योशीहिदे सुगाद्वारा जापानका नयाँ प्रधानमन्त्रीको रूपमा शपथ

एजेन्सी

टोकियो

जापानको नयाँ प्रधानमन्त्रीको रुपमा योशिहिदे सुगाले बुधबार पदभार लिएका छन्। उनले परिचित अनुहारहरूको मन्त्रिपरिषद गठन गरेका छन्। 

अर्थमन्त्री तारो एसो, परराष्ट्र मन्त्री तोशिमिट्सु मोटेगी र वातावरण मन्त्री शिन्जिरो कोइजुमीलगायतका अन्य मन्त्रीहरुलाई यथावत् राखिएको छ। 

मन्त्रिपरिषद्का २० सदस्यमध्ये १५ जना तत्कालीन प्रधानमन्त्री शिन्जो आबेकै मन्त्रिपरिषदका सदस्यहरू रहेका छन्। नयाँ मन्त्रिपरिषदमा न्यायमन्त्री योको कामिकावा र ओलम्पिक र प्यारा ओलम्पिक मन्त्री सेको हाशिमोतो दुई महिलामात्र छन्। 

जापानका स्वास्थ्यमन्त्री कात्सुनोबु कातोलाई मन्त्रिपरिषदको मुख्य सचिवको जिम्मेवारी दिइएको छ। जापानमा मुख्य सचिवले नीति समन्वयक र सरकारका शीर्ष प्रवक्ता दुवैको भूमिका खेल्दछन्।

यसैबीच, पूर्व प्रधानमन्त्री शिन्जो आबेका कान्छा भाइ एवं पूर्व उप विदेशमन्त्री नोबुओ किशीलाई नवगठित मन्त्रिपरिषदमा रक्षामन्त्रीको जिम्मेवारी दिइएको छ। 

पूर्व प्रधानमन्त्री आबेको मन्त्रिपरिषदका सबै सदस्यले बुधबार बिहान सामूहिक राजीनामा दिएका थिए। आबेले पछिल्लो महिना स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामाको घोषणा गरेका थिए।

प्रकाशित मिति: : 2020-09-16 22:07:02

प्रतिकृया दिनुहोस्