जिउँदै स्वर्गमा पाइला टेक्दा...

खुट्टा दुखेर हिँड्नै नसक्दा पनि पदयात्रा त्यागिनँ

नियात्रा

बाल्यकालदेखि नै मेरा बोन्पो मामाहरूले सुनाउनु भएको ‘स्वर्ग’ अर्थात गोसाइँकुण्डको दर्शन गर्न पाउने भएपछि म उत्साहित भएँ। त्यो स्वर्ग पुग्ने वातावरण मिलायो हाम्रै संस्था ‘रसुवा–नुवाकोट पर्यटन समाज’ले ।  गोसाइँकुण्ड यात्रामा निस्कनु अघि मामाले भनेको सम्झिएँ, ‘धर्तिमै स्वर्ग छ। त्यो कतै नभई हाम्रै रसुवाको गोसाइँकुण्ड क्षेत्रमा छ। यदि हामीले गोसाइँकुण्डसँगै १०८ वटा कुण्डको दर्शन गरेमा पुण्य कमाइन्छ। हाम्रा सबै पाप पखालिन्छन्।’ 

विडम्बना ! ती मामा गोले जातिका बोन्पो भएको र उहाँका कुनै पनि सन्ततिले गोसाइँकुण्डको दर्शन गर्न नपाउने पीडा सुनाउनु भएको थियो। रसुवा, नुवाकोट र अन्य छिमेकी जिल्लाबाट हरेक वर्ष भदौरे मेलाका दिन तामाङ जातिका सयौं बोन्पोहरू गाउँलेसँगै गोसाइँकुण्डमा दर्शन गर्न आउँछन्। ती बोन्पोहरू आआफ्ना तन्त्रमन्त्रको प्रयोग सिद्द गर्छन र प्रदर्शन गर्दछन्।  

त्यसो त मैले पहिला नै १०८ वटै कुण्डको दर्शन गर्ने जमर्को नगरेको होइन, तर त्यतिखेर समय र बासस्थानको बन्दोबस्त मिलाउन नसकेर यात्रा रद्ध गर्नु परेको थियो। यसपाली चाहि मलाई ढुङ्गा खोज्दा देवता मिलेजस्तै भयो। बाल्यकालदेखिकै इच्छा पुरा गर्न पाउनुका साथै नयाँ पर्यटकीय गन्तव्य पनि अवलोकन गर्न पाइने कारण म हर्षित भएँ। भनिन्छ नमरी स्वर्ग देखिँदैन। पुण्य कमाउन सत्कर्म र धामहरूको दर्शन गर्नु पर्छ। 

हाम्रो ‘राउचुली–गोसाइँकुण्ड पदमार्ग’को अध्ययन भ्रमणमा जाँदा जिउँदै स्वर्ग देख्न पाइने र पुण्य पनि कमाउन पाइने लोभले रोमाञ्चित बनेको थिएँ। 
यात्राको तयारी 


हामी तीन भाई गगनराज न्यौपाने, ऊर्जा तामाङ र म अध्ययन भ्रमणको तयारीमा जुट्यौं। सिंगो संसार कोरोनाको महामारीमा जुधिरहेका बेला हामीले भने लकडाउनका कारण खुम्चिएका हाम्रा मांशपेशि तन्क्याउने पाउने भयौ। समाजका अध्यक्ष आदरणीय बलराम न्यौपाने दाईको कोरोनाले थलिएको पर्यटन ब्यवसायलाई केहि सकारात्मक संदेश दिने इच्छालाई पुरा गर्न तम्सियौ। देशैभर बन्दाबंदी थियो, काठमाडौमा जोरबिजोर प्रणालीमा सवारी यातायात चलाउन सरकारले नियम लगाएको थियो।

