रोड्रिग्वेजको दुई गोल, एभर्टनको अपराजित यात्रा कायमै

एभर्टनले इंग्लिस प्रिमियर लिगमा लगातार चौथो जित दर्ता गरेको छ।

एभर्टनले घरेलु मैदानमा ब्राइटनमाथि ४–२ को जित हात पारेको हो। एभर्टनको जितमा हामेस रोड्रिग्जले दुई गोल गरे।

यस्तै डोमिनिक काल्भर्ट लेविन र यारी मिनाले एक/एक गोल गरे। ब्राइटनका निल मोउपे र यभेस बिसोउमाले गोल गरेपनि हार टार्न सकेन।

१६ औँ मिनेटमा लेविनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए। ४१ औँ मिनेटमा माउपेले गोल गर्दै ब्राइटनलाई १-१ गोलको बराबरीमा फर्काए।

४५ औँ मिनेटमा मिनाले गोल गर्दा पहिलो हाफमा एभर्टन २-१ ले अघि रह्यो।

५२ औँ मिनेटमा रोड्रिगेजले गोल गर्दै एभर्टनको अग्रता ३-१ को बनाए। ७० औँ मिनेटमा रोड्रिगेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को अग्रता दिलाए।

त्यसपछि खेलको इन्जुरी समयमा ब्राइटनका बिसोउमाले थप एक गोल फर्काएपनि एभर्टन ४-२ ले विजयी भयो।

लगतार चौथो जितसँगै एभर्टन १२ अंक जोडेर लिगको शीर्षस्थानमा कायमै रहेको छ।

एक खेल कम खेलेको लेस्टर सिटी र लिभरपुलको समान ९ अंक छ। पराजित ब्राइटन ३ अंकसहित १४औं स्थानमा छ।

प्रकाशित मिति: : 2020-10-04 06:10:03

प्रतिकृया दिनुहोस्