उत्कृष्ट खेलाडी तर चर्चा कम

वर्तमान अवस्थामा विश्व फुटबलको उत्कृष्ट खेलाडीको बहस हुँदा बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेसी र युभेन्ट्सका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको नाम प्रमुखताका साथ लिने गरिन्छ।

 यी दुई खेलाडीको तुलनामा अन्य खेलाडीले खासै चर्चा पाउँदैनन्। 

यी दुई स्टारको ख्यातिको बीचमा च्यापिएका अर्का खेलाडी हुन्, वायर्न म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवनडोस्की।

३३ वर्षका मेसी र ३५ वर्षका रोनाल्डोको तुलनामा उनी मैदानमा कुनै पनि हिसाबले कम देखिदैनन्। तर, उनको खेलको प्रसंसा यी दुई स्टार जतिको हुँदैन। 

३२ वर्षीय लेवनडोस्कीले यो सिजन मेसी र रोनाल्डो दुबैलाई गोल गर्ने मामिलामा पछाडि छोडेका छन्। उनले आफ्नो क्लबलाई जर्मन कप र बुन्डेसलिगाको उपाधि जिताइसकेका छन्। 

अब उनी च्याम्पियन्स लिगको उपाधि पनि आफ्नो क्लबलाई जिताएर ‘ट्रेबल’ को इतिहास रच्ने अभियानमा छन्। म्युनिखले फाइनल आउँदो सोमबार पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग खेल्ने छ। 

एकै सिजन तीन ठूला प्रतियोगिता (दुई घरेलु र च्याम्पियन्स लिग) जित्नुलाई फुटबलमा ‘ट्रेबल’ भन्ने गरिन्छ। एक दशकयता ‘ट्रेबल’ को इतिहास दुई वटा क्लबले मात्र रच्न सफल भएका छन्। 

सन् २०१२–१३ को सिजन वायर्न म्युनिखले तीनवटा उपाधि जितेको थियो। यसपछि २०१४–१५ मा बार्सिलोना यसबाट सम्मानि भइसकेको छ। 

क्लब फुटबलमा अहिलेसम्म ७ पल्ट मात्र ‘ट्रेबल’ भएको छ। यसमा बार्सिलोनाले दुई पल्ट इतिहास रच्न सफल भएको छ। लेवनडोस्कीको प्रभावमा म्युनिख बार्सिलोनाको इतिहासलाई बराबरी गर्ने अभियानमा छ।  
 
यो सिजन लेवनडोस्कीले ५६ खेलमा ६१ गोल गरिसकेका छन्। उनले बुन्डेसलिगाअन्तर्गत ३१ खेलमा सबैभन्दा बढी ३४ गोल गरेका थिए। उनले च्याम्पियन्स लिगको ९ खेलमा १५ गोल गरिसकेका छन्। 

उत्कृष्ट फर्ममा रहेका पोल्याण्डका यी स्ट्राइकरसँग च्याम्पियन्स लिगको एउटै सिजन सर्वाधिक गोल गर्ने नयाँ कीर्तिमान बनाउने मौका पनि छ। यसका लागि उनले फाइनलमा ३ गोल गर्नुपर्ने छ। 

च्याम्पियन्स लिगको एउटै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान रोनाल्डोको नाममा छ। उनले २०१३–१४ मा सबैभन्द बढी १७ गोल गरेका थिए।

प्रकाशित मिति: : 2020-08-22 09:03:29

प्रतिकृया दिनुहोस्