१३ औं सागमा सहभागी १६ बक्सिङ खेलाडीको कोरोना बिमा

गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ बक्सिङ खेलाडीको कोरोना बिमा गरिएको छ।

पूर्व बक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले १३ औं सागमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको कोरोना बिमा गरिदिएका हुन्।

उनले हरेक खेलाडी र प्रशिक्षकको जनही एक लाख रुपैयाँको कोरोना बिमा गरिदिएका हुन्।

१३ औं सागमा १० पुरुष र ६ महिला गरी १६ खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। जसमा नेपालले तीन स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो। १३ औं सागमा नेपालका मीनु गुरुङ, सनील शाही र भूपेन्द्र थापाले स्वर्ण पदक जितेका थिए।

यसैगरी ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रधान र आशिष दुवाडीले रजत तथा सुशील थापा, तेजबहादुर देउवा, पुरन राई, विकास लामा, अर्जुन सिगु र चन्द्रकला थापाले कांस्य पदक जितेका थिए। १३ औं सागमा दीपक श्रेष्ठ मात्र पदक जित्न असफल भएका थिए।

यसैगरी १३ औं सागमा प्रशिक्षणमा सहभागी बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर र प्रवीण तुलाधरको पनि कोरोना बिमा भएको छ।

प्रकाशित मिति: : 2020-08-26 18:36:36

प्रतिकृया दिनुहोस्