स्याउले रंगीयो, बिकट गाउँको रंग

फार्ममै स्याउ कुहिन थालेपछि कृषक चिन्तामा, बेखवर स्थानीय सरकार 

यो वर्ष डोल्पाको रंगगाउँका स्याउ फार्ममा लटरम्म स्याउ फलेको छ। फार्ममा लटरम्म फलेका स्वादिष्ट स्याउले त्रिपुरासुन्दरी नगरपालिका–४ रंग गाउँ नै रंगिएको छ। डोल्पाको स्याउ राजधानीको रूपमा चिनिएको रंग गाउँमा पुग्ने पाहुनाले सत्कारस्वरूप टन्न स्याउ खान दिएर फर्कँदा स्याउ उपहारसहित पठाउने चलन छ। 

बिगतको तुलनामा यो वर्ष डोल्पामा धेरै स्याउ फलेको छ। डोल्पाको रंग गाउँका कृषकको फार्ममा फलेको स्याउ नेपालकै स्वादिष्ट र गुणस्तरीय मानिन्छ। 

डोल्पामा विशेषगरि ठूलीभेरी नगरपालिकाका जुफाल, डाँगीवाडा, लोचा, तिप्ला र त्रिपुरासुन्दरी नगरपालिकाको रंग, सुउँ र जीऊ गाउँमा स्याउको ब्यवसायिक खेती हुँदै आएको छ।

यत्तिखेर लटरम्म स्याउको हाँगो नै झुकाएर फलेका रोयल जातको स्याउ पाकेर रंगेली स्याउका कृषकलाई टिप्न भ्याईनभ्याई छ। गोल्डेन जातको स्याउ पाक्ने तयारीमा छ। रंग गाउँकी कमला बुढा बिगतको तुलनामा यसपटक धेरै स्याउ फलेको बताउँछिन्। तर बजार अभावमा फार्ममै कुहिन थालेकोमा उनी चिन्तित छन्। ‘स्याउ फल्दैन कि भनेका थियौं। तर गत वर्षभन्दा यो साल धेरै फल्यो। बिक्री नभएर स्याउ फार्ममै कुहिने र मलबाहेक अरू केहि नहुने भो,’ उनले भनिन्। 

गत वर्ष झण्डै एक लाख बराबरको आम्दानी गरेकी कमला बुढाको फार्ममा २ सय ३० भन्दा  बढी रूखमा फलेको रोयल जातको स्याउ टिप्न उनलाई हम्मेहम्मे छ। विगतमा भदौको पहिलो हप्तामै स्याउ टिप्न शुरू गर्ने डोल्पाली स्याउ किसान यो वर्ष भने भदौको अन्तिम साताबाट टिप्न शुरु गरेका छन्।

हिमाली जिल्ला डोल्पामा फलेको अर्गानिक स्याउ प्रतिकेजी १८ देखि ३० रूपैयाका दरले विक्री गर्दा पनि स्याउ बच्ने गरेको स्याउ कृषक तथा त्रिपुरासुन्दरी नगरपालिका ४ रंगका वडाअध्यक्ष समेत रहेका श्रीदल बुढाले बताए। वडाध्यक्ष बुढाको फार्ममा रूखको हाँगोले थेग्नै नसक्ने गरेर स्याउ फलेका छन्। ‘रूख नै भाँचिएर भुईमा छरपष्ट भएर झरे पनि स्याउ किन्न कोही ब्यापारी आउँदैनन्’, उनले भने। 

बुढाको फार्ममा लगाइएका २ सय ६० भन्दा बढी रूखमा स्याउ फलेको छ। रूकुम, जाजरकोट र सल्यानका ब्यापारी नआएपछि नटिपुञ्जेल फार्ममा र टिपीसकेपछि कोल्डस्टोरमै कुहिने गरेको छ। सडक पुगे पनि सिधा यातायातको पहुँच नपुगेको डोल्पामा फलेको अर्गानिक स्याउ यतिखेर ब्यापारी आगमनको पर्खाईमा छ।

रंग गाउँका २ सय २० घरधुरीले प्रति घरधुरी १ सय ५० बिरूवाका दरले यो वर्ष मात्र स्याउका बिरुवा लगाएका छन्।

कोरोना कारण स्याउ बिक्री घट्यो


विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस रंगेली स्याउ कृषकको लागि ग्राहक बाधक बन्यो। जसका कारण डोल्पामा स्याउ बिक्रि भएन।

प्रत्येक वर्ष यहीँ समयमा रूकुम–जारकोटका सयौँ ब्यापारी स्याउ किन्न रंग गाउँमा आउने गरे पनि कोरोनाका कारण यस बर्ष कोही नआएको कृषकहरूले बताए।

‘यतिखेर गाउँनै रूकुम जारकोटका मान्छेले भरिन्थ्यो, गाउँलेलाई स्याउ बेच्दै हैरान हुन्थ्यो, कोरोनाका कारण कोही पनि आएनन्,’ स्याउ कृषक धनमान बुढाले भने।

दुई जिल्लाका ब्यापारीले मात्रै रंगको दश प्रतिशतसम्म स्याउ किन्ने गरेको र त्यसबाट प्रत्येक घरले बीस हजारदेखि पचास हजारसम्म कमाउने गरेको उनले बताए। 

डोल्पा कर्णालीमै स्वादिष्ट एवम् अर्गानिक स्याउ उत्पादन हुने जिल्लाको रूपमा चिनिन्छ।

