इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडिओ मानेमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
तीन दिनअघि क्लबका मिडफिल्डर थियागो अल्कान्टारालाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे।
२९ वर्षीय मिडफिल्डर यहि सिजन जर्मन क्लब वायर्न म्युनिखबाट लिभरपुलमा आबद्ध भएका थिए। उनले चेल्सीविरुद्ध २-० ले जित हात पारेको खेलमा लिभरपुलका लागि डेब्यू गरेका थिए।
कोरोना भाइरसको टेस्ट गर्दा पोजेटिभ नतिजा आएपछि उनी अहिले सेल्फ आइसोलेसनमा बसेका छन्।
लगत्तै गरिएको परीक्षणमा मानेमा पनि संक्रमण देखिएको हो। उनमा संक्रमणको न्यून लक्षण देखिएको र स्वास्थ्य अवस्था राम्रो रहेको लिभरपुलले जनाएको छ।
२८ वर्षका मानेले गएको सोमबार प्रिमियर लिगमा आर्सनललाई ३–१ ले पराजित गर्ने क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
तर बिहीबार भएको लिग कपको खेलमा भने माने टिममा थिएनन्। लिग कपमा लिभरपुल आर्सनलसँग पराजित भएको थियो। मानेले यो सिजन क्लबका लागि तीन गोल गरिसकेका छन्।
यसअघि सोमबार प्रिमियर लिगका १० जनालाई कोरोना भाइरसको संक्रमण भएको सार्वजनिक गरिएको थियो।