बेलारुसमा लुकासेन्को ८० प्रतिशत मतका साथ विजयी, विपक्षीहरुको विरोध प्रदर्शन

एजेन्सी

मिन्स्क

बेलारुसको राष्ट्रपति पदमा अलेक्जान्डर लुकासेन्को ८० प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएका छन् । उनी बेलारुसको राष्ट्रपति पदमा छैटौं पटक विजयी भएका हुन्।

केन्द्रीय निर्वाचन आयोगले सोमबार चुनावी नतिजा सार्वजनिक गरेलगत्तै चुनावमा धाँधली भएको आरोप लगाउँदै देशव्यापी विरोध प्रदर्शन शुरु भएका छन् । 

लुकासेन्कोलाई मुख्य रुपमा चुनौती दिएकी विपक्षी नेतृ स्भेत्लाना तिखानोभ्स्कायाले ९.९ प्रतिशत मत मात्र प्राप्त गर्नु भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार अरु तीन जना उम्मेदवारले दुई प्रतिशतभन्दा कम मत ल्याएका छन् ।

चुनाव सम्पन्न भएलगत्तै सार्वजनिक चुनावी मतसर्वेक्षणले लुकासेन्कोले भारी मतका साथ विजयी हुने विवरण सार्वजनिक गरेसँगै राजधानी मिन्स्क र अरु शहरमा लुकासेन्को विरुद्ध विरोध प्रदर्शन भएका थिए । 

प्रहरीले प्रदर्शनकारीलाई तितर बितर बनाउन बल प्रयोग गर्नु परेको थियो । 

यसैबीच प्रहरी कारबाहीमा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीमाथि ग्रिनेड, रबरका गोली र अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

भियास्ना मानव अधिकार केन्द्रले प्रहरीले प्रदर्शनकारीमाथि ज्यादै बल प्रयोग गरेको जनाएको छ । भियास्नाका प्रतिनिधि सर्गेई सिसले प्रदर्शनमा सहभागी ३०० भन्दा बढीलाई प्रहरीले गिरफ्तार गरेको बताए। भियास्नाका अनुसार कम्तीमा १० जना प्रदर्शनकारी अस्पताल भर्ना भएका छन् ।

बेलारुसको गृह मन्त्रालयकी प्रवक्ता ओल्गा चेमोडानोभाले प्रहरी कारबाहीमा कुनै प्रदर्शनकारीको मृत्यु नभएको दाबी गर्नु भएको छ । 

यसैबीच, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसको राष्ट्रपतिमा निर्वाचित भएका लुकासेन्कोलाई कार्यकाल सफलताको शुभकामना दिएका छन्। तर पोल्यान्डले बेलारुसको पछिल्लो अवस्था एवं विवादास्पद राष्ट्रपतीय निर्वाचनका बारेमा छलफल गर्न युरोपेली युनियनको आपतकालीन बैठक डाक्न आग्रह गरेको छ । 

पोल्यान्डका प्रधानमन्त्री मेटिउज मिराविकीले जारी गरेको वक्तव्यमा बेलारुसका जनताको स्वतन्त्रता प्रतिको चाहनालाई सम्मान गर्न युरोपेली युनियन तत्पर हुनुपर्छ भनिएको छ ।

प्रकाशित मिति: : 2020-08-10 14:51:58

प्रतिकृया दिनुहोस्