चिसो र फलफूल अनुकुल हावापानी भएकाले डोल्पामा स्याउ मात्रै नभई आरू, ओखरलगाएतका फलफूल पनि प्रशस्त उत्पादन हुन्छ।
ढुवानी अनुदान ब्यवस्था नगरिँदा रंगेली स्याउले बजार देखेन

सरकारले विगतमा कर्णाली विशेष कृषि विकास कार्यक्रम अन्तर्गत सडकको पहुँच नपुगेको डोल्पाको जुफाल, तिप्ला, लोचा र रंग सुँउ जीउमा कृषकले फलाएको अर्गानिक स्याउलाई नेपालगन्ज, सुर्खेत, भैरहवा र काठमाडौंलगायतका शहरमा पुर्‍याउन हवाई ढुवानी अनुदानसहित स्याउ प्याकेजिङको लागि कार्टुनको  ब्यवस्था गरिदै आएको थियो। 

तर स्थानीय तहले उक्त ब्यवस्था हटाएपछि  रंगेली र जुफाली स्याउले बजार नपाएको हो। त्रिपुरासुन्दरी नगरपालिकाले फलफूल खेतीबाटै नगरलाई आर्थिक सम्बृद्धि बनाउने महत्वकांक्षी योजना ल्याएर स्याउ, शिबक्थ्रोन र अंगुरको बिरूवा खरिद तथा ढुवानीमा गएको आर्थिक वर्षमा एक करोड त्रिचालिस लाखको हाराहारीमा रकम विनियोजन गरेको थियो।

नगरले फलफूल खेतीलाई प्राथमिकता राखेर बिरूवा खरिद गरि एक घर, एक स्याउ फार्मको योजना अगाडि बढाएको थियो। उत्पादित स्याउको बजारिकरणको लागि ढुवानी अनुदानमा नगरपालिका अनुदार भईदिँदा त्रिपुरासुन्दरी नगरपालिका भित्रका स्याउ कृषकको स्याउले बजार पाउन सकेको छैन।

सडकले डोल्पालाई छोएको भए पनि जाजरकोट रुकुम र डोल्पा अन्तर्गत पर्ने सडक खण्डमा पुल नबनेकाले स्थलमार्गबाट  उत्पादित स्याउ नेपालगन्ज लगायतका सहरमा पुर्‍याउन समस्या छ। हवाई सेवा भए पनि भरपर्दो छैन। नियमित उडान नहुँदा नेपालगन्ज, सुर्खेतलगायतका बजारमा कृषकले स्याउ निर्यात गर्न सकिरहेका छैनन्। 

डोल्पाका स्याउ कृषकलाई स्याउको ग्रेडिङ, प्याकेजिङ र भण्डारणको लागि तालिम दिन आवश्यक रहेको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रितिभक्त गिरीले  बताए।

सडकको पहुँच पुगे पनि सिधा सडक यातायातको पहुँच नपुगेसम्म कृषकले उत्पादन गरेको स्याउ खेर नजाओस् भनेर सोलार ड्रायलबाट स्याउको चाना बनाउन प्याकेजिङमा सोलार ड्रायल वितरण गरिएको प्रमुख गिरीले बताए।

कोल्डस्टोरमै कुहिन्छ ६० प्रतिशत स्याउ 


परापूर्वकालदेखि प्रयोगमा ल्याइँदै आएको माटोको चिस्यान भएको जमिन खनेर बनाइएको कोल्डस्टोरका कारण पनि स्याउ छिटो कुहिने गरेको छ। रंग गाउँमा मात्र ९० टन भन्दा बढी स्याउ उत्पादन भए पनि अत्याधुनिक कोल्डस्ट्रोरको ब्यवस्था नहुँदा स्याउ  चिस्यान रहने गरि बनाइएको माटोको कोल्ड स्टोरमा स्याउ कुहिएर मल बन्ने गरेको कृषक जयक्वारी बोहराले बताइन्।

डोल्पाका जुफाल, लोचा र तिप्ला गाउँमा पनि ३० देखि ४० टनको हाराहारीमा स्याउ फल्ने गरेको कृषि विकास कार्यालय डोल्पाका प्रमुख भिमबहादुर धरलाले बताए। उनका अनुसार डोल्पामा मात्र वर्षनी १ सय ३० टनको हाराहारीमा स्याउ उत्पादन हुन्छ।

यस वर्ष जिल्लाका सुँ, जिँउ, जुफाललगायतका गाउँमा  स्याउ कम फलेको हो । 

डोल्पामा मात्रै १४ सय ८८ हेक्टर जमिनमा स्याउ लगाइएकोमा ४ सय ८६ हेक्टरमा लगाइएको स्याउले उत्पादन दिने कार्यालयले जनाएको छ।

जिल्लाभरि ३ हजार २ सय ९६ मेट्रिक टन स्याउ उत्पादन हुनुपर्ने यस वर्ष घटेर ४ सय मेट्रिक टन स्याउमात्रै उत्पादन हुने अुनमान गरिएको कृषि विकास कार्यालयका डोल्पाका प्रमुख भिमबहादुर धरलाले बताए। 

फाटो क्याप्सन 
त्रिपुरासुन्दरी नगरपालिका ४ रंगगाउँमा फलेका स्याउ र टिप्दे किसान।
त्रिपुराकोट बगरबजारमा ग्राहकको प्रतिक्षामा रंगगाउँका स्याउ ब्यापारी ।

प्रकाशित मिति: : 2020-09-24 20:19:00

प्रतिकृया दिनुहोस्