सर्वोच्च अदालतबाट इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजी भाषामा मात्र राख्ने भनी गरिएको फैसलाप्रति भाषाविद्हरुले खेद प्रकट गरेका छन्।
उनीहरुले नेपाली भाषाप्रति आक्रमण हुने गरी भएको सर्वाेच्चको यो फैसला सच्याउन माग गर्दै अन्यथा आन्दोलनको चेतावनी समेत दिएका छन्।
‘त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापकहरूद्वारा सञ्चालित अभियानप्रति ऐक्यबद्धता जनाउँदै सवारीसाधनमा अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने भन्ने सर्वोच्च अदालतको फैसला तत्काल सच्याई इम्बोस्ड नम्बर प्लेटमा अनिवार्य रूपमा नेपाली भाषाको प्रयोग गर्न जोडदार माग गर्दछौँ। अन्यथा हामी कडा कदम चाल्न बाध्य हुनेछौँ’, ३६ जना भाषाविदहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाली अक्षरमा प्रयोग हुने मात्राको कारण अक्षरको आकार सानो ठूलो हुने भएकाले नम्बर प्लेटका साइज एउटै हुन नसक्ने, अङ्ग्रेजी भाषाको नम्बर प्लेट प्रयोग गर्दा सवारी साधनको चोरीपैठारी तथा दुर्घटना कम हुनेजस्ता निरर्थक तर्कहरू पेस गर्दै गरिएको यो फैसला हास्यास्पद मात्र नभई राष्ट्रघातीसमेत रहेको उनीहरुको भनाइ छ।
नेपालको राष्ट्रियता र अस्मितासँग गाँसिएको यस्तो महत्वपूर्ण विषयलाई जगेर्ना गर्नुपर्ने निकायबाटै चालिएको यस्तो गैरजिम्मेवारीपूर्ण कदम निन्दनीय रहेकोले सर्वोच्चको यस्तो असंवैधानिक फैसला कदापि स्वीकार्य नहुने उनीहरुले बताएका छन्।
‘सर्वोच्च अदालतजस्तो गरिमामय निकायले नेपालको राष्ट्रभाषा, सरकारी कामकाजको भाषा र माध्यम भाषाका रूपमा रहेको नेपाली भाषाको अपमान गरी अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने फैसला गर्नु घोर निन्दनीय तथा आपत्तिजनक छ र यो कदापि मान्य हुँदैन। यो फैसला असंवैधानिक र राष्ट्रघाती प्रकृतिको भएकाले यसलाई तत्काल सच्याउन माग गर्दछौँ’, उनीहरुले भनेका ५न्।
हरेक राष्ट्रले आफ्नो राष्ट्रभाषालाई पहिलो प्राथमिकतामा र त्यसपछि मात्रै अन्तर्राष्ट्रिय भाषाका हिसाबले अङ्ग्रेजी भाषालाई स्थान दिने गरेको अन्तर्राष्ट्रिय अभ्यासअनुरूप हाम्रो सन्दर्भमा पनि इम्बोस्ड नम्बर प्लेटमा सुरुमा देवनागरी लिपि र त्यसपछि मात्र रोमन लिपिको प्रयोग गर्नु उपयुक्त हुने भाषाविद्को तर्क छ।