१२ वर्षमा वैदेशिक रोजगारीमा गएका ८,१३४ जना काठको बाकसमा फर्किए, २६ प्रतिशतको मृत्युको कारण- हृदयघात

देखापढी

काठमाडौं

 

सुरेन्द्र पौडेल

 पछिल्लो १२ वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये आठ हजार १३४ जनाको मृत्यु भएको छ।

रोजगारकै क्रममा हृदयघात, सडक दुर्घटना, आत्महत्या, कार्यस्थल दुर्घटना, प्राकृतिक लगायतका कारण उनीहरूको मृत्यु भएको हो। 

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७६/७७ को अवधिमा रोजगारी खोज्दै वैधानिक तरिकाले ४२ लाख ८४ हजार २०१ जना नेपाली विदेशिएका थिए।

 

यीमध्ये ८ हजार १३४ जनाको मृत्यु विदेशमा भएको हो। यो तथ्याङ्कले वैदेशिक रोजगारीमा जानेमध्ये ०.१८ प्रतिशतको मृत्यु उतै हुने गरेको देखाउँछ। 

वैदेशिक रोजगार वोर्डको तथ्याङ्कअनुसार १२ वर्षको अवधिमा सबैभन्दा बढीको मृत्यु आर्थिक वर्ष २०७१/७२ मा भएको छ। उक्त वर्ष वैदशिक रोजगारीमा गएकाहरूमध्ये एक हजार ६ जनाको मृत्यु भएको थियो। 

“पहिला वैदेशिक रोजगारीमा जानेहरू बिना तालिम जाने गर्थे। सम्बन्धित देशको नीति, नियम, हावापानी, वातावरण, रहनसहनबारे उनीहरूलाई थाहा हुँदैनथ्यो र विभिन्न कारणले नेपाली कामदारको विदेशमा मृत्यु हुन्थ्यो,” वैदेशिक रोजगार बाेर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले देखापढीसँग भने। 

बितेका आठ वर्षमा विदेशी भूमिमा सबैभन्दा कम नेपाली कामदारको मृत्यु गत आर्थिक वर्ष २०७६/७७ मा भएको देखिन्छ। बाेर्डको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष वैदैशिक रोजगारमा गएकामध्ये ६६७ जनाले ज्यान गुमाएका थिए। 

“पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरू विभिन्न तालिमका कारण सचेत भएका छन्। तालिम नलिई उनीहरू जान पाउँदैनन्। स्थानीय तहहरूले पनि सतर्क गराउने गरेका छन्, जसका कारण विदेशमा हुने नेपाली कामदारको मृत्युको संख्या गत आर्थिक वर्ष घटेको हो,” वैदेशिक रोजगार वोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले देखापढीसँग भने। 

प्रकाशित मिति: : 2020-09-28 15:53:01

प्रतिकृया दिनुहोस्