थतामा राणा सरकारका प्रतिनिधि तथा राजा त्रिभुवनबीच सम्झौता पत्रमा हस्ताक्षर भएलगत्तै भारतले आन्दोलन स्थगित भएको घोषणा गर्यो। अनि मात्र नेपाली कांग्रेसका नेताहरूको आँखा खुल्यो। 

वास्तवमा २००७ सालमा प्रजातन्त्र स्थापना हुनुको साटो राणाशाहीको हातबाट नेपालको भविष्य भारत सरकारको हातमा सरेको थियो। राजाको  सल्लाहकारका रूपमा भारतले आफ्नो व्यक्ति राखेपछि त मन्त्रिपरिषद् गठनलगायत सानातिना काममा पनि दिल्लीको मुख हेर्नुपर्ने परिस्थिति कायम भएकै थियो। त्यसैले गृहमन्त्री भएका बेला पनि विपीको ह्दय खुलेको अनुभव गर्न पाइएन। 

यो पनि हेर्नुहोस्

प्रकाशित मिति: : 2020-09-09 08:20:00

प्रतिकृया दिनुहोस्