सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा अब नियमित विमान उड्ने भएको छ।
शनिवार धनगढी विमान स्थलमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले तत्काल पहाडका ३ जिल्लामा विमान पुग्ने र बाँकी जिल्लामा पनि विमान पुर्याउने योजना रहेको बताए।
‘पहिलो चरणमा बैतडी, डोटी र बझाङमा सातामा २ दिन विमान जानेछ,’ उनले भने, ‘र त्यसलगत्तै दार्चुला र अछाममा पनि सुरु गर्ने योजना छ।’
उनले परीक्षण मात्रै नभई नियमित उडानसमेत हुने दाबी गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशमा पहाडी जिल्लामा विमान सुरु भए सहज हुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘परीक्षण उडान सफल भएपछि निजी विमान कम्पनीलाई पनि धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा उडान सुरु गर्न आह्वान गरिने छ।’
शनिवार मन्त्री भट्टराई सहित १६ जना यात्रु लिएर धनगढीबाट जहाज डोटी पुगेको छ । टोलीमा मन्त्री भट्टराईसहित संघीय सांसदहरू र प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीसमेत रहेका छन् ।