ओबामालाई होच्चाउन ट्रम्पले अनुहार मिल्ने व्यक्तिलाई जागिर दिएको खुलासा

अमेरिकाको चुनाव नजिकिँदै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको विषयमा विभिन्न नकरात्मक कुराहरू बाहिरिन सुरु भएको छ। ट्रम्प ३ नोभेम्बरमा हुने चुनावमा दोस्रो कार्यकालका लागि मैदानमा उत्रिदैंछन्। उनको प्रतिद्धन्द्धी पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति बनेका जो वाइडेन हुन्।  

कुनै बेला ट्रम्पका निजी वकिल रहेका माइकल कोहेनको प्रकाशित हुन लागेको किताबमा उल्लेख भएका केही कुराले ट्रम्प फेरि विवादमा तानिने सम्भावना बलियो छ। कोहेनको किताबमा भनिएको छ, ‘अमेरिकी राष्ट्रपति ट्रम्प देश र विदेशमा रहेका अश्वेत नेताको विरूद्ध प्रायः विभेदकारी टिप्पणी गर्थे। उनी पूर्व राष्ट्रपति बाराक ओबामालाई भित्रि मनदेखि घृणा गर्थे। उनी नेल्सन मण्डेलालाई पनि नेता मान्दैन्थे।’

कोहेनले १० वर्ष ट्रम्पको वकिल भएर काम गरेका थिए। कोहेनको किताब ‘डिसलोयलः अ मेमोयार’ मंगलबार प्रकासित हुँदैछ। न्युयोर्क टाइम्सको दावी अनुसार किताबको एउटा कपि सार्वजनिक भएको छ। जसमा ट्रम्पलाई लोभी र कानुनमाथि विश्वास नगर्ने मानिसको रूपमा दर्साइएको छ। किताबमा भनिएको छ, ‘ट्रम्प आफ्नो विरोधीविरूद्ध जस्तो सुकै हर्कत गर्न पछि पर्दैनन्।’ 

किताबमा ट्रम्पको मनमा ओबामाविरूद्ध गलत भावना भएको बताइएको छ। ‘ट्रम्पले ओबामाको मानमर्दन गर्न उनकै अनुहार मिल्ने एक अश्वेतलाई जागिर दिएको र एउटा भिडियो बनाएर, उसलाई जागिरबाट निकालिएको देखाएका थिए। 

यो सबै उनले आफ्नो मनलाई सन्तुष्टी बनाउन गरेका थिए,’ कोहेनको पुस्तकमा उल्लेख छ। कोहेन लेख्छन्, ‘सन् २०१२ मा ट्रम्पले नक्कली ओबामालाई जागिरमा राखेका थिए। यतिबेला ट्रम्प रिपब्लिकनका राष्ट्रपतीय उम्मेदवार मिट रोम्नीको प्रचार गरिरहेका थिए। यो भिडियो रिपब्लिकनको कन्भेन्सनमा देखाउने तयारी थियो।’

कोहेनले अश्वेतको विषयमा ट्रम्पको सोच तल्लो स्तरको भएको बताएका छन्। ‘उनी अश्वेतको संगीत मात्र होइन, संस्कृतिको पनि अपमान गर्छन। एक पल्ट त उनले दक्षिण अफ्रिकालाई गोराहरूको शाषनबाट बाहिर निकाल्न संघर्ष गरेका नेल्सन मण्डेलालाई नेता मान्न अस्विकार गरेका थिए,’ कोहेनको भनाई छ। 

कोहेनले ट्रम्पकै भनाई उध्रृत गर्दै लेखेका छन्, ‘कालाजातिहरूले शाषन गरेको कुनै एउटा देशको नाम बताउनु होस्, जुन काम लाग्ने छ।’

ट्रम्पले आफ्नो रियालिटी सो ‘द अप्रेन्टिस’ मा अश्वेत सहभागी क्वेम ज्याक्सन बारे अपमानजनक टिप्पणी गरेका थिए। ‘उनको मनमा अश्वेत सेलिब्रिटी र खेलाडीविरूद्ध पनि दुर्भावना छ,’ कोहेनले उल्लेख गरेका छन्। ट्रम्पले आफ्नो अफेयर अरुसँग भएको समाचार प्रकासित गर्ने ‘एडल्ट स्टार’ पत्रिकासँग समाचार रोक्नका लागि पैसाको लेनदेन गरेको कोहेनले बताएका छन्।   

कोहेनको यी सबै दावीलाई ट्रम्पका सञ्चार सचिव केली म्याकनेनीले अस्विकार गरिसकेका छन्। उनले भनेका छन्, ‘माइकल कोहेन बदनाम वकिल हुन्। उनले संसदमा झुटो बोलिसकेका छन्। त्यसैले उनको कुरालाई विश्वास गर्न सकिन्न। उनले आफ्नो फाइदाका लागि झुटो कुरा फैलाइरहेका छन् भने यसमा आश्चर्य मान्नु पर्दैन।’

कोहेनले आफूमाथि लागेको आरोपको जवाफ दिन पनि किताब सार्वजनिक गरेको बताएका छन्। ‘मैले अहिलेसम्म जति झुटो बोले ट्रम्पको कारण,’ उनले भनेका छन्, ‘ट्रम्पलाई चर्चामा ल्याउन र उनलाई समस्याबाट निकाल्न मैले झुटो बोल्नु पर्यो।’

सन् २०१८ मा कोहेनलाई आर्थिक अपराधमा दोषी ठहर गरिएको थियो। उनीमाथि एडल्ट फिल्मकी नायिका स्टेफनी क्लिफोर्डलाई आर्थिक नियम विपरित पैसा उपलब्ध गराएको घटनामा दोषी ठहर गरिएको थियो। 

किताबमा कोहेनले आफूलाई निर्दोष प्रमाणित गर्न खोजेका छन्। उनले आफूलाई ट्रम्प सरकारले फसाएको र श्रीमतीलाई समेत धम्की दिएको आरोप लगाएका छन्।

प्रकाशित मिति: : 2020-09-10 08:34:47

प्रतिकृया दिनुहोस्