अब ब्राजिलका महिला फुटबलरले पुरुष सरह तलब पाउने

 ब्राजिली फुटबल संघले राष्ट्रिय महिला टिमका खेलाडीलाई समेत पुरुष सरहको सेवा सुविधा दिने भएको छ। 

संघका अध्यक्ष रोजेरियो काबोक्ले बुधबार भएको पत्रकार सम्मेलनमा यस वर्षको मार्चबाट उक्त निर्णय कार्यान्वयनमा आएको बताएका छन्।

‘यो वर्षको मार्चबाट पुरुष तथा महिला फुटबलको पुरस्कार र दैनिक भत्ताको मूल्य बराबरी,’ रोजेरियोले भनेका छन्।

उनका अनुसार अब ब्राजिलले अन्तर्राष्ट्रिय प्रतियोगिताको दौरान सबै फुटबल खेलाडीको दैनिक भत्ता तथा पुरस्कार रकम बराबर गर्ने छ। मार्चमा फ्रान्समा भएको विश्वकपबाटै महिला राष्ट्रिय टिमलाई पनि पुरुष सरह रकम दिन थालिएको संघले जनाएको छ।

‘राष्ट्रिय टिममा रहँदा खेलाडीले समान रुपमा कमाई गर्नेछन्। पुरुषले प्राप्त गर्ने रकम सरह नै महिलाले समेत प्राप्त गर्नेछन्। अर्को वर्ष ओलम्पिकमा जित हासिल गरेपनि उनीहरुसँग त्यही हुनेछ, जो पुरुषहरुले पाउनेछन्,’ उनले थपे।

ब्राजिलको महिला फुटबलमा यो अर्को यात्राको सुरुआत भएको छ। कोरोना महामारीका कारण ब्राजिली महिला टिमले मार्च यता कुनै खेल खेलेको छैन।

प्रकाशित मिति: : 2020-09-03 14:36:25

प्रतिकृया दिनुहोस्