उपराष्ट्रपति हुँदा पदीय दुरुपयोग गर्दै छोरालाई सुरक्षा दिएको आरोपमा घेरिए वाइडेन

संजोग आचार्य

न्युयाेर्क

अमेरिकाको राष्ट्रपतीय चुनावमा डेमोक्र्याटतर्फका उम्मेदवार जो वाइडेन र उनका छोरा रोबर्ट वाइडेनले आफूहरूविरूद्धको भ्रस्टाचार मुद्धामा राहत पाएका छन्। 

उनीहरूविरूद्ध रिपब्लिकन पार्टीका सिनेटरले भ्रस्टाचारको मुद्धा दायर गरेका थिए। युक्रेनको एउटा व्यापारीक कम्पनीलाई फाइदा पुर्‍याउन वाइडेन परिवारको ठूलो हात रहेको आरोपमा सिनेटमा उजुरी परेको थियो।  

चुनाव अगाडि भ्रस्टाचार जस्तो गम्भीर मुद्धामा सफाईं पाएपछि वाइडेनको आत्मविश्वास चुलिएको छ। बाराक ओबामाको कार्यकालमा जो वाइडेनका छोरा हन्टरले आफ्नो नामको भिसा आर्थिक लाभका लागि प्रयोग गरेको आरोप लागेको थियो। 

ओबामा राष्ट्रपति हुँदा वाइडेन उपराष्ट्रपति थिए। हन्टरले आफ्नो बाबुको पदको दुरुपयोग गर्दै बुरिस्मा होल्डिङ्स नामको युक्रेनी कम्पनीलाई फाइदा पुर्‍याएको आरोप थियो। 

‘होमल्याण्ड सेक्युरिटी र फाइनान्स’ सँग जोडिएको मुद्धाको छानवीन सिनेटको एउटा कमिटीले गरिरहेको थियो। छानवीन कमिटीले बुधबार ८७ पेजको रिपोर्ट सार्वजनिक गर्दै वाइडेनले पदको दुरुपयोग गर्दै गलत काम गरेको प्रमाण नभेटिएको बताएको छ। यो मुद्धामा सम्बन्धित निकाय र व्यक्तिसँग पनि सोधपुछ भएको थियो। जसमा सबैले वाइडेनको संलग्नता अस्विकार गरेका थिए। 

वाइडेनविरूद्धको मुद्धामा गठन भएको छानवीन समितिका अध्यक्ष रोन जोनसनले पनि रिपोर्टमा वाइडेनको संलग्नता नदेखिएको स्पष्ट पारेका छन्। तर, उनले पदीय दुरुपयोग गर्दै वाइडेनले आफ्नो छोरालाई सुरक्षा प्रदान गरेको बताएका छन्। 

रिपोर्टमा भनिएको छ, ‘सिनियर वाइडेनले उपराष्ट्रपति पदको गरिमालाई कायम राख्न सकेनन्।’ 

जोनसनको रिपोर्टमा उल्लेख छ, जति बेला हन्टर वाइडेन युक्रेनको एउटा कम्पनीको बोर्डमा नियुक्त थिए, अमेरिकी सिक्रेट सर्भिस (एफबीआई) ले उनलाई सुरक्षा प्रदान गरेको थियो। यो स्टेट एजेन्सीको दुरुपयोग हो। ओबामा प्रशासनलाई थाहा थियो, उनी विदेशी कम्पनीको बोर्डमा सदस्य छन्। विदेशी कम्पनीमा काम गर्ने व्यक्तिलाई राज्यको यति ठूलो एजेन्सीबाट सुरक्षा प्रदान गर्नु पदको दुरुपयोग हो।’ 

रिपोर्टमा थप भनिएको छ, ‘ओबामा प्रशासनलाई उपराष्ट्रपतिका छोरा युक्रेनी कम्पनीको एउटा बोर्डमा नियुक्त छन् भन्ने जानकारी थियो। त्यसैले सरकारले युक्रेनविरूद्ध ठोस नीति लागु गर्न सकेन।’

भ्रस्टाचार मुद्धाबाट सफाईं पाएपछि वाइडेनको चुनावी प्रचारका प्रवक्ता टिम मुर्टागले भनेका छन्, ‘ट्रम्पले चुनावी सभामा भ्रस्टाचारको ठूलो आरोप लगाएका थिए। भ्रस्टाचार सात अंकमा रहेको दावी गरेका थिए। चीन र रुसको पनि नाम लिएका थिए। राष्ट्र सुरक्षा खतरामा परेको दावी गरेका थिए। तर, रिपोर्टमा त यस्तो केही देखिएन?’

रिपोर्ट बाहिरिएपछि वाइडेनले लामो समयदेखि रिपब्लिकनहरूले लगाउँदै आएको भ्रस्टाचारको आरोपबाट मुक्ति पाएका छन्। तर, उनीविरूद्ध पदीय हैसियतको दुरुपयोग गरेको नयाँ मुद्धा विपक्षी पार्टीलाई प्राप्त भएको छ। उनीहरूले चुनावमा यही नारालाई बुलन्द गर्ने पक्का छ। 

यसको बचाउँमा डेमोक्र्याटहरू भन्छन्, ‘वाइडेन र उनका छोराले अमेरिकाको विदेश नीतिलाई प्रभावित पार्ने कुनै काम गरेनन्। कमिटीका संयोजक जोनसनले आफ्नो अधिकारको दुरुपयोग गरे। यो मुद्धा झिकेर उनी ट्रम्पलाई फाइदा पुर्याउन चाहन्थे।’

रिपोर्टमा यो पनि उल्लेख छ, ‘युक्रेनी कम्पनी बुरिस्माको बोर्डमा हन्टरको नियुक्ति भएपछि अमेरिकी कुटनीतिज्ञहरूलाई युक्रेनको मुद्धामा काम गर्न अफ्ठेरो परेको थियो।’ सन् २०१५ र २०१६ मा स्टेट डिपार्टमेन्टका अधिकारीले युक्रेनको विषयमा तयार पारेको नीतिमा यसको उल्लेख गरेका छन्। वाइडेनविरूद्ध आरोप छ, ‘जुनियर वाइडेनको युक्रेनी कम्पनीसँगको सम्बन्धका कारण युक्रेनविरूद्ध एन्टी करप्सन मुद्धालाई कडाईंका साथ लागु गर्न सफल भइएन।’

सिनेटबाट भ्रस्टाचारको मुद्धा प्रमाणीत हुन नसकेका कारण अब यसलाई यही बन्द गर्नुपर्ने डेमोक्र्याटहरूको आवाज छ। डेमोक्र्याटहरूले वाइडेनलाई फसाउन रुस लागेको आरोप पनि लगाएका छन्। तर, सिनेट कमिटीका अध्यक्षले स्पष्ट पारिसकेका छन्, रिपोर्टको निश्पक्षतामा कसैले औला उठाउने ठाउँ छैन। 

उपराष्ट्रपति हुँदा पदीय दुरुपयोग गर्दै छोरालाई सुरक्षा दिएको आरोपमा घेरिए वाइडेनhttps://t.co/qRYeWPpqGn pic.twitter.com/CXY2rw8NgR

— BL-News | Nepali (@breaknlinksnp) September 25, 2020
प्रकाशित मिति: : 2020-09-25 20:01:00

प्रतिकृया दिनुहोस्