मोदीले भने- सिमाना जोडिने मात्र होइन मन मिल्ने देश पनि हाम्रो छिमेकी

एजेन्सी

नयाँ दिल्ली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा जोडिएको देश मात्र नभएर मन मिल्ने देश पनि भारतको असल छिमेकी भएको बताएका छन्।

भारतको ७४औं स्वतन्त्रता दिवसका अवसरमा शनिबार नयाँ दिल्लीस्थित लालकिलामा देशवासीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

‘आज भौगोलिक सिमाना जोडिएको देशमात्र भारतको छिमेकी होइन मन मिल्ने देशपनि भारतको छिमेकी हो,’ उनले भने।

‘चाहे जमीनबाट जोडिएका हुन् या समुन्द्रबाट हाम्रा छिमेकी देशसँग हाम्रो आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बन्दै गएको छ’ उनले भने,‘पश्चिम एसियाली देशसँग हाम्रो सम्बन्ध पछिल्लो समय अझ राम्रो बन्दै गएको छ। ती देशमा हाम्रा नागरिकले काम गरिरहेका छन्। कोरोना प्रकोपका बेला सहयोग गर्ने ती देशप्रति पनि आभार प्रकट गर्न चाहन्छु।’

सो क्रममा मोदीले भारतले ३ वटा कोरोनाविरुद्धको खोप बनाउने दाबी गरेका थिए।

साथै प्राकृतिक सम्पदाले भरिपूर्ण भारत आत्मनिर्भर हुनुपर्ने भन्दै मोदीले विश्व अर्थव्यवस्थामा भारतले योगदान बढाउने पनि जिकिर गरेका थिए।

यसैबीच नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले आज बिहान ट्विट गर्दै भारतका जनताको थप प्रगति र समृद्धिको कामना गरेका हुन्।

प्रकाशित मिति: : 2020-08-15 12:11:05

प्रतिकृया दिनुहोस्