ढल निकास नहुँदा जलमग्न भए काठमाडौंका सडक

रासस

काठमाडौं

 नियमित वर्षाका कारण काठमाडौं उपत्यकाका धेरै स्थानमा सडक जलमग्न हुँदा सवारी चालक र यात्रुलाई आवतजावत गर्न गाह्रो भएको छ। उपत्यकाका मुख्य र सहायक सडकमा कतिपय घर र पसलभित्रै पानी पस्न थालेको छ।

उपत्यकाका सुन्धारा, बालुवाटार, तीनकुने, कुमारीपाटी, तीनकुनेलगायत स्थानमा सवारी साधन नै डुबिरहेको देख्न सकिन्छ। वाग्मतीलगायत नदीको बहाव बढ्दा करिडोरमा पानी जमेको छ। उपत्यकामा रहेको ढल साँघुरो र नियमित मर्मतका अभावमा यस्तो समस्या देखिरहेको छ।

भौतिक संरचनाको निर्माणको जिम्मेवार कुन निकायको हो भनी स्पष्ट भए पनि ढल निर्माणको काम धेरै निकायले गरिरहेकाले समन्वयका कारण वर्षेनी यो समस्या दोहोरिरहेको हो। ढल प्रणाली पुरानो भएको तथा  पुरानो र नकुहिने वस्तु पस्दा पानी ढलमा नगएर सडकमै जम्मा भएको खानेपानी तथा सरसफाइ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए।

ढल जाम हुनेलगायत समस्या आउँदा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले नै उपकरण लगेर ढल खुलाउने काम गरिरहेको छ। उनले भने, 'अहिले पनि समस्या देखिएका ठाउँमा केयुकेएलले खुलाइरहेको छ।'

ढल निर्माणको मुख्य जिम्मेवारी खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागको भए पनि सेवा प्रदायक संस्थाबीच समन्वय हुन नसक्दा समस्या आउने गरेको छ। स्थानीयवासी पनि कुन निकायलाई उजुरी गर्ने भन्नेमा अन्योलमा छन्। ललितपुर, गाबहालका राकेश श्रेष्ठ यस क्षेत्रमा वर्षेनी पानी जम्ने गरे पनि त्यसतर्फ कसैको ध्यान नगएको बताए। पानी पसलभित्र पस्दा धेरै क्षति हुने गरेको बताउँदै उनले भने, 'हामीले चिन्ने ललितपुर महानगरपालिका हो तर उसले आफ्नो क्षेत्र हैन भन्दै टार्ने गरेको छ।'

ढल निर्माण र सुधारमा समन्वयको अभाव रहेको खानेपानी मन्त्रालयका प्रवक्ता शाक्यले बताउनुभयो। ढल निर्माणका काम विभिन्न निकायले गरे पनि त्यसको मर्मतलगायत काम खानेपानी मन्त्रालयले नै गर्दै आएको छ। ढल निर्माणको काम जुनसुकै निकायले गरे पनि समस्या आउँदा यही मन्त्रालयलाई सोधिने उनले बताए।

ढल निर्माण मात्रै गरेर नहुने हुँदा कुन पाइपलाई कहाँ लगेर जोड्ने कसरी निकास गर्ने भन्ने तय गर्न आपसी समन्वयको खाँचो पर्छ। उनले भने, 'खानेपानी र सरसफाइका दक्ष जनशक्ति हाम्रो मन्त्रालयमा रहेको र लाइन मिनिष्ट्री भएकाले सल्लाहमा काम गर्नुपर्ने हो।' 

विगतमा सडक विभागले धेरै स्थानमा ढल बनाए पनि समन्वय नहुँदा समस्या आउने गरेको थियो। अहिले काठमाडौंका कतिपय स्थानमा समन्वयमा निर्माण भइरहेको र ती स्थानमा पानी जम्ने समस्या नभएको प्रवक्ता शाक्यको जिकिर छ। यस वर्ष पुतलीसडक, त्रिपुरेश्वरलगायत स्थानमा आपसी समन्वयमा ढल निर्माण भएको थियो। उनले भने, 'गत वर्षहरुमा बढी गुनासो आउने गरे पनि यस वर्ष गुनासो आइरहेको छैन।'

कुन सडकमा कसले ढल निर्माण गर्ने भन्नेमा नै स्थानीय तह अन्योलमा छन्। सडकका विषयमा आठ मिटर सडकसम्म सङ्घीय सरकारले र त्यसभन्दा कम चौडाइको स्थानीय सरकारले निर्माण गर्ने जनाइएको छ। कुन सडकमा कसले ढल निर्माण गर्ने भनी टुङ्गो नभएको पालिकाले बताउँदै आएका छन्। सामान्यतया ठूला चौडाइका सडकमा सङ्घीय सरकार र कम चौडाइमा स्थानीय सरकारले ढल निर्माणको काम गर्दै आएका छन्। स्थानीय तहले ढल निर्माण गरेका स्थानमा पनि मर्मतमा भने ध्यान दिएको पाइँदैन। 

ढलको समस्या काठमाडौं उपत्यकाका नगर क्षेत्रसँगै नयाँ बनेका नगरपालिकामा समेत देखिरहेको छ। ग्रामीण बस्तीमा शहरीकरणसँगै फोहरपानीको व्यवस्थापनको समस्या देखिरहेको हो। पानीको उचित निकास नहुँदा वर्षाका समयमा काठमाडौं उपत्यकाका धेरै सडक डुबानमा पर्ने र स्थानीयवासीको घरभित्रै पानी छिर्ने  समस्या हुने गरेको छ। काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउँदा फोहरपानीको मात्रा अझै बढ्ने देखिएको छ। 

अहिले काठमाडौंका मुख्य सडकमा ढल भए पनि आवश्यकताभन्दा कम आकारका भएको केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए। उनका अनुसार अहिले मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयले मुख्य नदीमा पानी प्रशोधन केन्द्र र खोला नजीकै ढल निर्माण गरिरहेको छ।

मेलम्चीको पानी उपत्यकामा आएपछि ढलको समस्या अझै बढ्न सक्ने भएकाले खोला छेउमा जस्तै ढल निर्माण उपत्यकाका मुख्य र सहायक सडकमा पनि गर्न आवश्यक छ। उनले भने, 'यसका लागि सबै क्षेत्र समेटेर गुरुयोजना नै चाहिन्छ।'

पानीको व्यवस्थापनका लागि केयुकेएल, आयोजना कार्यान्वयन निर्देशनालयले चार स्थानमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ। गुहेश्वरी, सूर्यविनायक, बालकुमारी र सुन्दरीघाटमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको हो। वाग्मती र त्यसका सहायक नदीमा कतै एकीकृत वाग्मती सभ्यता विकास आयोजना र कतै आयोजना कार्यान्वयन निर्देशनालयले ढल निर्माण गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-07-21 16:42:11

प्रतिकृया दिनुहोस्