जाने होइन त, लोभलाग्दो तिनधारे छाँगो (बाहुबली) झरना

काभ्रेपलाञ्चोकको तिनधारे छाँगो पछिल्लो समय चर्चामा छ। लामो समयको लकडाउनपछि केही खुकुलो अवस्थामा  उक्त छाँगो/झरना अवलोकन गर्ने पुग्नेहरुको भीड बढेको छ।

लकडाउनको मध्य समयदेखि झरनाले सामाजिक सञ्जालमा‘बाहुबली झरना’को नामबाट चर्चा पाउन थालेको थियो । बलिउड चलचित्र ‘बाहुबली’मा देखाईएको झरनासँग तुलना गरिएसँगै देशका विभिन्न स्थानबाट मानिसहरु आउन थालेका हुन् ।

पछिल्लो समय झरनामा पुगेर फोटो,भिडियो लिनेदेखि टिकटक बनाउन चाहने युवायुवतिहरुबिच प्रतिस्पर्धा नै चल्न थालेको देखिन्छ । मनमोहक झरनाको तस्विर र भिडियो सामाजिक संजालमा भाईरल बन्दै गएको छ । कोरोना महामारीको समयमा पनि झरना अवलोकन गर्ने पुग्नेहरुको भीड बढेको छ भने यसबारे जानकारी लिने र भ्रमण गर्न चाहनेको संख्या समेत बढ्दै गएको छ ।

रोशि गाउँपालिका–२ मा रहेको यो झरना हालसम्म भने गुमनाम थियो। यसवर्ष भने यो झरना निकै भाइरल भइरहेको छ। दिनहुँ १५ सय हाराहारीले यो झरना अवलोकन गर्ने गरेका छन्। स्थानीय र अवलोकनकर्ताले प्रचारप्रसार गरेसँगै यो झरनाको महत्व बढेको हो।

स्थानीय मान वहादुर जर्घामगरका अनुसार यो झरनाको महत्व पछिल्लो समय बढिरहेको छ। उनले यो छागोमा पुगेर बाउबाजेको पालादेखि नै पूजाआजा गर्ने र आस्था राख्ने गरेका छन्। केही व्यक्तिहरुकै भनाई अनुसार यो झरना बगेको ठाउँमा रातिको समयमा मणी पनि देखिएको उनको भनाई छ। ‘यो छागोमा शक्ति छ, अहिले बल्ल नयाँ पिढीले बुझ्दै छन्, यो झरना मात्रै होइन धार्मिक तिर्थस्थल पनि हो,’ उनले भने।  

काफल डाँडास्थित मगर गाउँ नजिकै रहेको उक्त झरना अवलोकन गर्न पुग्नेहरुको संख्या बढेपछि स्थानीयले आगन्तुकहरुलाई सहज हुने गरी खाने बस्नेको व्यवस्था गर्ने योजना बनाएका छन्। ठाउँठाउँमा खानेबस्ने ठाउँहरुको निर्माण कार्य भइरहेको छ। कोरोना महामारीका कारण बेरोगजार भएका युवाहरुले पर्यटकलाई मध्यनजर गर्दै होटल तथा रेष्टुरेन्ट बनाउन सुरु गरेका छन्।

कसरी पुग्ने?

काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिकमा पर्ने यो ठूलो झरना हो। उपत्यका नजिकै अन्य झरनाहरू रहे पनि यतिको ठूलो झरना अरू छैनन्। यहाँ पुग्न त्यति धेरै समय र पैसाको खर्च गर्नु पर्दैन। काभ्रेपलाञ्चोककको धुलिखेल–नमोबुद्ध हुँदै यात्रा तय गर्न सकिन्छ।

धुलिखेलदेखि करिब ३ घण्टामा झरनास्थल पुगिन्छ। कच्ची सडकका ओहोरदोहोर गर्न केही कठिन भने हुन्छ। 

हेर्नुहोस् केही तस्बिरहरू

तस्बिरः रोशन सापकोटा/रासस

प्रकाशित मिति: : 2020-09-18 00:08:53

प्रतिकृया दिनुहोस्