नेपाली तितेपाती डलरमा बिक्री: वार्षिक ३० लाख आर्जन (भिडिओसहित)

काठमाडाैं। ‘नेपाली तितेपाती रूपैयाँमा होइन डलरमा बिक्छ’ यामशो प्रा.लि.का निर्देशक ईश्वरराज बलामीको यो भनाइ सुन्दा जो सुकैलाई पत्याउन मुस्किल पर्छ।

 

नहोस् पनि किन, हाम्रा पाखा पखेरा, गल्ली, बाटोघाटो वरपर पाती त्यसै मौलाएको हुन्छ। त्यसै सुकेर जान्छ। अझ भनौँ बाटो छेकियो भनेर काटेर फाल्नुपर्छ। त्यसै काटेर फाल्नुपर्ने वस्तु डलरमा बिक्छभन्दा जोकोहीलाई पत्याउन मुस्किल पर्छ नै।

 

तर ईश्वर बलामी यस्ता व्यक्ति हुन् जसले वर्षमा तितेपाती बेचेर ३० लाख रूपैयाँभन्दा बढी आर्जन गरिराखेका छन्। कसरी त ?

 

“मोग्जुभेसन थेरापीमा तितेपातीको मोग्जा प्रयोग हुन्छ। यही मोग्जा हामीले तितेपातीबाट निकाल्छौं र जापानमा बेच्छौं,” बलामीले देखापढीसँग भने।

 

मोग्जुभेसन थेरापी भनेको तितेपातीको भुवाद्वारा गरिने उपचार हो। विशेषगरी जापानमा हाड र नसासम्बन्धी रोगका बिरामीलाई यो थेरापी गराइन्छ। मोग्जा भनेको तितेपातीको पातको पछाडि हुने भुवा हो।

 

 

“जापानको यामशो कम्पनीले हामीसँग वर्षको ६० टन मोग्जा माग गर्दै आएको छ। तर हामीले प्रयाप्त मात्रामा तितेपाती पाउन सकेको छैनौं। अहिले हामीले मुस्किलले २० टन तितेपातीको मोग्जा मात्र पठाउन सकेका छौं। यो रूपैयाँमा भन्दा ३० लाखको हो,” बलामीले भने।

 

२०५१ सालमा बलामी अकुपञ्चरसम्बन्धी अध्ययन गरिरहेका थिए। सोही वर्ष उनी ६ महिने तालिमको लागि जापान जाने अवसर पाए। त्यहीं नै उनले नेपाली तितेपातीको महत्त्व बुझे।

 

“अकुपञ्चर चिकित्सामा मोग्जुभेसन थेरापी भन्ने हुन्छ र यसमा प्रयोग हुने मोग्जा तितेपातीको हो भन्ने थाहा थियो। तर यो कसरी बनाउने भन्ने थाहा थिएन। कुन तितेपाती भन्ने थाहा थिएन। जापानमा तालिम लिने क्रममा यो सबै थाहा भयो,” उनले सुनाए।

 

जापानमा तालिम सकिएपछि उनी नेपाल फर्के। त्यसपछि उनले तितेपाती खोजी शुरू गरे।

 

“मैले तितेपाती खोजी गर्दै हिँडेको देख्दा कतिले त मलाई ‘यो बौलायो’ समेत भने। ‘कहीँ तितेपाती बिक्छ, नचाहिंदो कुरा गर्ने?’ भन्थे। मैले हिम्मत हारिनँ,” बलामीले भने।

प्रकाशित मिति: : 2020-08-16 23:49:48

प्रतिकृया दिनुहोस्