भारत विश्वकै सबैभन्दा धेरै संक्रमित देश, एकै दिनमा हजार बढीको मृत्यु

भारतमा कोरोनाका कारण हरेक दिन मर्नेको संख्या एक हजार नाघेको छ। मंगलबार २४ घण्टाभित्र एक हजार ९३ जनाको निधन भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो। 

राज्यको हिसाबले महाराष्ट्र अहिले पनि ‘हट स्पट’ मा छ। मंगलबार मात्र महाराष्ट्रमा ४ सय २२ जनाको निधन भएको थियो। 

यहाँ अहिलेसम्म २० हजार ६ सय ८७ जनाको निधन भइसकेको छ। सोमबार २ सय २८ जनाको मात्र निधन भएको थियो। 

महाराष्ट्रपछि सबैभन्दा प्रभावित ठाउँ कर्नाटका हो। कर्नाटकामा मंगलबार १ सय ३९ जनाको निधन भयो। यो राज्यमा अहिलेसम्म ४ हजार २ सय १० जनाको निधन भइसकेको छ। 

पुरै भारतमा हालसम्म ५३ हजार १८ जनाको निधन भइसकेको छ। नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश र बिहारमा पनि पछिल्लो केही दिनयता कोरोनाको महामारी बढेको छ।

मंगलबार मात्र उत्तर प्रदेशमा ७० जनाको निधन भइसकेको छ। बिहारमा पनि हालसम्म ५ सय ५८ जनाको निधन भइसकेको छ। 

भारतमा हालसम्म २७ लाख ६६ हजारभन्दा बढी कोरोना संक्रमित फेला परिसकेका छन्। विश्वभरि फैलिएका कोरोनाको तथ्यांक हेर्दा अमेरिका र ब्राजिलपछि भारत सबैभन्दा बढी संक्रमित फैलिएको देश हो। 

मंगलबार यी तीनवटा देशमा मात्र एक हजारभन्दा बढी मानिसको निधन भएको थियो। 

अमेरिकामा २४ घण्टाभित्र १३ सय २४ तथा ब्राजिलमा १३ सय ६५ जनाको निधन भएको थियो। दैनिक संक्रमितको संख्यामा भारत नम्बर एकमा छ।

भारतमा पछिल्लो २४ घण्टाभित्र ६५ हजार २२ नयाँ संक्रमित थपिएका थिए। 

भारतपछि दोस्रो नम्बरमा ब्राजिलमा ४८ हजार ६ सय ३७ नयाँ संक्रमित भेटिएको थियो अमेरिकामा संक्रमणको संख्यामा केही कमि आएपछि ४३ हजार ३ सय ५३ जना कोरोनाबाट प्रभावित देखिएका छन्।

प्रकाशित मिति: : 2020-08-19 07:10:00

प्रतिकृया दिनुहोस्