अमेरिकी चुनावः राष्ट्रवादको मुद्धामा टिकेको ट्रम्पको चुनावी अभियान

संजोग आचार्य

न्यूयाेर्क

‘लेभर डे’ अर्थात मजदूर दिवसपछि अमेरिकामा राष्ट्रपति चुनावको प्रचार–प्रसार तीब्र भएको छ। कोरोना र जातीय विभेदजस्ता मुद्धाहरूका कारण डेमोक्र्याट उम्मेदवार जो वाइडेनको स्थिति सुरुका दिन निकै बलियो मानिएको थियो। तर, चुनाव नजिकिँदै जाँदा रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको अवस्थामा केही सुधार देखिन थालेको छ। 

राष्ट्रियताको मुद्धामा निकै प्रखर देखिएका ट्रम्प अहिले पनि वाइडेनभन्दा केही मतले तल भएको दावी विभिन्न पत्र–पत्रिकाले गरेका छन्। तर, ट्रम्प यतिबेला आफ्नो सबै अस्त्र प्रयोग गरिरहेका छन्। उनी कहिले चीनको मुद्धामा वाइडेनलाई घेर्ने प्रयास गरिरहेका छन् भने कहिले स्वास्थ्यको मुद्धा अगाडि सारिरहेका छन्। 

पछिल्लो समय देशभित्र भएको जातीय हुलदुंगामा पनि डेमोक्र्याट अर्थात वाइडेनलाई घेर्ने प्रयास ट्रम्प गरिरहेका छन्। उनको स्पष्ट भनाई छ– जुन राज्यमा अवस्था बिग्रिएको थियो, ती सबै ठाउँ डेमोक्र्याटहरूको पकड भएको अर्थात शाषन भएको राज्य हो। 

वाइडेनले भने अश्वेतविरूद्ध जातीय दंगा भड्काउनुमा राष्ट्रपतिको सोच प्रमुख कारण भएको आरोप लगाएका छन्। उनले देशलाई ‘काला र गोरा’ मा बाँड्ने काम ट्रम्पले गरेको दावी गरेका छन्। 

गत अगस्टमा दुबै पार्टीले आफ्नो ‘कन्भेन्सन’ मा एउटा निजी सर्वेक्षण गराएका थिए। जसमा कोरोनाका कारण गुमेको आफ्नो समर्थन विस्तारै ट्रम्पले आफूतर्फ तान्न सफल भएको रिपोर्ट आएको थियो। यो रिपब्लिकन, खास गरेर ट्रम्पका लागि सुखद कुरा हो। 

अमेरिकामा ठूलो संख्यामा मानिसहरू बसोबास गर्ने राज्यमा कोरोनाका प्रभाव अत्याधिक देखिएको थियो। यस्ता राज्यमा ट्रम्पविरूद्ध स्थानीय जनता असन्तुष्ट देखिएका थिए। त्यसैले वाइडेन यस अवस्थाको फाइदा लिन जोडतोडका साथ मिहिनेत गरिरहेका छन्। 

अमेरिकामा मजदूर दिवसपछि चुनावको अन्तिम चरणको ‘क्याम्पेन’ सुरु हुन्छ। सन् १९९२ मा जर्ज बुसको पालादेखि यो परम्परा चल्दै आएको हो।  
अमेरिकी चुनावमा फ्लोरिडाको महत्व विशेष मानिन्छ। यहाँ जित हात पार्ने उम्मेदवारलाई चुनाव जित्न धेरै हदसम्म सहज हुने भनाई छ। त्यसैले ट्रम्प चुनावी अभियानमा फ्लोरिडामा आफ्नो विशेष शक्ति प्रदर्शन गरिरहेका छन्। 

तर, ट्रम्पभन्दा अगाडि गत अप्रिलमै आफ्नोे उम्मेदवारी टुँगो लगाएका वाइडेन धेरै अघिदेखि चुनावी अभियानमा सक्रिय छन्। सन् २०१६ को चुनावमा फ्लोरिडामा डेमोक्र्याटहरू निकै ‘नर्भस’ देखिन्थे। रिपब्लिकनले भने धेरै आशा राखेका थिए। तर, स्थिति दुबैले सोचे जस्तो निस्किएन। 

फ्लोरिडामा वाइडेनले चुनाव प्रचार गर्ने क्रममा राष्ट्रपति ट्रम्पमाथि ठूलो आरोप लगाइसकेका छन्। उनले असमाजिक तत्वविरूद्ध कार्यवाही गर्नुको सट्टा उनीहरू माथि ‘सफ्ट कर्नर’ राखेको आरोप ट्रम्पविरूद्ध लगाएका थिए। पूर्व विदेश मन्त्री जोन क्यारीको समर्थन पाएपछि वाइडेन अहिले आफूलाई निकै बलियो मानिरहेका छन्। 

यद्यपि ट्रम्पविरूद्ध डेमोक्र्याटहरूले जति नै जातीय आरोप लगाएपनि विस्किन्सन र मिनेसोटा जस्ता ‘गोरा’ हरूको अत्याधिक बसोबास भएको ठाउँमा रिपब्लिकनको स्थिति झन् बलियो देखिएको छ। यस ठाउँमा पनि ‘काला र गोरा’ को नाममा भोट बाँड्ने प्रयास भइरहेको छ।

