भारत ‘डेन्जर जोन’ मा, नेपालको सीमा नजिकै संक्रमणको संख्या बढ्दो

ब्राजिललाई उछिन्दै भारत विश्वको दोस्रो सबैभन्दा बढी संक्रमित देश बन्न लागेको छ। आइतबार बिहानको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १४ हजार ७ सय ३ पुगेको छ। 

यो संख्या ब्राजिलभन्दा ८ हजारले मात्र कम हो। र, पछिल्लो समय भारतमा जसरी कोरोना संक्रमितको संख्या बढिरहेको छ, त्यसको मूल्यांकन गर्ने हो भने एक–दुई दिनभित्र भारतले ब्राजिललाई उछिन्ने छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पाँच दिनयता संक्रमितको संख्या घट्नेभन्दा पनि बढ्दै गइरहेको छ। त्यसैले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) जस्तो आधिकारीक निकायले भारत ‘डेन्जर जोन’ मा रहेको बताएको छ। 

शनिबार मात्र भारतमा ९० हजार ६ सय कोरोना संक्रमित फेला परेका छन्। यो अहिलेसम्मकै उच्च हो। संक्रमणको संख्या बढे पनि मृतकको संख्या हेर्दा आत्तिहाल्नु पर्ने अवस्था नरहेको स्वास्थ्य संस्थाहरूले बताएका छन्। 

शनिबार एकै दिन कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७३ हजार भएको स्वास्थ्य मन्त्रालयको रिपोर्टमा उल्लेख छ। हालसम्म ३१ लाख ७७ हजार मानिस पूर्ण रूपमा ठिक भइसकेका छन्। 

शनिबार एक दिनभित्र भारतमा १ हजार ४४ जनाको निधन भएको थियो। आइतबारसम्म कोरोनाका कारण भारतमा ७० हजार ७ सय ४ जनाको निधन भइसकेको छ। भारतको विभिन्न स्थानमा ८ लाख ६१ हजार मानिसको उपचार भइरहेको छ। 

भारतभित्र पनि मुम्बईलाई ‘रेड जोन’ मानिएको छ। यहाँ २४ घण्टाभित्र ४६ प्रतिशत ‘एक्टिभ केस’ फेला परेको छ। यस्तै मर्नेको संख्या पनि ५२ प्रतिशत छ। 

शनिबार मात्र यहाँ २० हजार ४ सय ८९ संक्रमित फेला परेका थिए। जसमा ३ सय १२ जनाको निधन भएको थियो। मुम्बईमा कूल २६ हजार २ सय ७६ जनाको निधन भइसकेको छ। 
 
केन्द्रीय स्वास्थ्य मन्त्रालयको विज्ञप्ती अनुसार हरेक दिन ११ लाखभन्दा बढी मानिसको कोरोना परीक्षण भइरहेको छ। नेपालसँग जोडिएको बिहार र उत्तर प्रदेशमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ।

बिहारमा शनिबार १७ सय २६ संक्रमित फेला परेका थिए। यहाँ पनि कूल १ लाख ४५ हजार ८ सय ६१ संक्रमित फेला परिसकेका छन्। जसमा ७ सय ५० जनाको निधन भइसकेको छ। 

उत्तर प्रदेशमा पनि शनिबार ६ हजार ७ सय नयाँ संक्रमित फेला परेका थिए। यो अहिलेसम्मकै कीर्तिमान हो। उत्तर प्रदेशमा अहिलेसम्म २ लाख ५९ हजार ७ सय ६५ संक्रमित फेला परेका छन्। यस प्रदेशमा ३८सय ४३ जनाको निधन भएको छ। 

विश्वभरि फैलिएको कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा ६४ लाख ३१ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। 

अमेरिकामा मर्नेको संख्या १ लाख ९२ हजार कटिसकेको छ। दोस्रोमा रहेको ब्राजिलमा ४१ लाख २३ हजार संक्रमित छन्। यहाँ पनि १ लाख २६ हजारभन्दा बढी मानिसको निधन भएको छ। 

विश्वव्यापी रूपमा कोरोनाबाट २ करोड ७० लाख बढी मानिस संक्रमित भएका छन्। जसमा ८ लाख ८३ हजार बढीको निधन भइसकेको छ।

प्रकाशित मिति: : 2020-09-06 14:28:00

प्रतिकृया दिनुहोस्