प्रणव मुखर्जीकी छोरीले लेखिन्: बुवालाई भगवानले राम्रो गर्नेछन्

एजेन्सी

काठमाडौं

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनकी छोरीले भावुक स्टाटस लेखेकी छन् । 

सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै प्रणव मुखर्जीकी छोरी शर्मिष्ठाले भगवानले सही बाटो रोज्ने भन्दै आफूलाई हिम्मत दिन भनेकी छन् । 

छोरी शर्मिष्ठाले बाबुका लागि प्रार्थना गर्दैै एक वर्ष पुरानो कुरा स्मरण गरेकी छन् । उनले गत वर्ष यही समयमा सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मानित भएको स्मरण गर्दै यस वर्ष गम्भीर बिरामी भएको बताएकी छन् । 

शर्मिष्ठाले लेखेकी छन्, ‘गत वर्ष ८ अगस्ट मेरो जीवनको सबैभन्दा खुसीको दिन थियो, जब मेरा बाबुलाई भारत रत्न प्राप्त भएको थियो । अब एक वर्षपछि १० अगस्टमा उहाँ गम्भीर बिरामी हुनु भएको छ । भगवानले उहाँका लागि राम्रो गरुन् र मलाई जीवनको सुख दुःख स्वीकार गर्ने क्षमता देउ । म सबैलाई धन्यवाद दिन चाहन्छु ।’

कोरोना संक्रमणपछि १० अगस्टमा अस्पताल भर्ना भएका उनको मस्तिष्कको एक भागको शल्यक्रिया गरिएको थियो ।

यो आपतकालीन शल्यक्रिया उनको जीवन रक्षाका लागि आवश्यक भएको चिकित्सकहरुले बताएका थिए । तर शल्यक्रियापछि उनको अवस्था गम्भीर बनेको छ र भेन्टिलेटरमा राखिएको छ ।

यसअघि पूर्व राष्ट्रपति मुखर्जी आफैंले ट्विट गरेर आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका थिए ।

उनले आफूलाई कोरोना संक्रमण देखिएको भन्दै आफ्नो सम्पर्कमा आएका सबैलाई आइशोलेशनमा बसेर परीक्षण गराउन अनुरोध गरेका थिए । 

प्रकाशित मिति: : 2020-08-12 17:30:30

प्रतिकृया दिनुहोस्