लकडाउन गर्ने अवस्था छैन, सावधानी अपनाऔं : मुख्यमन्त्री गुरुङ

२१ साउन, पोखरा । गण्डकी प्रदेशमा लकडाउन खुलेपछि मात्रै करिब २ सय जना कोरोना संक्रमित थपिएका छन् । १३ दिनको अवधिमा थपिएको यो संख्या लकडाउनअघिको परिस्थितिमा भन्दा धेरै हो ।

गण्डकी प्रदेशमा अहिलेसम्म २५ हजार २ सय ९२ जनाको स्वाब परीक्षण भएको छ । जसमध्ये साउन सात गते लकडाउन खुल्नुभन्दा अघिसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ४५ थियो । अहिले यो संख्या १ हजार ५ सय ५२ पुगेको छ । त्यसमा पनि पछिल्लो समय ट्राभल हिस्ट्री नभएका र स्रोत फेला नपरेका संक्रमित बढिरहेका छन् ।

स्याङ्जामा ४१ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो । प्रहरी हिरासतबाट थुनामुक्त भएका व्यक्तिको परीक्षण नगरी छाडिदिँदा पुतलीबजारमा मंगलबार कोरोना अरु समुदायका व्यक्तिमा पनि फैलियो ।

प्रहरी कर्मचारीलाई कोराना संक्रमण देखिइसकेपछि थुनामुक्त भएका १ जना व्यक्तिको सम्पर्कमा आएका ८ जनामा कोरोना संक्रमण पुष्टि भयो । थुनामुक्त भएका व्यक्तिका परिवारमा ४ जना र उनका साथी ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

वालिङमा सोमबारमात्र स्वास्थ्य संंस्थामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भयो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भन्छन्- प्रोटोकलअनुसार परीक्षण बढाइरहेका छौं । सबैजना सचेत रहने हो । अब कुनै पनि हालतमा अब लकडाउन गर्ने भन्ने कुरा आउँदैन

तनहुँमा आइतबारमात्र एक गाउँपालिका अधिकृतलाई नै कोरोना देखियो । पर्वत जिल्ला अस्पताल, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेजमा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखियो ।

पछिल्लो समय कोरोना संक्रमणको दरमात्रै बढिरहेको छैन, ट्राभल हिस्ट्री तथा स्रोत नै नभेटिएका संक्रमितको संख्या पनि बढिरहेको छ । स्याङ्जामा मात्र समुदायका ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।

कुल संक्रमित संख्याको ८ प्रतिशतभन्दा बढी ट्राभल हिस्ट्री तथा स्रोत फेला नपरेका छन् । जिल्लाका क्वारेन्टाइनहरु बिस्तारै खाली हुँदै गइरहेका छन् । अहिले गण्डकी प्रदेशका क्वारेन्टिनमा १ हजार १६ जनामात्र छन् । गण्डकी प्रदेशभित्र १ सय ९१ जना आइसोलेसनमा छन् ।

लकडाउन खुलेर बिस्तारै बजारमा चहलपहल बढिरहेका बेला देशभर नै संक्रमितको दर बढिरहेको छ । संक्रमितको दर बजेसँगै कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरिसकेको छ । अझै जनस्तरमा कोरोना फैलिने हो कि भन्ने डर सर्वसाधारणमा छ ।

प्रकाशित मिति: : 2020-08-05 12:12:37

प्रतिकृया दिनुहोस्