हामी एक जिल्लाबाट अर्को जिल्लामा जानु पर्ने भएकाले सरकारबाट अनुमति लिनु पथ्र्यो। त्यसका लागि नेपाल पर्यटन बोर्डको संचालक सदस्य दीपक महत दाईले आवश्यक सिफारिस बनाई दिनु भयो। ऊर्जा र म जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गयौं। बिहान १० बजे देखि ३ बजेसम्म कुरे पछि पनि हामीले यात्रा अनुमति पाएनौ। हामिले यात्रामा कुनै सवारी साधनको प्रयोग हुँदैन भन्ने व्यहोराको चिठ्ठी लेखेकाले पास पाइएन। सिडिओ साबलाइ हाम्रो चिठ्ठि राम्ररी पढ्ने र मर्म बुझिदिने फुर्सद कहाँ हुन्थ्यो र? हामी रित्तै फर्कियौ।  

हामीले यात्राको तयारी पुरा गरिसकेको थियौ। जसरी भए पनि अनुमति लिएर जाने निधो गरेका हामी सिडिओ कार्यालयबाट निरास भयौं। पदमार्गमा २ वटा निकुञ्ज हुँदै जान्ुपर्ने भएकाले वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट र पर्यटन विभागबाट अनुमति पत्र लियौं। 
यात्रामा म लगायत गगनराज, ऊजा, अशोक सिलवाल र सुरेन्द्र रानाका साथै टोली नेता शिव लामिछाने थियौं। असार ११ गते राती हामीले आवश्यक सामान किनेर अफिसमा राख्यौं। 

पदयात्राको शुभारम्भ 


नयाँ ठाउँ जाने भएकाले मनभरी उत्सुकता र जिज्ञासाले म रातभरी सुत्न सकिनँ। त्यहि भएर असार १२ गते बिहान ४ बजेनै अफिस पुगें। यात्राका लागि चाहिने टेन्ट, इपि ग्याँस स्टोभ, कोफेल सेट, पानी छान्ने फिल्टर, जिपिएस, स्याटलाइट फोन आदि निःशुल्क हाम्रो कम्पनीबाट दिने बचन दिएको थिएँ। त्यही अनुरुप सबै समान तयार गरें। 

त्यसपछि यात्राका अन्य सदस्यलाई क्रमशः पिकअप गर्दै हाम्रो यात्रा सुरु गरियो। हामीलाई नुवाकोट जिल्लाका नेता रमेश महतज्युले उहाकै कार्यालयमा बोलाएर चिया र बिस्कुट खुवाउनु भयो र शुभकामना दिनु भयो। समाजका अध्यक्ष बलराम न्यौपानेले हामीलाई मुहानपोखरीसम्म पुर्‍याउनु भयो। र यात्रा सफलताको कामना गर्नु भयो। 

मुहानपोखरीस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको चेक पोस्टबाट हाम्रो यात्रा विहान करिव ९ बजे सुरु भयो। 

मनसुन, असारको महिना। दिनभर पानी परिरह्यो। सुनसान जंगलको बीच बाटो हुँदै रमाइलोसँग पदयात्रा गरियो। विस्तारै यात्रा उकालो लाग्दै जाँदा जुकाले पनि खुब आक्रमण गर्दै थियो। जुकाले टोके पनि, शिवपुरी निकुञ्जुभित्रको प्राकृतिक सौन्दर्य र यात्राको थप उत्साहले गर्दा ढुंगा ओच्छाइएका सिँढी उक्लेको पत्तै भएन। बीच जंगलको बाटो हुँदै चाप भञ्ज्याङ (२३००मि) पुगेर एकछिन बाटो अलमलियो। त्यसपछि करिब १ घण्टा ओरालो गोरेटो पहिल्याउँदै बेलुकिपख सैनिक चेक जाँचको ब्यारेक पुगियो। हामीलाई क्याप्टेन साबले अल्छे रिसोर्टसम्म साथ दिनु भयो। 

शिवपुरी गाउँपालिका–४ का अध्यक्ष झमक गुरुङले न्यानो आथित्य तथा स्वागत गर्न कुनै कसर छोड्नु भएन। अत्यन्तै सक्रिय, बिकासप्रेमी र युवा जनप्रतिनिधि गुरुङले हामीलाइ मिठो खाना मात्र खुवाउनु भएन, उहाँका बिकास योजनाहरू, स्थानीय स्रोत साधनको समेत जानकारी दिनु भयो। नजिकैको झर्ना अवलोकन समेत गराउनु भयो।   

