विलियनले उत्कृष्ट प्रदर्शन गरेपछि आर्सनलको सानदार सुरुवात

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार सुरुवात गरेको छ।  यसै सिजन लन्डन क्लब चेल्सीबाट अर्काे लन्डन क्लब आर्सनल पुगेका ब्राजिली विंगर विलियनले उत्कृष्ट प्रदर्शन गरेपछि आर्सनलले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।

शनिबार साँझ भएकाे खेलमा आर्सनलले नवप्रवेशी फुलह्यामलाई उसकै मैदानमा ३–० गाेल अन्तरले पराजित गरेकाे हाे।

फुलह्यामको मैदान क्राभेन कटेजमा भएकाे खेलमा आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट, ग्याब्रिल र कप्तान पिएरे इमरिक औवामियाङले गोल गरे। 

विलियनले आर्सनलको तीनै गोलमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो।

आर्सनलले खेलेको आठौं मिनेटमा लाकाजेटको गोलबाट अग्रता लिएको थियो। विलियनले प्रहार गरेकाे रिवाउन्डमा बललाई गोलरक्षक मारेक रोडाकले बचाउन नसक्दा लाकाजेटले पोस्ट नजिकैबाट गोल गरेका थिए।

४९औँ मिनेटमा ग्याब्रिल माघलेसले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे  विलियनको कर्नरमा ग्याब्रिलले आर्सनलका लागि प्रिमियर लिग डेब्युमै गोल गर्न सफल भए। 

५७औं मिनेटमा कप्तान औवामियाङले गोल गर्दै आर्सनललाई ३–० को अग्रता दिलाए। उनले विलियनकै पासमा गोल गरेका थिए।

 त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल ३–० ले विजयी हुन सफल भयो।

प्रकाशित मिति: : 2020-09-12 20:26:59

प्रतिकृया दिनुहोस्