कप्तान लिओनल मेसी प्रशिक्षणमा फर्किएका छन्।
एक सिजन बार्सिलोनामै बस्ने निर्णय गरेका मेसी सोमबारबाट प्रशिक्षणमा सहभागी भएका हुन्।
नयाँ प्रशिक्षकको रुपमा नाउ क्याम्प सम्हाल्न आइपुगेको रोनाल्ड कोम्यानले प्रशिक्षण सुरु गरेपनि यसअघि मेसी सामेल भएका थिएनन्।
बार्सिलोनाको पहिलो दिनको प्रशिक्षणमा लियोनल मेसीसहित १७ खेलाडी भने अनुपस्थित रहे। मेसीको क्लबसँगको विवाद र पहिलो रोजाईका खेलाडीहरु इन्ज्युरी, अन्तर्राष्ट्रिय ड्युटी र समर छुट्टीमा रहेका कारण टोलीको प्रशिक्षणमा सामेल हुन असमर्थ रहेको बताइएको थियाे।
च्याम्पियन्स लिगको सेमिफाइनलमा बायर्न म्युनिखसँग बार्सिलोना ८–२ ले पराजित भएपछि कीर्तिमानी ६ पटकको बालोन डी‘ओर विजेता मेसीले बार्सिलोनालाई पत्र लेख्दै आफुले क्लब छाड्ने बताएका थिए।
तर, उनले क्लब छोड्न चाहेको बताएपछि अघिल्लो हप्ता लालिगाले बार्सिलोना र मेसीबीचको ७० करोड युरो अर्थात ८२.३ करोड डलरको रिलिज क्लज लागू हुने बताएको थियो।
Leo #Messi begins preseason training. pic.twitter.com/ygPNpWzjkb
— FC Barcelona (@FCBarcelona) September 7, 2020
त्यसपछि मेसी हटेका थिए। उनले कल्बमा रहनुको कारण बार्सिलोनाले ७ सय मिलियन युरोको रिलिज क्लज नतिरी जान नदिने अडान राख्नु रहेको पनि बताएका थिए। कुनै पनि क्लबले ७ सय मिलियन युरो तिर्न असम्भव छ।
मेसी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी जाने चर्चा चलेको थियो। सिटीले मेसीका लागि आफ्ना तीन खेलाडी गाब्रियल जिसस, बेर्नार्डो सिल्भा र एरिक गार्सियालाई दिने प्रस्ताव गरेको थियो। तर, बार्सिलोनाले मानेनन्।
अब मेसी अर्को समरसम्म क्याम्प नाउमा हुने छन्। त्यसपछि मेसीको बार्सिलोनाको बसाई अवधि भने क्लबमा आउने नयाँ अध्यक्षमा निर्भर रहनेछ। बार्सिलोनाले सन् २०२१ को मार्चमा नयाँ नेतृत्व छान्दैछ।
सोही निर्वाचनबाट वर्तमान अध्यक्ष जोसेप मारिया बर्टोमेउलाई प्रतिस्थापन गर्ने व्यक्तिमा मेसीको भविष्य निर्भर रहनेछ। उनी पुन अध्यक्षमा चुनिन चाहन्छन्। मेसीको बहिर्गमनले भएकाे भए नेतृत्वलाई अप्ठ्यारो पर्न सक्ने थियाे। उनले मेसीका बुवासँग पनि लगातार कुरा गरिरहेका थिए।