पहिलो दिन हाम्रो क्यम्पिङ सामान र खानेकुरा हामीले बाँडीचुँडी बोकेका थियौं। त्यही कारणले होला, दोस्रो दिन सबै जना थकित थियौ। त्यही माथि शिवपुरी जंगलको ओरालो हिँड्दा मेरो देब्रे घुँडाको लिगामेंन्टमा समस्या देखियो जसका कारण हिँड्न गाह्रो भइसकेको थियो। ओरालो हिंडदा धेरै पीडा महुसस गरेको थिएँ।   दोस्रो दिन वडाअध्यक्षले हामीलाई १९ बर्षे जीत बहादुर तामाङ सहयोगी भाइ जुटाइदिनु भयो।

भोक भन्दा भोजन मिठो


ब्रेकफास्ट पछि विस्तारै दोस्रो दिनको यात्रा सुरु भयो। भारी निकै हलुका भयो। भविस्यमा के बन्ने सोध्दा, म त लाउरे बन्ने हो दाई भन्दै फूर्तिसाथ जवाफ दिन्थें। 

विस्तारै कच्चि बाटो, गाँउ, हुदै खेत रोपिरहेका गाउँलेको दृश्यावलोकन गर्दै हाम्रो यात्रा अघि बढिरह्यो। जसो दोस्रो दिन लडीबुडी गर्दै करिब २ घण्टा उरालो हिँडें। लिखु खोलाको झोलुंगे पुल तरेर केहि माथि पुग्दा खसी धमाधम खुइल्याउँदै गरेको भेटियो। कुरो बुझ्दा त बाघले झम्टेर मारेको रहेछ। ब्रेकफास्टको फूर्ति सकिसकेको थियो। झरी पनि बेस्सरी पर्न लाग्यो। एकैछिन नजिकै घरमा चिया खाजा खाएर आराम गर्ने सोच बनायौं। 
ऊर्जा र गगनको साथ दिँदै, खसीको झोल र भात खाने भन्ने सबैको सल्लाह मिल्यो। 

टोलि नेता शिव लामिछानेज्यु तम्सिहाल्नु भो मसला पिस्न। झोल मासुको तरकारी पकाउने जिम्मा मेरो भन्दै अघि बढें। भोक पनि असाध्यै लागेको थियो। मज्जाले मासुको झोलभात खाइयो। स्वाद अलिक फरक थियो, सायद बाघले जुठो पारेको भएर हो कि? जे होस भोजन भन्दा भोक मिठो ।
त्यहि खसीको सुपले गर्दा होला, नेपाने गाउँसम्म राम्ररी हिँड्न सकें। त्यस पछि मेरो हिँडाई पुनःसेलायो, विस्तारै जसोतसो म लगायत अशोकजी र सुरेन्द्र दाई राती अवेरसम्म मानेभञ्ज्याङ (१८०० मि) पुग्यौं। 

निकै रमाइलो भञ्ज्याङ जहाँबाट शिवपुरी, कुटुमसाङ, घोप्टे भिर, राउचुली,  छ्यार्कुङचुली देखिँदो रहेछ। 

पुरानो सुन्दर तामाङ बजारमा गगन, ऊर्जा र शिवजी पहिला नै पुगेकाले हामी पुग्ने बित्तिकै खाजा खान पाइयो। 

मानेभञ्ज्याङ पुग्दा मेरो देब्रे खुट्टा सुन्नि सकेको रहेछ र दुखाई पनि झनझन  बढदै गइरहेको महसुस भयो। दुखाइको कारण त्यस रात सुत्नै सकिएन। पानी झमझम परेको, सबै साथी मस्त निद्रामा, म भने रातभर टनटन खुट्टा दुखिरहेको सहेर बसें। 

बल्ल तेस्रो दिन मन मनै सोचे। गगन र सुरेन्द्र दाईले दिएको झंडूबाम र मुभ लगाउँदा पनि खासै दुखाई कम भएन। यता पल्टिँदा, उता पल्टिँदा बिहान भइसकेछ। 

