तीन वर्ष बेरोजगार रहेकी रियाको सम्पत्ति कसरी करौडौं?

एजेन्सी

मुम्बई

वर्षको १०–१५ लाख रुपैयाँको सामान्य कमाई गर्ने रिया चक्रवर्तीले पछिल्लो केही वर्षभित्रै मुम्बईमा दुई वटा करौडौं रुपैयाँ पर्ने सम्पत्ति जोडेको विषयलाई लिएर यतिबेला सबै अचम्ममा परेका छन्। 

उनीमाथि बलिउडका उदयमान अभिनेता सुशान्त सिंह राजपूतको १५ करोड रुपैयाँ घोटाला गरेको आरोप पनि लागेको छ। सुशान्तको गत जुन १४ तारिख मुम्बईस्थित आफ्नै फ्लाटमा मृत अवस्थामा शरीर बरामद भएको थियो। 

मुम्बई प्रहरीले उनले फाँसी लागेर आत्महत्या गरेको बताएपनि यो कुरा पत्याउन कोही तयार छैनन्। यसैबीच भारत सरकारले सीबीआईलाई पुरा मुद्दाको छानवीन गर्न आदेश दिइसकेको छ। 

सुशान्तको बैंक अकाउण्टको गत शुक्रबारदेखि छानवीन गरिरहेको इन्फोर्समेन्ट एजेन्सी (इडी) ले थुप्रै तथ्य फेला पारेको भारतीय मिडियाले बताएका छन्। जसमा सुशान्तसँग प्रेम सम्बन्ध भएपछि उनको आर्थिक स्थिति चुलिएको देखिएको छ। 

२८ वर्षकी रिया बलिउडमा ७ वटा फिल्ममा काम गर्दा पनि गुमनाम थिइन्। दुई वर्षअघि उनको सम्बन्ध सुशान्तसँग भएपछि उनी चर्चामा आउन थालेकी हुन्। अझ अहिले सुशान्तको आत्महत्या प्रकरणमा उनको प्रत्यक्ष संलग्नताको कुरा बाहिर आएपछि उनी निकै चर्चामा छिन्। 

रियाको जन्म १ जुलाई १९९२ मा बेङलुरुमा भएको थियो। उनको बुवा इन्द्रजीत आर्मीको अवकासप्राप्त डाक्टर हुन्। सुशान्तको आत्महत्या प्रकरणमा उनको भाइ सौविक पनि संलग्न रहेको आरोप लाग्दै आइरहेको छ। 

रिया पहिले इन्जिनियरिङको विद्यार्थी थिइन्। उनी एमटिभीको रियालिटी सो ‘टिन डिभा’ हुँदै ग्लामर दुनियाँमा प्रवेश गरेकी हुन्।  

उनी पहिले यशराज फिल्मसले सन् २०१० मा निर्माण गर्न लागेको ‘ब्याण्ड बाजा बरात’ को अडिसनमा पनि सहभागी भएकी थिइन। तर, यो फिल्ममा मुख्य भूमिका अनुस्का शर्मालाई दिएपछि उनी अडिसनबाटै बाहिरिएकी हुन्। 

रियाले पहिलो फिल्म तेलुगु भाषामा गरेकी थिइन। उनी २०१२ मा ‘तुनेगा तुनेगा’ मार्फत फिल्ममा प्रवेश गरिन्। उनको पहिलो फिल्म नै फल्प भएको थियो। यसपछि उनले २०१३ मा हिन्दी फिल्म ‘मेरे ड्याडकी मारुती’ मा काम पाएकी थिइन। यो पनि फल्प भएको थियो। सन् २०१४ मा प्रदर्शन भएको ‘सोनाली केबल’ पनि सुपरफल्प भएको थियो। यसपछि उनी तीन बर्ष बेरोजगार भएकी थिइन्। 

सन् २०१७ मा ‘हाफ गर्लफ्रेण्ड’ र ‘दोबाराः सी योर इभिल’ जस्ता फिल्म खेले पनि सबै फल्प सावित भएको थियो। यसै वर्ष प्रदर्शन भएको ‘बैंक चोर’ र २०१८ मा आएको ‘जलेबी’ फिल्म पनि फल्प भएको थियो। यसपछि उनले फिल्ममा काम पाउन छोडेकी थिइन्। 

यस्तो अवस्थामा उनको बढेको सम्पत्तिलाई लिएर छानबिन भइरहेको छ। उनको भाइ सौविकलाई इडी कार्यालयले दुई चोटी बोलाएर सोधपुछ गरिसकेको छ।

प्रकाशित मिति: : 2020-08-09 15:43:38

प्रतिकृया दिनुहोस्