क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पुरा गरेको खेलमा पोर्चुगलले स्वीडेनलाई पराजित गरेको छ।
यूईएफए नेसन्स लिग अन्तर्गत मंगलबार स्वीडेनस्थित फ्रेन्ड्स एरिनामा भएको दोस्रो खेलमा रोनाल्डोले दुई गोल गर्दा पोर्चुगलले २–० को सहज जित दर्ता गरेको हो।
अघिल्लो खेल चोटका कारण गुमाएका रोनाल्डोले यस खेलमा भने सुरुवाती रोजाईमा खेलेका थिए। रोनाल्डोले खेलको दुवै हाफमा १–१ गोल गरेका थिए।
पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अघि बढाएका थिए। डिबक्स बाहिरबाट उनले प्रहार गरेको फ्रिकिकले जाली चुमेको थियो। सो गोलसँगै रोनाल्डोले पोर्चुगलको जर्सीमा सय गोल पुरा गरेका थिए।
४४ औँ मिनेटमा स्वीडेनका गुस्टाभ स्वेनसनले जोआओ मोउटिन्होलाई लडाएपछि रेफ्रीले उनलाई दोस्रो पहेंलो कार्ड देखाएका थिए।
रोनाल्डोले त्यसै फलमा प्राप्त फ्रिकिकलाई टप कर्नरमा गोल गर्दै पहिलो हाफमा १–० को अग्रता दिलाए। फ्रिकिकमा रोनाल्डोले पोर्चुगलका लागि गरेको यो नवौं गोल थियो।
दोस्रो हाफको ७२ औँ मिनेटमा रोनाल्डोले पोर्चुगलको अग्रता दोब्बर पारे। जोआओ फेलिक्सको पासलाई नियन्त्रणमा लिँदै रोनाल्डोले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गोल गरे। रोनाल्डोको प्रहारलाई गोलरक्षक ओल्सेनले बचाउने कुनै अवसर पाएनन्। यो गोलसँगै उनले राष्ट्रिय टिमबाट आफ्नो गोल संख्या १ सय १ पुर्याए।
यस जितसँगै पोर्चुगलले समूह ए ३ मा शीर्षस्थानमा कायम रहेको छ। पहिलो खेलमा पोर्चुगलले क्रोएसियालाई ४–१ ले हराएको थियो।
अन्य खेलको नतिजा
फ्रान्सले क्रोएसियालाई ४–२ ले हराएको छ। फ्रान्सले जित हात पारेपनि गोलअन्तरमा पोर्चुगलले फ्रान्सलाई उछिनेको हो।
पोर्चुगल र फ्रान्सको ६–६ अंक रहँदा क्रोएसिया र स्वीडेन अंकविहिन छन्।