सम्झिँदा अझै दिनहरू लामा छन्। अप्ठेरो यात्रा त पुरै बाँकी छ। एक मनले त्यहीँबाट फर्कने सोच पनि बनाएँ। सहयात्रीले पनि फर्कन सुझाएका थिए। म भने ‘बरु श्वास छोड्नु साथ नछोड्नु’ भन्ने मानसिकताका साथ तम्तयार भएँ। एक त बाल्यकालदेखि सुन्दै आएको १०८ कुण्डको दर्शन गर्नुछ, अर्को टेन्ट, इपि ग्याँस, स्टोभ चलाउन जान्ने टिममा खासै कोहि थिएन। सोचें ती सामान चलाउन नजाने सहयात्री बिचल्लीमा पर्नेछन्। त्यहि आवश्यकता देखेर भयङकर खुट्टा दुखिरहेको भए पनि हिँड्न सक्छु भनेर ढाँटिदिएँ। 

वास्तवमा मलाई असह्य पिडा भएको थियो, तर कसैलाई भनिनँ। 

समुन्द्रटारको स्वादिस्ट खाना 


अक्सर खुट्टाको दुखाई उकालो हिँड्न ओरालोमा झन दुख्छ। विहानको यात्रा ओरालो थियो। विहानको नास्ता पश्चात म, अशोकजी र सहयोगी भाई विस्तारै वाटो लाग्यौं। दुप्चेश्वर गाउँपालिकाका वडाध्यक्ष सन्च वहादुर तामाङजीले अन्य ४ जना शिवजी, गगन, ऊर्जा र शुरेन्द्र दाई केहि माथि ङार भ्युपोइन्ट अवलोकन तिर निस्के। दुखाइको पीडा सहँदै लट्ठीको सहारामा विस्तारै विस्तारै समुन्द्रटार पुगें म। 

दुप्चेश्वर गाँउपालिका अध्यक्ष योविन्द्र सिंह तामाङ र उपाध्यक्ष अञ्जु आचार्यले स्वागत गर्नभयो। यात्राको अन्तिम बजार भएको कारण छुटफुट आवश्यक सर(समान किनमेल गर्‍यौं। 

त्यहाँ मैले मेरो जीवनकै सबैभन्दा स्वदिष्ट ‘समुन्द्र भुजि चामल’को भात खाएँ।  गगनले मेरो दुखाइको स्थिति बुझेर गाउँपालिकाले समुन्द्रटारदेखि बाघमारासम्म गाडीको व्यवस्था गर्न अनुरोध गरेकाले मलाई ठूलो राहत मिल्यो। हामी छिट्टै भंगेरी गाउँमा पुग्यौं। बेलुकि जिसस प्रमुख सन्तमान तामाङ हामीलाई स्वागत तथा हौसला दिन विदुरदेखि आइपुग्नु भयो। उहाँलाई पहिला देखि नै एक पर्यटन व्यवसायीका रुपमा चिन्दथें। उहाँले भब्य रुपमा नास्तासहित खानपिनको राम्रो व्यवस्था गर्नु भएको थियो। बेलुकि अवेरसम्म हामीले पर्यटनका बारेमा भलाकुसारी गर्‍यौं। सन्तमान तामाङ र स्थानीय सिटौला दाईले त्यहाँको बस्तुस्थिति, इतिहास तथा गन्तव्यका बारेमा बिस्तृत जानकारी दिनु भयो। सिटौला दाई गोसाईकुण्ड क्षेत्रको किम्बदन्ती तथा इतिहासको राम्रो ज्ञाता हुनुहुँदो रहेछ। 

२० मिटर माथि उक्लिएपछि निकै रमणीय ठाउँ रहेछ बाघमारा। हरियाली सल्लाको जंगल छेउमा पर्यटन वोर्डको सहयोगमा निर्माणधिन समुदायिक लज रहेछ। 

