प्रशिक्षणका लागि तयार रहन खेलाडीलाई एन्फाको निर्देशन

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) खेलाडी प्रशिक्षणको तयारीमा जुटेको छ। कोरोना भाइरस सङ्क्रमण महामारीका कारण फुटबल प्रशिक्षण गत चैत महीनादेखि रोकिएको थियो।

एन्फाले राजधानीमा तथा बाहिर रहेका राष्ट्रिय फुटबल टोलीका सबै पुरुष खेलाडीलाई प्रशिक्षणका लागि तयार रहन निर्देशन दिएको छ। राष्ट्रिय फुटबल टोलीका सबै पुरुष खेलाडीलाई यही १७ साउनसम्म काठमाडौं बोलाइएको एन्फा प्रवक्ता किरण राईले बताए।

१७ देखि ३० साउनसम्म प्रशिक्षणका लागि आउनै सबै खेलाडीलाई क्वारेन्टिनमा राखिने उनले बताए। राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आगामी १ भदौदेखि प्रारम्भ हुनेछ। उक्त प्रशिक्षण एन्फा कम्पलेक्स सातदोबाटोमा गरिने प्रवक्ता राईले उल्लेख गरे। खेलाडीलाई क्वारेन्टिनमा राखी उनीहरूको पीसीआर परिक्षण गरिने छ। त्यसकै नतिजाअनुसार खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइनेछ।

सरकारले २०७६, ११ चैतदेखि बन्दाबन्दी लागू गरेको थियो। त्यसलगत्तै फुटबल प्रशिक्षण पनि रोकिएको थियो। सरकारले बुधबार बन्दाबन्दी खुला गरेसँगै एन्फाले खेलाडी प्रशिक्षणको प्रक्रिया अघि बढाएको हो। खेलाडीका लागि प्रशिक्षण अति आवश्यक भएकाले आफूहरु सरकारको निर्णयको पर्खाइमा रहँदै आएको राईले बताए।

नेपालले विश्वकप छनोटअन्तर्गतको खेलका लागि प्रशिक्षण थाल्नेछ। यसअघि एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु गर्नका लागि युवा तथा खेलकूद मन्त्रालय मार्फत कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सित अनुमति मागेको थियो। एन्फाले फिफा विश्वकप–२०२२ र एएफसी एसियन कप–२०२३ को छनोट प्रतियोगिताको तयारीका लागि अनुमति मागेको थियो।

कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित भएको छनोट खेलहरू आगामी अक्टोबर र नोभेम्बरमा गराउने एसियाली फुटबल महासङ्घ (एएफसी) ले फिफालाई प्रस्ताव गरेको छ। स्थगित भएका खेलहरू आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने भनिएको छ।

दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ। ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ। नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ। समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ। नेपालले चाइनिज ताइपेईलाई हराएको थियो। अन्य चार खेलमा पराजित भएको थियो।

खेलाडीहरु प्रशिक्षण गर्न पाउने भएपछि उत्साहित भएका छन्। लामो समयदेखि प्रशिक्षणको पर्खाइमा रहेको र अब केही राहत मिलेको राष्ट्रिय फुटबल टोलीका खेलाडी विक्रम लामाले बताए। बन्दाबन्दी खुलेसँगै खेल्ने वातावरण बन्नेमा आफू आशावादी बनेको उनले बताए।

घरेलु मैदानमा हुने तीन खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने नेपाली खेलाडी सामु चुनौती रहेको उनको बुझाइ छ। नेपाली टोलीले अबका खेलमा आफ्नो प्रदर्शनमा सुधार ल्याउने लामाले बताए।

पुरुष टोलीलाई प्रशिक्षका लागि तयारी अवस्थामा रहन एन्फाले निर्देशन दिए पनि राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षणको भने कुनै टुङ्गो छैन।

राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले महिला खेलाडीको प्रशिक्षण अन्योलमा रहेको बताइन्। प्रशिक्षणबारे कुनै जानकारी प्राप्त नभएको उनले बताइन्।

भण्डारी सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आवद्ध छन्। एपीएफमा आवद्ध धेरै खेलाडीहरु नेपाल–भारत सीमाको सुरक्षार्थ खटिएको भण्डारीले जानकारी दिइन्। रासस

प्रकाशित मिति: : 2020-07-23 22:14:31

प्रतिकृया दिनुहोस्