फातीसहित ८ नयाँ युवा खेलाडी स्पेनको राष्ट्रिय टिममा, जोर्डी अल्बा परेनन्

स्पेनको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक लुइस एन्रिकेले यूईएफए नेसन्स लिग अन्तर्गत खेलका लागि टोलीको घोषणा गरेका छन्।

८ नयाँ युवा खेलाडीलाई समावेश गर्दै एनरिकेले नेसन्स लिग अन्तर्गत जर्मनी र युक्रेनबिरुद्धको खेलका लागि टोली घोषणा गरेका हुन्।

एनरिकेले बार्सिलोनाका युवा मिडफिल्डर अन्सु फातीलाई टोलीमा समावेश गरेका छन्। यसअघि स्पेनको यू-२१ टोलीबाट खेलेका फाती पहिलाेपल्ट सिनियर टोलीमा समावेश भएका हुन्। १७ वर्षीय फातीले गत सिजन मात्र बार्सिलोनाको सिनियर टोलीमा अवसर पाएका थिए। 

उनले पहिलो सिजनमा नै ३३ खेल खेल्दै ८ गोल गरिसकेका छन्। बार्सिलोनाबाट मिडफिल्डर सर्जियो बुस्केट्स पनि टोलीमा परेका छन्।

यस्तै, एनरिकेले म्यानचेष्टर सिटीका १९ बर्षका युवा डिफेन्डर ईरिक गार्सियालाई समेत पहिलो टिममा समावेश गरेका छन्।

यता केहि साताअघि मात्र म्यानचेस्टर सिटी पुगेका मिडफिल्डर फेरान टोरेस पनि टाेलिमा छन्। टोरेस भ्यालेन्सियामा राम्रो प्रदर्शन गरेपछि बोर्ड र कप्तानसँग राम्रो सम्बन्ध बनाउन नसक्दा सिटी पुगेका हुन्। उनी भ्यालेन्सियाबाट ३७ मिलियन पाउण्डमा सिटी गएका छन्। 

यस्तै वल्भ्सका विंगर अडामा ट्राओरे, म्यानचेस्टर सिटीकै एरिक गार्सिया र रियल म्याड्रिडबाट लोनमा सेभिल्ला पुगेका डिफेन्डर सर्जियो रेगुइलोन छन्। ओस्कार रोड्रीग्वेज, मिकेल मेरिनो र उनाई सिमोन पनि पहिलो पटक टोलीमा समावेश भएका छन्।

बार्सिलोनाका डिफेन्डर जोर्डी अल्बा टिम बाहिर परेका छन्। क्लबमा समेत प्राथमिकतामा पर्न छाडेका अल्बाले राष्ट्रिय टिमबाट स्थान गुमाएका छन्। स्पेनको टिममा एट्लेटिको मड्रिडका एक खेलाडी समेत परेका छैनन्।

यता विगतमा रियल मड्रिड र बार्सिलोनाका खेलाडीको वर्चस्व रहने स्पेनिस टोलीमा यसपटक बार्सिलोनाबाट २ र रियलका ३ खेलाडी मात्र टोलीमा रहेका छन्।

प्रिमियर लिग खेल्ने टोलीका खेलाडी पनि ६ जना टोलीमा रहेका छन्।

उनले अर्को बर्षको युरो कपका लागि टिम निर्माण गर्ने उद्धेश्य अनुरुप युवा खेलाडीलाई राष्ट्रिय टिममा मौका दिएका छन्। कोरोना भाइरसको कारण युरोकप अर्को वर्ष सरेको छ।

 स्पेनले सेप्टेम्बर ३ मा जर्मनीको भ्रमण गर्नेछ। यस्तै सेप्टेम्बर ६ मा टोलीले अल्फ्रेडो डे स्टेफानो मैदानमा युक्रेनको सामना गर्नेछ। दुवै खेल यूईएफए नेसन्स लिगको खेलहरु हुन्।

प्रकाशित मिति: : 2020-08-21 06:18:41

प्रतिकृया दिनुहोस्