बाघमारा काटेपछि गज्जबको खुला स्थानमा पुग्यौं। त्यहाँ बास बस्न केही कटेरा रहेछन्। अहो ! कति सुन्दर ठाउँ, बसिरहुँ जस्तै लाग्ने। तर के गर्ने यात्रा धेरै तय गर्न बाँकी नै थियो। 

पदमार्गका अभियन्ता छिरिङ दाई


केहि माथि पुग्दा छिरिङ्ग शेर्पा दाई हामीलाइ लिन आउनु भयो। उनका छोरो फूर्वा हाम्रा सहयोगी जो शिक्षक पनि हुन्। फूर्तिला फुर्वा कोरिया जाने तरखरमा छन , कोरोनाले केहि समय ढिला भएको रहेछ। छिरिङ दाई त्यस क्षेत्रको कणकण ज्ञानले भरिपुर्ण र लामो समय पर्यटन अभियन्ता पनि। धेरै वर्ष अघि गाविस अध्यक्षका  रुपमा राजनितिमा सक्रिय हुनु भएको। निकै जोशिला छिरिङ दाइ लामो समय यो पदमार्गको निर्माणमा जुट्नु भएको छ। शेर्पा दाई हाम्रो यात्राको मुख्य पथप्रदर्शक हुने भएकाले हामीलाइ निकै खुसी लाग्यो। संयोगले छिरिङ् दाई मेरो माध्यमिक स्तरमा गणित बिषय पढाउने शिक्षकको दाई हुनुहुँदो रहेछ। उहाँले आधा बाटोबाट मेरो झोला बोकी दिएर मलाई ठूलो गुन लगाउनु भयो। 

हामी करिब डेढ घण्टामा मालाभञ्ज्याङ (२१८५मि) लाङ्टाङ राष्ट्रिय निकुञ्जको चेक पोस्टमा पुग्यौं। छिरिङ दाइले आफ्नै घरमा लगेर हामीलाई मिठो मिठो खानाका परिकार खुवाउनु भयो। त्यो रात उहाँकै घरमा बास बस्यौं। विभिन्न परिकार मध्ये भुइँस्याउ चाहि विशेष लाग्यो। त्यसले सहयात्रीको कब्जियत निवारण गरि पेट सफा गर्न मद्दत गर्‍यो। 

बिहान हामी अगाडि यात्राको तयारमा लाग्यौं। सुरेन्द्र दाई भने रातभर पखालाले कैयौ चोटि बाहिर दगुरेको कुरा सुनाउनु भयो।
आजको यात्रामा हामीले कुण्डहरू भेटिने सुने पछि मन उत्साहित बन्यो। त्यो उत्साहले हिँड्ने ऊर्जा मिल्यो। मैले दुखाई बिर्सिएँ। नभन्दै करिब २ घण्टाको पैदलयात्रामा पछि पहिलो सागरकुण्डमा (२९०० मि) भेटियो। अचम्मको कुरा,  जंगलको बीचमा रहेको कुण्डमा रुखका एउटा पनि पात थिएनन्। छिरिङ दाइका अनुसार कुण्डमा झरेका पात चराले टिपेर सफा गर्छन् रे। 

किंबदन्ती अनुसार भगवान शिव र पार्वती यहि कुण्ड भएर गोसाइँकुण्ड गएका थिए रे। यसैगरि राउचुलीमा घ्याम्पेपानी भन्ने सानो कुवा रहेछ, जुन ढुंगाको बीचबाट निस्कन्छ र हामीले जति प्रयोग गरि पनि यस कुवामा पानीको मात्रा कम हुँदैन। अझै अचम्मको कुरा के सुनियो भने यो कुवाको पानी कहिल्यै सुक्दैन र धुप बालेर मात्र प्रयोग गर्नुपर्छ रे। 

त्यसै गरि यहि क्षेत्रमा ब्यास गुफा रहेछ जसमा करिब ५०० जनासम्म मान्छे अट्न सक्ने ओडार पनि छ। 