जातीय दंगाका कारण फ्लोरिडा, नर्थ क्यारोलिना, एरिजोना र जर्जिया जस्ता राज्यमा ट्रम्प केही रक्षात्मक देखिन्छन्। रिपब्लिकन पार्टीका दुई पूर्व गर्भनर टिम पोलेन्टी र स्कट वाकरका अनुसार केही राज्यमा अहिले वाइडेनको पकड देखिएको छ। तर, चुनावको मिति नजिकिँदै जाँदा त्यहाँको भोट ट्रम्पको पक्षमा ओइरिने उनीहरूको दावी छ। 

यी दुई गर्भनरले स्थानी पत्रिकालाई हालै दिएको अन्तर्वार्तामा भनेका छन्, ‘कुनै राज्यमा हिंसा भएको छ। तर, मतको ‘प्याटर्न’ परिवर्तन हुनसक्छ।’ उनीहरूको यो भनाई विस्किन्सनलाई लिएर आएको हुनसक्छ। किनभने यो राज्यमा वाइडेनप्रति मानिसहरू त्यति खुसी देखिदैनन्।  

सन् २०१६ को तुलनामा ट्रम्पको अवस्था यसपालि बलियो देखिएको थियो। तर, आफ्नै बयानमा फसेर उनले समस्या पनि खडा गरेका छन्। भर्खरै मात्र ट्रम्पले सैनिकको विषयमा दिएको एउटा बयानलाई लिएर ठूलो आलोचना खेप्नु परेको थियो। यसले उनलाई अफ्ठेरोमा पनि पारेको छ। 

वाइडेन अहिले कानुनी व्यवस्थाको मुद्धामा ट्रम्पलाई घेर्ने प्रयास गरिरहेका छन्। उनले कोरोना भाइरस नियन्त्रणमा ट्रम्प पूर्ण रूपमा असफल भएको र देशको आर्थिक अवस्था कमजोर भएको आरोप पनि लगाएका छन्। 

यतिबेला दुबै पार्टीका उम्मेदवार मिसिगन र पेन्सेल्भेनिया राज्यमा मतदाता लोभ्याउने काममा उत्तिकै सक्रिय छन्। किनभने यी दुई राज्यको स्थिति अझैं स्पष्ट हुन सकिरहेको छैन। दुबै पार्टीका नेताहरू यी दुई राज्यका मतदातालाई आफूतर्फ तान्ने प्रयास गरिरहेका छन्। केनोसा र पिट्सवर्ग जस्ता सहरमा अश्वेतको समर्थनमा भएको दंगाका कारण वाइडेन यहाँ निकै बढी शक्ति खर्च गरिरहेका छन्। 

नर्थ क्यारोलिनाका गर्भनर रोय कुपरका प्रमुख सल्लाहकार मोर्गन ज्याक्सनका अनुसार अहिलेको चुनावी अभियानमा सामान्य भएपनि वाइडेन अगाडि देखिएका छन्। सिनेटर एमी क्लोबाउचरले भनेका छन्–‘वाइडेनको अभियान अहिले राम्रो छ। उनको अवस्था राम्रो छ।’

पिट्सवर्गमा दंगा केही मत्थर भएपछि चुनावी अभियानको नेतृत्व गर्न पुगेका वाइडेनले निकै सन्तुलित भाषण गरेका थिए। उनले त्यहाँ प्रहरीको सुधृ्रणीकरण र कानुनी व्यवस्थामा सुधार जस्ता कुरा उठाएका थिए। 

सन् २०१६ मा हिलारी क्लिन्टनले चुनाव हार्नुको कारण उनले थुप्रैं ठाउँमा चुनावी सभालाई सम्बोधन गर्न नसकेको मानिन्छ। अहिले वाइडेनको अवस्था पनि यस्तै देखिएको छ। उनी थुप्रैं ठाउँमा स्वयम् उपस्थित हुन सकिरहेका छैनन्। यसैले डेमोक्र्याट सांसद मार्क पोकन भन्छन्, ‘मैले वाइडेनलाई पनि भनिसकेको छु। जति धेरै सहरमा पुग्न सकिन्छ, त्यति नै बढी लाभ हुनेछ।’

चुनावी अभियानमा सहरको भ्रमण गर्ने कुरामा वाइडेनभन्दा ट्रम्प अगाडि देखिन्छन्। मार्क पोकनको भनाई आफ्नो ठाउँमा महत्वपूर्ण देखिएपनि यतिबेला अमेरिकामा फैलिएको कोरोना संक्रमणका कारण ‘डोर टु डोर’ अभियान सोचे जस्तो सहज छैन। तर, उनले भने जस्तै खाली पम्प्लेट टाँसेर पनि मतदातालाई लोभ्याउन सकिन्न। 

कोरोनाका महामारीका बीच ट्रम्प भने टेलिभिजनमा प्रचार–प्रसारमा निकै सक्रिय छन्। तर, यतिले मात्र ट्रम्पको अभियान पनि सार्थक नहुने केही राजनीतिक विश्लेषकको भनाई छ। पूर्व हाउस स्पीकर नेट गिनरिच भन्छन्, ‘चुनाव जित्न ट्रम्पले अमेरिकी राष्ट्रवादको मुद्धालाई झन् ठूलो आवाजमा उठाउनु पर्ने देखिन्छ।’

प्रकाशित मिति: : 2020-09-08 13:15:00

प्रतिकृया दिनुहोस्