हाम्रो यात्रा अगाडि बढ्दै गयो। गुराँसे घनाजंगलको बाटो हँुदै विस्तारै रुख पात सकिँदै गयो। हामी खुइले डाँडा तिर पुग्यौं। ऊर्जाले मेरो केहि समान आफ्नो झोलामा थपेर बोक्न सहयोग गर्नुभयो।  

बीचमा एउटा गोठ भित्र पसेर चिया र केहि चाउचाउले थप बल आएपछि फेरी यात्रा सुरु गर्‍यौं। 

छिटफुट झरी परिरहेको, कुहिरोले लुकामारी खेल्दै गरेको डाँडाडाँडै, निकै उकालो ढुंगे सिढिको गोरेटो पहिल्याउँदै हामी राउचुलीको गोठमा पुग्यौं। मौसम अत्यन्तै चिसो, थकित ज्यान, सुन्दर पहाडको फेदमा (३७०० मि)मा हाम्रो बास।   

अति रमणीय प्राकृतिक सौन्दर्य, मनोरम दृश्य, हिमाली शृङ्खलाहरू र आश्चर्यजनक किंवदन्ती तथा रोचक कुवा, कुण्ड, ओडार आदिका कारण मैले त मेरो खुट्टाको दुखाई नै बिर्सिसकेको थिएँ। बेलुकी सुत्दा पो दुखाई महशुस भयो।  

खुकुरी धारको यात्रा र छ्यार्कुङचुली पिक


राउचुलीमा गोठको बास पछि फेरी नयाँ दिन उदायो। सम्भवतः ट्रेकको सबै भन्दा कठिन यात्राको दिन। फुसफुस झरी, बिहान चाउचाउको तातो सुप खाएर झोला, लट्ठी र रेनकोट ओढेर टोली तयार भयो।

केहि उकालोको यात्रा पछि ओरालो भिरको बाटो पछ्याउदै गयौं। बायाँतिर छङछङी भीर, माथि कहालिलाग्दो भीर। एकैछिनको ठाडो उकालो गोरेटो सकेर स्याउले पुगियो।

छिरिङ दाइले लामो बाटो ठाडै करिब ७ सय मिटर ओरालो पछि त्यतिनै उकालो चढ्न् पर्ने र करिब दुइ घण्टाको फरक पर्छ भन्नु भयो। त्यसैले छोटो खुकुरी धारको ठाडो बाटो पछ्यायौ। खुकुरी धार (४१६२ मि) सबैभन्दा खतरा धार हुँदै पार गरियो। सुरेन्द्र दाई लगायत केही साथी हातखुट्टा टेकेर अघि बढे। 

हामी केहि हिँडाइै पछि जोगी देउराली पुग्यौं। त्यहाँ आराम गर्‍यौं। भीरको बाटो सकियो भनेर खुसी भएको म, फेरी भीरकै बाटो हुँदै, चट्टानैचट्टानको बाटो पहिल्याउँदै, हिउँको बाटो हुँदै निकै संघर्ष गरेर झ्र्यार्कुङचुली भञ्ज्याङ (४५३६मि) पुग्यौं। 

पासबाट १५ मिनेट डाँडाडाँडै उक्लिएछि नुवाकोटकै अग्लो चुलि पुगिने रहेछ। छ्यार्कुङचुलीबाट देखिने ३६० डिग्री दृश्य, दर्जनौ हिमश्रृंखलाको दृश्य मलाई स्वर्ग धर्तिमा नै रहेछ भन्ने कुराको बोध भयो। मन प्रफुल्ल भयो। 

बेलुकिको बास छेडामा क्याम्पमा (४३६४मि) भयो। त्यहाँ ाहमीले टेण्ट टाागेर रात वितायौं। चिसोका कारणले होला, अशोकजी र शिब दाईलाई स्वास्थमा केहि खराबी देखियो। मैले न्याना कपडा र औषधि दिएँ।   

छेडाबाट गोसाईकुण्डसम्म हिँड्दा हामीले करिब १० वटा कुण्ड भेट्यौ। करिब ४००० मिमा एक्ले कुण्ड, राजारानी कुण्ड, नौकुण्ड, लामोकुण्ड, कामीकमिनि कुण्ड, सरस्वतिकुण्ड, भैरवकुण्ड र गोसाइँकुण्डहरू। 

कुण्डहरुको किनारतिर हिमाली रंगीचंगी फूल, बास्नादार बोटबिरुवा र चिसो हावाको लहरले हाम्रो गाला चुम्दाको आनन्द शब्दमा कसरी लेखौं? अझ गोसाइँकुण्ड र अन्य कुण्डहरूको किम्बदन्ती सुन्दा त अचम्मित भएँ। ती किम्बदन्ती र कथा सुन्दा थाहा पाएँ मेरो बोन्पो मामा किन गोसाइँकुण्डमा नआउनु भएको रहेछ भनेर। 

अग्ला पहाडको बीचबाट मुहान भएर निस्केका ती कुण्डको अमृत समान लाग्यो। त्यही भएर त होला भगवान शिवले गोसाईँकुण्डको पानी खाएर बिष पखालेको।  संयोगबस नै भन्नु पर्छ कि गोसाईँकुण्डको पानी अहिले बजारमा हिमालयन अनटपको नाममा महँगो शूल्कमा बेचिन्छ। अन्य साधारण मिनरल पानीको स्वाद र गोसाईँकुण्डको पानीबाट बनेको हिमालयन अनटपको स्वादमा आकाश पातालको फरक छ।

यहि अद्भुत विशेषता तथा अलौकिक क्षमताका कारणले त होला हरेक वर्ष हजारौ हिन्दू र बौद्ध धर्मालम्बीहरू पुण्य तिथिमा गोसाइँकुण्डको दर्शन गर्न आउँछन्। बिशेषतः तामांङ जातिका झाँक्री, साधु तथा योगी कुण्डमा आफ्ना अलौकिक शक्ति तथा तन्त्रमन्त्र सिद्ध गर्न आउँछन्।  

यस यात्रामा मैले पुण्य त कमाएँ कि कमाएँ थाहा पाइनं, मैले धर्तिमै रहेको स्वर्गमा पाइला टेंकें। अद्वितिय इच्छाशक्ति र रहस्यमय कुण्ड तथा प्राकृतिक सुन्दरताले मेरो दुखाईलाई जित्यो, सब दुखाई भुलाई दियो १०८ वटा कुण्ड मध्येका केहि कुण्डको दर्शन गर्न पाएँ। 

छ्यार्कुङचुलिबाट देखिने मरोरम दृश्यले म स्वर्गमा पुगेको छु र मैले सबै हिमालका चुच्चोहरू, उपत्यका, वरिपरिका पहाड सबै बादलमुनि देखें। यही त होनी मैले कल्पना गरेको स्वर्ग। सायद स्वर्ग यस्तै हुन्छ होला जहाँ म सबै भन्दा माथि छु र सबै तल देख्छु। 

त्यसपछि हामी मध्यान्नतिर गोसाईँकुण्ड पुग्यौं। कोरोना महामारीले होटल तथा लज सुनसान थिए। केहिबेर कुण्डको दर्शन, आराम र चाउचाउ खाएर ओरालो झर्‍यौं। हामी रात विताउन सिङगोम्पा पुग्यौं। 

अर्को दिन भार्खु, धुन्चे हुँदै सफलतापूर्वक पदमार्गको अध्ययन सकेर काठमाडौं फर्कियौं। यसरी हाम्रो राउचुली–गोसाइँकुण्ड पदयात्रा अत्यन्तै रोमाञ्चकारी र अवस्मरणिय बन्यो। यस धार्मिक महत्व बोकेको पदमार्ग साहसिक पदयात्रीका लागि अति आकर्षक छ। अब म यस पदमार्गको प्रचारमा जुट्नेछु। 

(लेखक ट्रेकिङ एक्सपर्टका सिइओ तथा रसुवा–नुवाकोट पर्यटन समाजका सचिव हुन्।) 
 

हेर्नुहोस् थप तस्बिरहरू

प्रकाशित मिति: : 2020-08-09 00:10:00

प्रतिकृया दिनुहोस्